भर्खरै :

नेमकिपाको ‘कार्यक्रम’ बारे अन्तरक्रिया

काभ्रे, ११ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट पारित पार्टीको कार्यक्रमबारे अन्तरक्रिया कार्यक्रम जुममार्फत शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टीको तत्कालीन कार्यक्रम जनताको प्रजातन्त्र भएको उल्लेख गर्दै जनताको प्रजातन्त्रमा मजदुर–किसानको नेतृत्वमा बुद्धिजीवी, देशभक्त, उद्योगी, व्यापारीहरूको सरकार हुने धारणा राख्नुभयो । दलाल पुँजीपति वर्ग, किसान विरोधीहरू जनताको प्रजातान्त्रिक सरकारमा नहुने उहाँको भनाइ थियो ।
सचिव सुवालले नेमकिपाको दीर्घकालीन लक्ष्य समाजवाद हुँदै साम्यवाद पुग्नु हो भन्नुभयो ।
पार्टीको तत्कालीन कार्यक्रमको लक्ष्य हासिल गर्न विधानअनुरुप कार्यकर्ताहरू जनताबीच जानुपर्ने उल्लेख गर्र्दै उहाँले पार्टीको विधान र कार्यक्रम भनेको एउटा शरीरको दुई खुट्टाजस्तै भएको धारणा व्यक्त गर्नुभयो ।
सचिव सुवालले अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलको राजधानी जेरुसलेम भनी घोषणा गरे, केही देशले अमेरिकाको समर्थन गरे तर प्यालेस्टाइनलगायत विभिन्न देशले विरोध गरेको उल्लेख गर्दै यो विषयमा संयुक्त राष्ट्र सङ्घमा मतदान हुँदा इजरायलको राजधानी जेरुसलेम हुन्न भनी बहुमतले अस्वीकार गरेको तर्क गर्नुभयो । ट्रम्पले अमेरिकाबाट अर्बौँ डलर सहयोग लिने तर भोट अमेरिकाको विरोधमा दिने भनी विभिन्न देशमाथि धम्कीपूर्ण भनाइ राखे ।
एमसीसीको सहयोगको नाममा नेपालले अमेरिकी पैसा लियो भने नेपाललाई पनि अमेरिकाले भनेजस्तै गर्न बाध्य पार्ने भएकोले नेमकिपाले एमसीसीको विरोध गरेको उहाँले प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले पुँजीवादी व्यवस्था जनहितको लागि नहुने भएकोले पतन हुँदै गएको, नेपालको वर्तमान व्यवस्था पुँजीवादी नै भएकोले शासकहरूको भागबन्डा, नातावाद, भ्रष्टाचार, हत्या, हिंसा बढ्दै गएको हुँदा यसको पतन अवश्यम्भावी भएको बताउनुभयो ।
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा डा. हरिप्रसाद मानन्धर, पुण्यशोभा श्रेष्ठ, त्रिरत्न साय्मी, तारा न्यौपाने, लक्ष्मीराम न्हुछेप्रधान, ज्ञानेन्द्र डंगोल, पूणसिं वाइवा र भोला खरेलले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *