भर्खरै :

ट्रम्पले एमी कोने ब्यारेटलाई सर्वोच्चको न्यायाधीशमा गरे मनोनयन

वासिङ्टन, ११ असोज (एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेका हुन् । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित हुन मद्दत गर्ने अपेक्षा ट्रम्पको छ ।
स्वर्गीय न्यायाधीश एन्टोनीन स्कालियाकी पूर्वसहयोगीका रूपमा कार्य गरेकी ब्यारेटले आफू सर्वोच्च अदालतको न्यायाधीशको रूपमा मनोनयनमा परेकामा अति खुसी भएको बताउँदै आफू स्कालियाको न्यायिक दर्शनबाट प्रभावित रहेको बताइन् ।
अठचालीस वर्षीया ब्यारेट ह्वाइट हाउसको रोज गार्डेनमा आफ्ना पति र सात बालबच्चासहित उपस्थित थिए । अमेरिकी माथिल्लो सदन सिनेटले उक्त नियुक्तिलाई सदर गरेमा हालै निधन भएकी सुधारवादी न्यायाधीश रुथ बाडर गिन्सबर्गको स्थानमा नियुक्त हुनेछन् ।
रिपब्लिकन राष्ट्रपतिहरूले नियुक्त गरेकी उनी छैटौँ न्यायाधीश हुनेछन् । अमेरिकी सर्वोच्च अदालतमा नौ जना न्यायाधीश हुने व्यवस्था छ ।
रिपब्लिकन पार्टीका सिनेटरले आगामी नोभेम्बर ३ अघि नै सुनुवाइ प्रक्रिया पूरा गर्न आतुर रहेको बताइरहेका छन् । ब्यारेटको मनोनयन पूरा हुनसके सर्वोच्च अदालतको बहुमत दक्षिणपन्थी धारमा जाने भन्दै चौतर्फी विरोध र आशङ्का व्यक्त गरिएको छ ।
राष्ट्रपति ट्रम्प ब्यारेटको मनोनयनलाई सिनेटले अनुमोदन गरे आफूलाई राष्ट्रपति निर्वाचित गर्न ठूलो मद्दत पुग्ने विश्वासमा छन् ।
सन् २०१६ मा रिपब्लिकन पार्टीको बहुमत रहेको सिनेटले तत्कालीन राष्ट्रपति बाराक ओबामाले प्रस्ताव गरेका न्यायाधीश मरिक गार्लान्डलाई चुनावी वर्ष भन्दै अनुमोदन गर्न अस्वीकार गरेको थियो तर यसपटक रिपब्लिकनको त्यही अडान फेरिएको छ अर्थात् ४२ दिनभन्दा छोटो अवधिमा न्यायाधीश नियुक्तिलाई सदर गर्न सिनेटमा तयारी हुँदै छ ।
सिनेटमा बहुमत पार्टीका नेता मिच म्याककोनेलले सिनेटले आगामी सातामा ब्यारेटको नियुक्तिलाई सदर गर्ने दृढता व्यक्त गरेका छन् ।
डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ट्रम्प र रिपब्लिकन पार्टीले बेइमानी गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *