भर्खरै :

‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ फोटो पुस्तक सार्वजनिक

भक्तपुर, ११ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा २०७२ सालको भूकम्पबाट भत्केका र क्षति भएका सम्पदाहरूको सङ्क्षिप्त विवरणसहित भक्तपुर नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन सम्पदाहरूको विवरण समेटिएको ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तकको विमोचन अनलाइन (जुम) मार्फत आइतबार सम्पन्न भयो ।
४१ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा आयोजित कार्यक्रममा सांसद सुवालले कोभिड १९ सङ्क्रमणको खतरा बढेसँगै बाह्य पर्यटनमा नकारात्मक प्रभाव परेको हुँदा आन्तरिक पर्यटनलाई नै जोड दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “चिनियाँ जनताको आर्थिक स्तर र क्रयशक्ति बलियो भएकै कारण चीनको आन्तरिक पर्यटन नै प्रमुख आयस्रोतको रूपमा रहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको लागि देशको सन्तुलित विकास हुनु आवश्यक छ ।”
सांसद सुवालले जनताको क्रयशक्ति नबढेसम्म सरकारले कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिएर आन्तरिक पर्यटनको विकास सम्भव नहुने धारणा राख्नुभयो ।
नेपालको प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदालाई आन्तरिक पर्यटक प्रवद्र्धनको लागि उपयोग गर्न सकिने धारणा व्यक्त गर्दै उहाँले छिमेकी देश भारतसँगको खुला सीमा बन्द गरी आन्तरिक पयर्टनमै जोड दिनुको विकल्प नरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नपाको आयोजनामा हुन लागेको भक्तपुर महोत्सव कोभिड–१९ का कारण अन्तिम चरणमा स्थगित गर्नुपरेको बताउनुभयो ।
कर्मचारी र जनप्रतिनिधिले जस्तोसुकै प्रतिकूलतालाई अनुकूलतामा ढालेर निरन्तर जनताको सेवामा समर्पित हुनुपर्ने विचार राख्दै उहाँले महामारीबीच पर्यटन विकासको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरको सङ्क्षिप्त परिचयसहित नपाले गरेको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न सम्पदाको विवरणसहितको पुस्तक प्रकाशनमा ल्याएको उल्लेख गर्दै उहाँले बन्दाबन्दीको समयमा पनि नपाले सम्पदा जीर्णोद्धारलाई प्राथमिकतामा राखी अगाडि बढाइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पर्यटन व्यवसायबाट उठेको सेवा शुल्कबाट भक्तपुर नपाले यहाँको शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतका क्षेत्र उकास्न लगानी गर्दै आइरहेको चर्चा गर्दै पर्यटन प्रवद्र्धनको लागि भौतिक एवम् सांस्कृतिक सम्पदाहरूलाई जीवित बनाइराख्नुपर्ने विचार राख्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्वले कोभिड–१९ का कारण विश्वकै पर्यटनको विकास र गतिविधिमा नकारात्मक अवरोध भइरहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई दिगोरूपमा अगाडि बढाउन आगामी दिनमा वैकल्पिक उपायहरू अवलम्बन गर्नु आवश्यक रहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले कोभिड सङ्क्रमणको जोखिमका कारण सबैले अनलाइन कार्यक्रममार्फत विश्व पर्यटन दिवस मनाइरहेको उल्लेख गर्दै भक्तपुरको ऐतिहासिक सम्पदा समेटिएको पुस्तक प्रकाशन सराहनीय कार्य भएको बताउनुभयो ।
पर्यटक सेवा केन्द्र तथा सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले ‘कोभिड–१९ र पर्यटनमा असर’ विषयक आफ्नो प्रस्तुतीकरण देखाउनुभएको थियो । नेपालको पर्यटनमा कोभिड १९ को असर र असर न्यूनीकरणका उपायहरूबारे उहाँले प्रस्ट पार्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका उपप्राध्यापक सुनिल सुवाल, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले, भक्तपुर नगरपालिकाका कर्मचारीहरू ओमप्रसाद धौभडेल र रीना प्रजापतिले पनि बोल्नुभएको थियो ।
पर्यटन दिवसकै अवसरमा भक्तपुरको दरबार क्षेत्रमा आइतबार बिहान भक्तपुरको दरबार क्षेत्रमा सरसफाइ कार्यक्रमको आयोजना भयो । कार्यक्रममा वडाध्यक्ष रवीन्द्र ज्याख्व र सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले पर्यटन दिवसको सान्दर्भिकताबारे आ–आफ्नो विचार व्यक्त गर्नुभयो भने भक्तपुर नगरका मुख्य सडक, चोक र तरकारी बजारमा क्लोरिन छर्किने कार्य भयो ।
आइतबार सार्वजनिक गरिएको फोटो पुस्तकमा भक्तपुर नपाले हालसम्म १०३ वटा सम्पदा सम्पन्न गरेको, त्यसको लागि रू. २४ करोड २३ लाख ९ हजार खर्च भएको तथा ३४ वटा निर्माणाधीन सम्पदाको लागि ७ करोड ५४ लाख ९९ हजार खर्च भएको विवरण उल्लेख छ । सम्भव भए जति सम्पदाहरूको पुरानो फोटो, निर्माणाधीन र सम्पन्न भएपछिको फोटो पनि पुस्तकमा राखिएको छ । प्रत्येक सम्पदाको सङ्क्षिप्त विवरणसहित खर्च विवरण पनि पुस्तकमा उल्लेख गरिएको छ । पुस्तक सम्पदा र संस्कृति अध्ययन गर्नेहरूको लागि उपयोगी हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *