भर्खरै :

सक्वको म राजदास – ५१

 

कसरी भयो मेरो बिहे सोभियत सङ्घमा
मैले दायाँ–बायाँ अगाडि पछाडि केही नहेरी, केही नसोची भालेन्टिनासँग बिहे गरेर जीवन बिताउने सोचेँ । तर, समस्या र चुनौती धेरै थिए । थाहा हुँदाहुँदै एकआपसमा आबद्ध भयौँ ।
एक दिन हाम्रो निमन्त्रणामा म बस्ने उक्राइनाको खार्कोभ सहरमा ‘सोभियत नेपाल मैत्री समाज’ को उत्सव मनाउन मस्को सहरबाट एउटा नेपाली सांस्कृतिक टोली बाजागाजाका साथ आइपुग्यो । त्यसबेला खार्काेभ सहरमा म नेपाली विद्यार्थी सङ्घको अध्यक्ष थिएँ । मैले स्थानीय नगर व्यवस्थापिकासँग समन्वय गरेर नेपाली सांस्कृतिक टोली खार्काेभ बोलाएको थिएँ । दुई दिन भव्य कार्यक्रम भयो । नेपाली कला संस्कृतिको प्रदर्शनीका साथै शुभकामना आदानप्रदान र नेपाल सोभियत मित्रतालाई अझै प्रगाढ बनाउँदै लाने कुरो भयो । उक्त टोलीमा आउने सबै नेपाली साथीहरूले मलाई बधाई दिए । मैले भालेन्टिनासँग बिहे गर्दै छु भन्ने कुरामा सबैले बधाई तथा शुभकामना पनि दिए । तर, त्यही खोर्कोभ सहरमा आफ्नो अध्ययन पूरा गर्न अभ्यास गर्न आउनुभएका एकजना दाजु शिव साख्वाले रुसी केटीसँग बिहे गर्ने नगर्न मलाई धेरै सम्झाउनु भयो बुझाउनु भयो । म सोभियत सङ्घमै बस्ने भएमात्र बिहे गर्नु, बिहे गरेर नेपाल जाने भए नगर्नु भनेर आफ्नो भाइलाई जस्तै उहाँले मलाई सुझाव दिनु भयो । मैले उहाँको सबै कुरा सुनेँ । तर, त्यस समय भित्र मैले निधो गरिसकेको थिएँ । त्यसकारण मैले उहाँको कुरा सुनेको जस्तो मात्र गरँे, मनभित्रको वास्तविक कुरा भन्ने साहस मैले गर्न सकिनँ । भालेन्टिना र मेरो विचार बिहे गरेर नेपाल जाने नै थियो । यो कुरा हामीबीच पक्कापक्की भइसकेको थियो । पछि नेपाल फर्किँदा शिव दाइसँग बेलामौकामा भेट भई नै रह्यो । उहाँ नेपाल औद्योगिक विकास कर्पाेरेसनमा धेरै वर्ष कार्यरत हुनुहुन्थ्यो । नेपाल फर्केर भालेन्टिना र म दुवै जना त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा ‘व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्रमा काम गरिरहेको देख्दा हामीदेखि धेरै खुसी हुनुभयो । भालेन्टिना र म दुवै त्रि.वि. कीर्तिपुरमा काम गरिरहँदा राजा वीरेन्द्रको महारानी ऐश्वर्यका साथ ‘सवारी’ भयो । सवारीमा तत्कालीन प्रधानमन्त्री कीर्तिविधि विष्ट, शिक्षामन्त्री पशुपति शम्शेर राजा, दरबारका सचिव नारायणप्रसादलगायत उच्च सरकारी पदाधिकारीहरू पनि हुनुहुन्थ्यो ।
भालेन्टिना र म त्यसबेला नेपालमा पाइने विभिन्न कच्चा पदार्थहरू उपयोग गरेर चुन, इँटा, सिमेन्ट र सिसा (ग्लास) जस्ता निर्माण सामग्रीहरूको उत्पादन गर्नसकिन्छ कि भन्ने विषयमा अनुसन्धान गर्दै थियौँ । धादिङ्ग जिल्लाको जोगीमाराको चुन ढुङ्गा र वीरगञ्ज चिनी कारखानाबाट निस्कने फाल्तु पदार्थ ‘लाइम स्लज’ (चिनी प्रशोधन गरेपछि निस्कने) र धानको भुसको खरानीको समिश्रणबाट एक प्रकारको सिमेन्ट पदार्थ उत्पादन गरेको थिएँ । भालेन्टिनाले हेटौंडाको कर्रा खोलाको बालुवाबाट सिसा (ग्लास) निकालिसकेकी थिइन् प्रयोगशाला स्तरमा ।
हाम्रो काम र प्रगतिमा राजा–रानीले धेरै दिलचस्पी देखाउनु भयो । राजा वीरेन्द्र मेरो कामको बारेमा जिज्ञासापूर्वक मसँग प्रश्नहरू राख्दै हाँस्दै कुरा गर्नुभयो भने रानी ऐश्वर्यले भालेन्टिनाको काम र उहाँको देश सोभियत सङ्घमा शिक्षा तथा वैज्ञानिक क्षेत्रमा नारीहरूको स्थानको बारेमा जिज्ञासा राख्नुभएको थियो । रानीका प्रश्नहरू भालेन्टिनाले नेपालीमै प्रस्ट्याउँदै गर्दा रानी मुसुमुसु हाँस्दै गरेको देख्दा वातावरण रमणीय भएको थियो । राजारानीको यस भ्रमणपछि हामीलाई नेपाल सरकारबाट त्यस वर्षको ‘राष्ट्रिय शिक्षा पुरस्कार पनि प्राप्त भएको थियो ।
भालेन्टिना र मेरो विवाहको लागि मलाई सर्वप्रथम नेपालबाट मेरा अभिभावक बुबामुमाको स्वीकृति चाहिन्थ्यो, मेरो नेपालमा पहिले कोहीसँग विवाह भएको थिएन भन्ने प्रमाणका साथ । यी दुइटा कुरा सप्रमाण पेश नगरेसम्म सोभियत सङ्घमा कुनै विदेशी नागरिकले विवाह गर्न पाइँदैनथ्यो । विवाहको लागि निवेदन दिनुपथ्र्यो । सोभियत सरकारी विवाह दर्ता कार्यालयमा तत्कालीन सोभियत सङ्घमा बहुविवाह गर्न पाइँदैनथ्यो । त्यसकारण नेपालमा मेरो कसैसँग विवाह भएको छैन भनेर नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाटै पत्र आउनुपथ्र्यो । सोभियत महिलासँग बिहे गरेमा हाम्रो केही आपत्ति छैन भन्ने स्वीकृति पत्र चाहिन्थ्यो – मेरो आफ्ना अभिभावक वा आमाबुबाबाट । मलाई थाहा थियो मेरा बुबाआमाले मेरो इच्छाअनुसार बिहे गर्ने कुरामा असहमति जनाउनु हुँदैन भन्ने कुरामा । तर, मेरो विश्वासले मात्र कुरा हुने भएन यहाँ । मलाई परिपत्रहरूको आवश्यकता थियो र नेपालबाट आएका स्वीकृतिको परिपत्र फेरि रुसमा प्रमाणित गर्नुपथ्र्यो । रुसी भाषामा रूपान्तरण गरेर पनि अरू काम धेरै बाँकी थियो तर समय थोरै थियो । हामीलाई समयले धेरै च्याप्दै ल्यायो र हामी आतुरीमा थियौँ किनभने भालेन्टिना दुई जिउकी हुनुहुन्थ्यो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *