भर्खरै :

ट्रम्प कस्तो राष्ट्रपति ?

हिजोआज एउटा नेपाली हास्य टेलिशृङ्खलामा एक जना कलाकारले बोल्ने डाइलगमा आफ्नो मान, इज्जत दर्शाउने थेगो यतिखेर दर्शकहरूले सम्झेको हुनुपर्छ, “मेरो एउटी छोरी अमेरिकामा, एउटा अस्ट्रेलियामा र अर्काे…।” संरा अमेरिकामा आफ्ना छोराछोरी पठाएर गर्व गर्ने नेपालीको सोच विचारलाई डाइलगको उक्त थेगोले प्रतिबिम्बित गर्दै उनीहरूलाई व्यङ्ग्य गरेजस्तो लाग्दछ । तिनीहरूको आफ्नो ‘सपनाको देश’ भनिने संरा अमेरिकाभित्रको हालत कस्तो रहेछ भन्ने वास्तविकता बुझ्न हालै क्रिश्चिनाद्वारा लिखित सेवा निवृत्त शिक्षक समाज भक्तपुरबाट प्रकाशित ‘डोनाल्ड ट्रम्प एक नकारात्मक राष्ट्रपति’ भन्ने पुस्तकले स्पष्ट गरेको छ ।
स्वतन्त्रता आन्दोलनको विजय भएको झन्डै अढाइ सय वर्ष बितिसक्दा पनि पुँजीवादी प्रजातन्त्रको नमुना सम्झिएको र ‘सपना देश’ ठानिएको संरा अमेरिकामा दलित र पीडित जनता, काला जातिका अमेरिकी नागरिकहरू अनेक आँसु र सुस्केरासँगै अपमान र भेदभावको बीचमा मरी मरी बाँच्नु पर्नाका कारण भित्र भित्र विस्फोटको आगोलाई दन्काउँदै थिए । अश्वेत एक अमेरिकी नागरिक जर्ज फ्लोयडको घुँडाले घाँटी थिची हत्या भएपछि त्यो विस्फोट बाहिर छताछुल्ल भएको पुस्तकमा उल्लेख छ । जनतालाई गरेको पक्षपात, घृणा र यातनाको विरोधमा संरा अमेरिकामा मात्रै होइन युरोपका सम्पूर्ण देशहरूमा भएका ठूल ठूला विरोध प्रदर्शनको विवरण दिँदै त्यहाँका पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र १७ औँ शताब्दीका दास व्यापारी, लुटाहासमेतका सालिकहरू ढाल्दै र तोडफोड गर्दै गरेका फोटोहरूको सङ्कलन पुस्तकमा छापिएको छ । कोरोना भाइरसको महामारी भइरहेको अवस्थामा पनि जातीय विभेदविरुद्ध लाखाँैको प्रदर्शनले संरा अमेरिकी जनता जातीय विभेद र प्रहरी ज्यादतीबाट कति आजित छन् भन्ने कुरा प्रस्ट हुन्छ । व्यापक विरोध प्रदर्शन भएपछि आफूलाई विश्वकै सर्वशक्तिमान ठान्ने राष्ट्रपति ट्रम्प स्वयम् ह्वाइटहाउसको बंकरमा लुक्न बाध्य भएको कार्टुनले त्यहाँको भयावहको अवस्थालाई प्रस्ट्याउँदछ ।
ट्रम्पको ध्यान यतिबेला जनताको स्वास्थ्यभन्दा पनि आगामी चुनावमा आफ्नो विजय सुनिश्चित गर्नुमा केन्द्रित छ । चुनावमा आफू हारिहाले पनि शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण नगर्ने उनको चेतावनीले प्रजातन्त्रको उपहासमात्रै गरेको नभई अमेरिकी जनताबाट तर्साइ तर्साइ मत बटुल्न खोजेको देखिन्छ ।
आज संरा अमेरिका संसारमा सबभन्दा बढी कोरोना सङ्क्रमितका साथै त्यसबाट मृत्यु हुनेहरूको सङ्ख्या बढी भएको देश हो । आफै ठूला व्यापारी भएको हुनाले त्यहाँका पुँजीपति, उद्योगपति र व्यापारीहरूलाई रिझाउनको निम्ति कोरोना रोकथाम र नियन्त्रणका उपायहरूलाई अस्वीकार गर्दै ट्रम्प आफूले पनि मास्क नलगाई सार्वजनिक स्थलहरूमा जाने, अरूलाई पनि आफ्नो बन्द व्यापार नरोक्न र मास्क नलगाउन प्रोत्साहन गर्दछन् । प्रमाणविना जुन पायो त्यही औषधि सिफारिस गर्दै हिँडेका छन् उनी । महामारी नियन्त्रण गर्न ट्रम्प सरकारले प्रभावकारी काम गर्न नसकेपछि जनताको ध्यान मोड्न अरू देशलाई उक्त महामारी फैलाएको दोष दिएको छ । नाक मुख ढाक्नुपर्ने मास्कलाई आँखा छोपेर लगाई महामारी नदेख्ने मास्कविरोधी ट्रम्पलाई एउटा चाटिलो व्यङ्ग्य प्रहार गरेको कार्टुन पुस्तकमा छापेको छ ।
राजनैतिक व्यक्तित्वभन्दा पनि एक व्यापारी, अशिष्ट, मुख समाल्न नसक्ने पुँजीवादी कर्पाेरेटहरूबाट सञ्चालित साम्राज्यवादी चरित्र र प्रवृत्तिलाई निरन्तरता दिनेमात्रै नभई ‘अमेरिका फस्ट’ लाई प्राथमिकता दिने ट्रम्पलाई नकारात्मक राष्ट्रपतिको रूपमा विभिन्न भनाइबाट पुस्तकमा चित्रण भएको पाइन्छ । त्यसैले इरानका राष्ट्रपति हसन हानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नवप्रवेशी’ को संज्ञा दिएको चर्चालाई सटिक नै ठान्नुपर्छ ।
संरा अमेरिका आजसम्मका लागि संसारकै ठूलो अर्थतन्त्र भएको देश हो । सैन्य शक्तिमा पनि आफूलाई महाशक्ति मान्दै आएको हो । तर, सामाजिक न्याय र मानवीय सेवामा संसारका चुनौती र समस्याबारे उनी जिम्मेवारीपूर्वक प्रस्तुत हुन सकिरहेका छैनन् अथवा चाहिरहेको छैनन् । सेवा गर्नुपर्ने कार्यबाट पलायन भइरहेको छ । बरु संयुक्त राष्ट्र सङ्घलाई नै आफ्नो छाया बनाउने एकाधिकारवादी चिन्तनमा उनी व्यस्त छन् । प्रजग कोरिया, क्युवा, इरान (सिरिया) आदि स–साना देशहरूको सार्वभौमिकतालाई खलल पु¥याउने, दशकौँदेखि आर्थिक नाकाबन्दीलाई कदाइका साथ पालन गर्न गराउन संयुक्त राष्ट्र सङ्घमार्फत दबाब दिलाउने, विश्व कोभिड– १९ को महामारीमा पनि अत्यावश्यक सामग्रीहरू पु¥याउन बाधा हाल्ने काममा उनी अग्रसर भइरहेका छन् । मानवतावाद र प्रजातन्त्रको नाममा अरू देशहरूलाई अप्ठेरोमा पार्ने, आफ्नो स्वार्थ अनुकुल नमिल्ने सरकार र सत्तालाई ढाल्ने काम उनले गरिरहेका छन् । उनको ‘मानवतावाद’ एउटा खोक्रो र ढोँगी साबित भएको कुरा पुस्तकमा समेटेको विभिन्न तथ्यहरूले उदाङ्ग्याएका छन् ।
कोभिड– १९ को सङ्क्रमण फैलिएसँगै समाजवादी देश चीनले सरकार, पार्टी, जनता र सेना सब एक भएर सारा स्रोत साधन परिचालन गरी थोरै समयमै कोरोनालाई जितेर सफलता हासिल गरेको छ । यही बेला ट्रम्पजस्ता घमण्डी, मूर्ख, झूटको खेती गरी जनतालाई रोगी बनाई मार्नेहरू पनि यही संसारमा देखापरेका छन् । संरा अमेरिकाजस्तो पुँजीवादी देशले जनताको जीवनभन्दा नाफालाई प्राथमिकता दिएको पुस्तकमा पाइन्छ । चीन, क्युवा, उत्तर कोरियाजस्ता समाजवादी देशका सरकारले महामारीमा जनताको स्वास्थ्यलाई प्राथमिकता दिएको कारण सरकारप्रति जनताको विश्वास अझ गाढा बनेको कुरा छर्लङ्ग छ ।
नेपालीमा एउटा उखान छ, ‘नहुने मामाभन्दा कानो मामा जाती’ । यस्तै सोच राख्ने अमेरिकी जनताले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका लागि उठेको जो बाइडेनलाई ट्रम्पको बिकल्पको रूपमा सोच्नु अस्वाभाविक नहोला । उम्मेदवारहरूका बीच मीठो–नमीठो, तीतो पिरो आलोचना भएको कुरा लेखिएको क्रिश्चिनाले उल्लेख गरेकी छन् । हुन त पुँजीवादी देशमा जो जिते पनि श्रमजीवी जनताको हालत नाफाबाट उम्केको माछो भुङ्ग्रोमा भनेजस्तै पक्षपात, भेदभाव, शोषण, उत्पीडन र दमनमा पिल्सिनुपर्ने उनीहरूको बाध्यता छँदै छ । कुन व्यक्तिभन्दा कस्तोखाले राजनीतिक व्यवस्थाले कुन नीति अपनाउँछ भन्ने कुराले यी सबैको निधो गर्ने हो । पुँजीवादी राजनैतिक व्यवस्थामा व्यापक जनताको निम्ति आमूल परिवर्तनको आशा गर्नु आकाशको फल…’ जतिकै हुन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोडीको जातिवादी र फासीवादी प्रवृत्तिका छनकहरू नेपालको परिवेशमा पनि सत्ताधारी दलहरूले नदेखाएका होइनन् । निरङ्कुश पञ्चायती व्यवस्थामा राज्यस्तरबाट रचिएको २०४५ सालको भक्तपुर काण्ड होस् वा हालसालै धान दिवसको बेला ललितपुरको खोना बोङ्गा (खोकना – बुङ्गमति) का रैथाने किसानहरूलाई दमन गरी बेदखल गर्नेजस्ता थुपै्र सरकारी गतिविधिहरूले जातिवादी र फासीवादीकै स्वरुप देखाउँछन् । फट्याइँ गर्ने, झूट बोल्ने, आश्वासनकै पोकामा जनतालाई अल्मल्याउने भागबन्डा नमिलुञ्जेल एक आपसमा सत्तोसराप गर्ने, कोरोनाको महामारी अवस्थामा पनि पदीय भागबन्डामा व्यस्त हुने, काले काले मिली खाउँ भाले’ को नीति अङ्गीकार गरी देश र जनतालाई भड्खालोमा पार्ने सत्ताधारी दलहरू (नेका, नेकपा र राप्रपा) बाट देशमा आमूल परिवर्तनको आशा गर्नु नेपाली जनताले व्यर्थ ठान्दै आएको अवस्था छ ।
त्यसैले पुस्तकको उपसंहारमा लेखिका क्रिश्चिनाले ट्रम्पजस्ता गैरजिम्मेवार, विवादास्पद छाडा राष्ट्रपति, प्रधानमन्त्री पार्टीका नेता नेपालका जनताले पनि व्यहोर्न नपरून्् भन्दै अभिभावक साथीहरूसँग अपिल गरेको देखिन्छ ।
पत्र– साहित्यको रूपमा प्रस्तुत उक्त पुस्तकले आफ्ना छोराछोरी राजनीतिमा लागेर बिग्रिएला भनी डर मान्ने अभिभावकहरूलाई सम्बोधन गर्दै उहाँ भन्नुहुन्छ, “राजनीतिलाई ‘घृणा’ गर्नुभन्दा राजनीतिलाई देश र जनताको सेवा गराउन हाम्रा छोराछोरीहरू, नाति नातिनाहरूलाई प्रतिबद्ध बनाउनु आवश्यक छ ।” वास्तविकताले यही देखाउँछ । योग्य, क्षमतावान, सक्षम र राम्रालाई विदेश पठाएर ठग, लुच्चा कमिसनखोर, चोर फटाहा, गुण्डा, बलात्कारी, घुसखोरी, भ्रष्टाचारी र हत्याराहरूलाई देशको बागडोर सुम्पिएमा ट्रम्पजस्ता खुँखार व्यक्ति राजनीतिमा हाबी हुनु आश्चर्यको कुरा हुनसक्दैन ।
त्यसैले राजनीतिलाई ‘घृणा’ मात्रै गरी आफ्नो दायित्व बिर्सन नहुने सम्बन्धमा पुस्तकले जोड दिएको छ । पुस्तकको महत्व यसैमा छ । आफ्नो उद्देश्यमा लेखिका क्रिश्चिना सफल भएको देखिन्छ । समय सान्दर्भिक यस्तो महत्वपूर्ण पुस्तक प्रकाशन गरी शिक्षक, बुद्धिजीवी र अभिभावक मित्रहरूमाझ पस्किदिएकोमा सेवा निवृत्त समाज, भक्तपुरलाई धन्यवाद ज्ञापन गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *