भर्खरै :

काम नपाउँदा युवाहरू निरास

स्वदेशमै उद्योग, कलकारखाना खोलेर सरकारले रोजी रोटीको व्यवस्था गर्न नसक्दा विदेशिने नेपालीहरूको सङ्ख्या बढ्दै छ । विश्वभरि फैलिएको कोरोना भाइरसको कारण आ–आफ्नो सुरक्षाको लागि स्वदेश फर्किए पनि यहाँ काम नपाएपछि युवाहरू फेरि रोगको पर्वाह नगरिकन भारततिर लागेका छन् । रोगको डरले मृत्युभन्दा भोकको डरले मुत्यु हुने या परिवारको जोहो गर्न नसक्ने स्थिति देखिएपछि ‘स्वदेशमा हारेर फेरि स्वदेश जाँदै छौँ’ भनी उनीहरु भारत गएका छन् । यसबारे असोज १३ गते प्रकाशित ‘नयाँ पत्रिका’ मा दसैँ होइन, दशा टार्न मुग्लान जानेको ताँती’ शीर्षकमा तस्वीरसहितको समाचार छ ।
विदेश पलायनको एउटा कारण गरीबि हो, परिवारका सदस्यहरूलाई पाल्न हो । आफ्नो देशमा रोजगारी नपाएपछि बाध्य भएर उनीहरू भारतको विभिन्न स्थानमा पुगेका छन् । भारतमा झन्डै एक लाख नागरिक कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । गरिबलाई दसैँ होइन दशा टार्न विदेशिन बाध्य भएको उनीहरूको तर्क हो । विदेश जाने भर्खरका युवा युवतीहरूको ताँतीले नेपालमा सरकारले काम दिन नसकेको थाहा हुन्छ । गरीबिको कारण पढाइ छाड्न बाध्य भएको थाहा हुन्छ । एकातिर सरकारले लाखौँ युवा युवतीलाई काम दिएको फुक्छ भने अर्कोतिर काम नपाएरै विदेश जान बाध्य भएको युवाहरूको दुखेसो छ ।
काम नपाएकोमा नेपाली युवाहरू निरास छन् । उनीहरू जन्मथलो छोडेर आफ्नो श्रम र सीप विदेशी भूमिमा बगाउँदै छन् । रोगको चिन्ताले स्वदेश फर्केका ती युवाहरू रोगले सङ्क्रमित स्थल भारतमा छिर्दै छन् । भारतमा प्रत्येक दिन ८० हजारदेखि १ लाखसम्म भारतीय नागरिकहरू सङ्क्रमित भएका छन् । यसरी रोगको भयावह भएको स्थानमा रोग र स्वास्थ्यको ख्यालै नगर्दै भारतीय भूमिमा छिरेको देख्दा, ताँती लागेको देख्दा नेपाल सरकार के गरिरहेको छ भन्ने प्रश्न स्वाभाविकरूपमा उठ्छ ।
देशमा भोकमरी छ । सरकारले बेपत्ता पार्ने र हत्या–हिंसाका श्रृङ्खलाहरू रोक्न सकेको छैन । महिला बेचबिखन गर्ने, बेश्यालय पु¥याउने, अङ्ग प्रत्यङ्ग बिक्री वितरणमात्र होइन चोरी, डकैती तथा अन्य सामाजिक आपराधिक कामले निरन्तरता पाइरहेको छ । भोग, रोग र शोकले पीडित नेपालीहरूको वेदना, दुःख पीडा सरकारले कहिले बुझ्ने ? कति युवाहरू काम नपाएरै गलत बाटोमा लागेका छन्, कुलतमा लागेका छन् । उनीहरू मानसिक रोगले चिन्तित छन् । कति युवाहरूले आत्महत्या गरेका छन् । देशका युवाहरूको यो दुर्गति, यो हालत बुझेर सरकारले स्वरोजगारको व्यवस्था कहिले गर्ने ?
देशमा बलात्कार हुन्छ, एसिड प्रहार हुन्छ । तर, कडा सजाय हुँदैन । त्यस्ता अपराधीहरू धरौटीमा छोड्छन् । अपराधीहरूलाई हतोत्साही पार्ने कडा कानुन नभएर पनि आपराधिक क्रियाकलाप बढिरहेको हो । तिनै अपराधीहरूको घेरामा सत्तारुढ दलका नेताहरू रहेका हुन्छन् । सरकारले अपराधीहरूलाई कारबाही होइन उल्टो संरक्षण गर्छ, उनीहरूमाथिको मुद्दा झिक्छ । उनीहरूलाई पनि स्वतन्त्र हिँडडूल गर्ने मौका दिन्छ । अनि देशमा कसरी आदर्शोन्मुख समाज स्थापना हुन्छ ? विधिको शासन कसरी हुन्छ, सुशासन कसरी हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *