भर्खरै :

ख्वप कलेज वातावरण विभागको वेभिनार

भक्तपुर, १० असोज । ख्वप कलेज, वातावरण विज्ञान विभागले साप्ताहिक वेभिनार सुरु गरेको छ ।
कोभिड–१९ को कारण घर बसेका कलेजका शिक्षक तथा विद्यार्थीका अध्ययन तथा अनुसन्धानको निष्कर्ष प्रस्तुतिको साप्ताहिक शृङ्खला थालेको वातावरण विभागको इन्चार्ज मीरा प्रजापतिले बताउनुभयो ।
शनिबार आयोजित कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले नेपालमा जैविक मलको सम्भाव्यताबारे बोल्दै जैविक मल उत्पादनको निम्ति राज्यकै लगानी हुनुपर्ने धारणा राख्नुभयो । नेपालमा रासायनिक मलको निम्ति राज्यको अर्बौँ रुपियाँ खर्च हुने तर मल नपाएर किसान पुर्पुरोमा हात राखेर बस्नुपर्ने स्थिति रहेको तथ्य राख्दै उहाँले जैविक मल बनाउने नेपालको पुरानो ज्ञान तथा प्रविधिमा सुधार गरी किसानलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
क्युवाले गड्यौला मललगायत जैविक मलको प्रयोग गरी रासायनिक मल विस्थापित गरेको उल्लेख गर्दै उहाँले मानिसको स्वास्थ्य र वातावरणको मूल्यको हिसाबमा पनि जैविक मल अत्यन्त कम मूल्य पर्ने विचार राख्नुभयो । उहाँले नेपालमा केही निजी कम्पनीले जैविक मल बनाउने काम गरेको तर आवश्यक सहयोग नपाएको भन्दै रासायनिक मल तत्कालै विस्थापित गर्न नसके पनि जैविक मलको प्रयोग क्रमशः बढाउँदै जानुपर्ने धारणा राख्नुभयो ।
स्नातकोत्तर तहमा आफूले गरेको थेसिसको सार प्रस्तुत गर्दै ख्वप कलेजका विद्यार्थी अन्जना सुवालले बालबालिकाको खेलौनालगायतका उत्पादनमा अत्यन्तै हानिकारक तत्व फेला परेको बताउनुभयो । उहाँले नेपाली बजारमा पाइने बालबालिकाको खेलौनामा लीड, क्याडमियम, क्रोमियम, जिन्क, ब्यारियम र ब्रोमियमको मात्रा सरकारले तोकेभन्दा बढी पाएको बताउनुभयो ।
स्नातकोत्तर तहको आफ्नो थेसिस निष्कर्ष राख्दै ख्वप कलेजका विद्यार्थी सृजना हाकुदुवालले जलवायु परिवर्तनले धान र गहुँको कार्वनडाइअक्साइड उत्सर्जनमा वृद्धि भएको नतिजा आएको बताउनुभयो । उहाँले धानबालीले भन्दा गहुँबालीले बढी कार्वनडाइक्साइड ग्यास उत्सर्जन गरेको सार बताउनुभयो । कार्यक्रममा प्रस्तोता र सहभागीबीच प्रश्नोत्तर पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *