भर्खरै :

सुडाल जाने सडकको दायाँबायाँ वृक्षरोपण

भक्तपुर, १० असोज । भक्तपुरको सुडाल जाने मुख्य सडकको दायाँबायाँ वृक्षरोपण गरिएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ८ र ९ मा रहेको गोँस पुलदेखि कलमसी सडक खण्डको दायाँबायाँ वृक्षरोपण गरिएको हो । सो भेगमा रहेका इँटा व्यवसायीहरूको समिति सुडाल भेगीय इँटा उद्योग समिति र भक्तपुरस्थित लायन्स क्लवले संयुक्तरूपमा शनिबार वृक्षरोपण गरेका थिए ।
आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्न तथा सडकलाई हरियाली बनाउँदै वातावरण संरक्षणमा सहयोग पु¥याउन वृक्षरोपण गरिएको व्यवसायीहरूले बताए ।
वृक्षरोपण कार्यक्रममा लायन्स क्लवका डिस्ट्रिक्ट गभर्नर डा. सुशिला मल्लले वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने भएकोले एक भएर वातावरण संरक्षणमा सहभागी हुनुपर्ने बताउनुभयो ।
उहाँले कोरोना कहरले समाजका हरेक क्षेत्रमा असर गरिरहेकोले स्वस्थ हुन र स्वास्थ्य जोखिम घटाउनका लागि व्यक्ति र सङ्घसंस्थाले आफ्नो सामािजक उत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चाँगुनारायण नपा ९ का वडाध्यक्ष गणेश त्यातले रुख देख्नेबित्तिकै ‘काट र काटौँ’ को भावना विकास भइरहेको सन्दर्भमा संरक्षणसहितको वृक्षरोपणले सडक हरियाली प्रवद्र्धन गर्न सहयोग पुग्ने चर्चा गर्दै कोरोना महामारीको समयमा पनि सरकारले जनताको हितका लागि काम गर्नुपर्नेमा पार्टीगत हितमा मात्र लाग्नु विडम्बनाको विषय रहेको बताउनुभयो ।
उहाँले व्यवसायीहरूले आफ्नो व्यवसायअनुसार नगरपालिकालाई कर तिरिरहे पनि कर तिरेअनुसारको व्यवहार हुन नसक्दा व्यवसायीहरू निराश हुन बाध्य रहेको बताउनुभयो । चाँगुनारायण नपा ८ का वडाध्यक्ष परासर सापकोटाले व्यवसायीहरूले व्यवसायका साथसाथै वातावरण सुधारको पक्षमा गरेको कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
व्यवसायीहरूले सडकको गोँसपुलदेखि सानी साँघुसम्म करिब २ किमि सडकको दायाँबायाँ वृक्षरोपण गरेका थिए । उनीहरूले आँप, अम्बा, कल्की, लप्सी, मसला, ज्याकारान्डा, लालुपाते, कपुर र स्वामी जातका गरी ४ सय बिरुवा रोपेको व्यवसायी विष्णुसुन्दर प्रजापतिले बताउनुभयो ।
कार्यक्रममा सुडाल भेगीय इँटा उद्योग समितिका संयोजक केपी कोजू, लायन्सका पूर्वडिस्ट्रिक्ट गभर्नर एवम् व्यवसायी केपी अवाललगायतले वातावरण संरक्षणबारे धारणा राख्नुभयो । भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली सेनाका पूर्वजर्नेल भरत खड्काले गोँसपुल निर्माणबारे जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *