भर्खरै :

जताततै शोषण, अन्याय र अत्याचार, सरकार चाहिँ ‘कम्युनिस्ट’ !?

नयाँ संविधानको पाँच वर्ष
नेपाली जनताले ठूलो उत्साह र अपेक्षाका साथ प्रतिगमनविरोधी आन्दोलन तथा २०६२/६३ को जनआन्दोलनमा सहभागिता जनाएका थिए । धेरैको त्याग, तपस्या, बलिदानपश्चात् जनआन्दोलन सफल पनि भयो । झन्डै आठ वर्ष लगाएर देशले नयाँ संविधान प्राप्त ग¥यो । देश सङ्घीयता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा भयो । जनताले सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीन तहका सरकार पनि पाए । अझ स्थायी, स्थिर र बहुमतको सरकार नै पाए । तर, संविधान कार्यान्वयनको पाँच वर्ष बितिसक्दा पनि जनताले परिवर्तनको अनुभूति भने गर्न पाएनन् । बहुसङ्ख्यक जनताको जीवनमा तात्विक परिवर्तन नआएकोमा कसैको विमति देखिँदैन । आन्दोलनताका गरिएका प्रजातन्त्र, जनअधिकार फिर्ता, सामाजिक न्याय, सुशासन आदि वाचा त फजूल गफ साबित भए । संविधानमा उल्लेख गरिएको नयाँ सोच तथा उद्देश्य ‘समाजवादउन्मुख’ जनता अल्मल्याउने खोक्रो आश्वासन या नारा ठहर हुँदै छ । तीनै तहमा कम्युनिस्ट नाउँको पार्टी अत्यधिक सङ्ख्यामा जित्नु तर ‘समाजवाद’ को ठीक विपरीत काम हुनु, जनता दिन प्रतिदिन गरिबी तथा अभावमा पिल्सिइँदै जानु र राज्य स्वयम् गरीब तथा खोक्रो बनाइँदै लग्नु निश्चय पनि संयोग मात्र होइन । नयाँ संविधानको कार्यान्वयनको पाँच वर्ष उत्साहबद्र्धक तथा फलदायी बन्न सकेन । नयाँ संविधानको बिहानी आशालाग्दो कम र निराशाजनक बढी भएको धेरैको अनुभव हो । यसका निम्ति जिम्मेवार भनेका शासक दल र तिनका नेतृत्व हुन् । तिनकै अकर्मण्यता, अक्षमता तथा असफलताका कारण देश बर्बादी बेहोर्दै छ । तसर्थ, जनता फेरि नयाँ आन्दोलनको आवश्यकता अनुभव गर्दै छन् ।
समाजवादले के गर्छ ?
जगमा जाहेर भइसकेको र इतिहासले पुष्टि गरिसकेको कुरा हो कि समाजवादले राज्यलाई धनी बनाउँछ, समृद्धितर्फ  डो¥याउँछ र समानतामा आधारित सुसंस्कृत समाज निर्माणतर्फ अग्रसर बनाउँछ । निश्चित व्यक्ति या समुदायमात्र धनी बनाउने या तिनलाई मात्र विशिष्ट सुविधा प्रदान गर्ने निकृष्ट काम समाजवादले गर्दैन । समाजवादले समानतामा आधारित नयाँ समाज निर्माणमा जोड दिन्छ । आर्थिक समानताविना अरू स्वतन्त्रता निष्प्रभावी बन्ने स्पष्ट विचारका साथ सिङ्गो देशलाई आर्थिकरूपमा स्वतन्त्र र आत्मनिर्भर बनाउन जग्गा–जमिन, उद्योगधन्दा, कलकारखाना, प्राकृतिक स्रोत तथा साधन राज्यको स्वामित्वमा ल्याउँछ । विदेशी पुँजीको निर्वाध प्रवेशमा रोक लगाउँछ ।
शिक्षा तथा स्वास्थ्य जस्ता अत्यन्त संवेदनशील एवम् मानव जीवनको अभिन्न अङ्ग या अनिवार्य आवश्यकता नाफाखोरको हातमा सुम्पेको खण्डमा बहुसङ्ख्यक जनताको जीवन नारकीय हुन्छ र समाज कुनै क्षेत्रमा पनि उँभो लाग्न सक्दैन भन्ने धु्रवसत्यलाई मनन गर्दै समाजवादी व्यवस्थाले राज्यको दायित्वभित्र राख्छ । समाजवादले गाउँको विकास, दूर्गम तथा पिछडिएका बस्तीमा अनिवार्य सार्वजनिक सेवाको वितरण र कृषि उत्पादन वृद्धिमा उच्च प्राथमिकता दिन्छ । आधुनिक तथा वैज्ञानिक खेती प्रणाली व्यवहारमा लागु गरी सम्भावित खाद्य सङ्कट या भोकमरीविरुद्ध दरिलो पाइला चाल्छ । स्थानीय उत्पादन, मौलिक ज्ञान, सीप तथा प्रविधिको उपयोग गरी गाउँ–ठाउँका जनतालाई स्वरोजगार एवम् स्वावलम्बी बनाउँछ । गरिबीउन्मूलनका अनेक उपाय अपनाई जनताको जीवनस्तर उकास्न सम्भव भएका सम्पूर्ण पाइला चाल्छ । समाजवादले जनतालाई मानिसको जीवन दिन्छ । आधुनिक ज्ञान तथा विज्ञानमा आधारित समाजको विकासमा विशेष ध्यान पु¥याउँछ ।
सारमा समाजवादले मानिसलाई मानिस बनाउँछ । मानिस बन्न नदिने शोषणका जालो तथा सिक्री चुँडाल्छ । मानिसद्वारा मानिसमाथिको दासता अन्त्य गर्छ । शोषणमा आधारित व्यवस्थाको अन्त्यविना मानिस पूर्णतः मानिस बन्न सम्भव हुन्न । तसर्थ, समाजवादले वर्गविहीन तथा शोषणविहीन समाजको सुनिश्चितता प्रदान गर्दछ । मानिसलाई आप्mनो भाग्यको मालिक आफै बनाउँछ ।
अहिलेको नेपाली समाजमा भने शोषण, अन्याय र अत्याचार व्याप्त छ । तर, राज्य मौन छ । सरकार त्यतातर्फ  मतलबै गर्दैन । महामारीमा अहोरात्र स्वास्थ्य सेवामा खटेका चिकित्साकर्मीमाथि चारैतिरबाट अन्याय भइरहेको छ । नर्सहरू ठूलो आर्थिक शोषणमा परेका छन् । न्यूनत्तम पारिश्रमिक या ज्यालासमेत नपाएर ती छट्पटाइरहेका छन् । तिनलाई उत्साहित गर्ने कार्यमा सरकारको कुनै चासो छैन । नर्सहरूलाई विदेश पलायन हुन बाध्य पारिइँदै छ । शिक्षकहरू शोषणको पहिलो सिकार बनेका छन् । विगत ६–७ महिनादेखि पारिश्रमिक या ज्याला नपाएर दुई–तीन लाख शिक्षकहरू पानीविनाका माछा बन्दै छन् । शिक्षकको आक्रोशले कहिले कुन रूप लिने हो, केही ठेगान छैन । किसानको पीरमर्कामा ध्यान पु¥याउन सरकारलाई कुनै फुर्सद छैन । मजदुरको जस्तै बेहाल अवस्था होस् या सडकमा दिनदहाडै मरुन्, अहँ !सरकारलाई कुनै अफसोस छैन । किनभने, यतिखेर सरकारलाई मन्त्रीमण्डल पुनः गठनको चटारो छ ! नयाँ दौरासुरुवाल सिलाउने दौडमा छन्, शासक नेताहरू । यो आजको तीतो यथार्थ हो ।
यस हिसाबले नेकपाका नेताबाट समाजवादको उच्चारण मात्र हुनु पनि समाजवादप्रति व्यङ्ग्यवाण हुनेछ । बाध्य भएर भन्नै पर्ने हुन्छ, ‘समाजवादलाई योभन्दा बढी अपवित्र नबनाऊ ! कम्युनिस्ट शब्दको योभन्दा बढी बदनाम नगर !’
समाजवाद के होइन ? समाजवादी को होइनन् ?
संविधानले ‘समाजवादउन्मुख’ को विशेषता बोकेको छ । शासक दल र सरकारले समाजवादको भाषण फलाक्छन् । सधैँसधैँ समाजवाद जप्छन् । तिनले समाजवाद र समृद्धिकै नारा लगाएर चुनाव जिते । गाउँबस्तीका झुपडी – झुपडीमा खुसी, सुख–सुविधा ल्याइदिने सपना बेचे । तर, वर्षौँ बितिसक्दा पनि समाजको तल्लोवर्गको हित हुने कामको थालनीसम्म गरिएन । सदियाँैदेखि ठगिएका, चुसिएका र लुटिएका कामगरी खाने धरातलका मानिसको सेवामा सिन्को भाँचिएन । यो स्थितिलाई कुनै हालतमा समाजवादतर्फको यात्राको प्रारम्भ मान्न सकिन्न । त्यस खालको यात्रा आरम्भको सामान्य सङ्केत पनि देखिँदैन । बरु शासकहरू आफै बिचौलिया पोस्दै छन् र बिचौलिया बन्दै छन् । शासकहरू नवसम्भ्रान्त वर्गमा रूपान्तरण हुँदै छन् । शासकहरूकै लालन–पालनका कारण पप्पु, ओम्नी, यति, शैलुङ हुर्कँदै छन् जसका कारण देश ध्वस्त हुँदै छ, आर्थिकरूपमा तहसनहस हुँदै छ र विदेशी पुँजीका दलालहरूको बोलवाला चल्दै छ । यस्तो स्थितिलाई समाजवादतर्फ अगाडि बढ्ने तयारीका रूपमा विश्लेषण यदि कसैले गर्छ भने त्यो मानसिक सन्तुलन गुमाइसकेको व्यक्ति पुष्टि हुनेछ । त्यो बौद्धिक टाटपल्टाइबाहेक अरू हुने छैन । स्पष्ट देखिएको हो कि शासक दलका नेता–कार्यकर्ताहरूको साँठगाँठ भारतीय एकाधिकार पुँजीका दलालहरूसँग अझ बढ्दो छ । तिनको पार्टीमा कुन नेता कुन देशका एजेन्ट हुन् र कुन बहुर्राष्ट्रिय कम्पनीसँग जोडिएका छन् या कुन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग सम्बन्धित छ भन्ने छुट्याउन गा¥हो छ । विस्तारवादी भारतको दलाली गर्ने, युरोपियन युनियनको पाउ मोल्ने र संरा अमेरिकी साम्राज्यवादसँग कुम जोडेर हिँड्ने कुनैपनि नेता–कार्यकर्ता समाजवादका वास्तविक पक्षधर बन्न सक्दैनन् । ती त हरियो घाँसमा लुकेका सर्प हुन् । ती रातो झन्डा खसाल्न रातो झन्डा उचाल्ने ‘नक्कली नागका सौखिन’ हुन् ।
सरकारको आडभरोसा पाएर कति सामाजिक अपराधीहरू, ठग ठेकेदारहरू, भूमाफिया, किसानमाराहरू, कालाबजारियाहरू एकाएक नेकपाको झन्डामुनि ओत लागेका छन् । रातारात ‘कामरेड’ भएका छन् । कामरेड भनी सम्बोधन गर्दा समाजले जीब्रो टोक्ने दिनसमेत आयो ! हिजोका गुन्डा, डन, हत्यारा आज अबिर दलेर, टीका लगाएर क्षणभरमा ‘कामरेड’ भएका छन् । सत्ताको न्यानो पाएर ती आज बाँदरझैँ  उफ्री–उफ्री जनताको बालीनाली, सम्पत्ति ध्वस्त पार्दै छन् । ती कम्युनिस्टको नाउँमा कलङ्क हुन् । यस्तो भाँडभैलो मच्चाउने नेताहरू कम्युनिस्ट होइनन् कुलङ्गार हुन् । तिनले समाजवादत तर्फ होइन समाजलाई संहारतर्फ डो¥याउनेछन् । नेकपाको शैलीले नेपाली समाजमा समाजवादबारे भ्रम फैलाउने र कम्युनिस्ट आन्दोलन भाँड्नेमा कुनै शङ्का छैन । यतातर्फ समाजवादलाई मनैदेखि माया गर्ने र कम्युनिस्ट आन्दोलनप्रति हृदयदेखि सद्भाव राख्नेहरू थप सजग हुनुपर्ने तथा जनताबीच अझ बढी सक्रिय हुनुपर्ने समयको आवश्यकता हो । समाजवादबारे फैलाइएको भ्रम हटाउन, समाजवादी मार्गबारे नेकपाले गरिरहेको अपव्याख्या चिर्न सच्चा कम्युनिस्टको तत्परता इतिहासमै सबैभन्दा बढी आवश्यक महसुस हुँदै छ । वैचारिक सङ्घर्षमा जति ढिलाइ हुनेछ त्यति नै बढी क्षति पुग्ने निश्चित छ ।
बाटो यदि समाजवादउन्मुख हो भने …समाजवादउन्मुख व्यवस्था ल्याउन खोजेको हो भने निम्नतम विश्वासको आधार त तयार गरिनुपर्छ । समाजवादउन्मुख व्यवस्थामा विदेशी पुँजीका दलालहरूको बोलवाल हुने गर्दैन । हरेक क्षेत्र माफियाहरूको नियन्त्रणमा पठाइँदैन र तिनैलाई निर्णायक या नीति निर्माता बनाइँदैन । शासकहरू होइनन् मजदुर–किसान पाइला–पाइला गरी धनी हुँदै जानेछन् र बहुसङ्ख्यक कामदार जनता नै शासक बन्नेछन् । ३०–४० वर्ष अगाडि राज्य स्वयम्ले सञ्चालन गरेका राष्ट्रिय महत्वका उद्योग–कलकारखाना पुनः स्थापित गरिनेछन् । योग्यताअनुसार काम र कामअनुसार ज्यालाको प्रबन्ध मिलाई शोषण उन्मूलनमा विशेष अगुवाइ गरिनेछ । पुँजीपतिवर्ग मात्र पोस्ने निजीकरण तथा उदारीकरणको दुष्ट नीति त्याग्दै सार्वजनिकीकरण, सामूहिकीकरणतर्फ  अग्रसर हुनेछ । रोजगारीको बढीभन्दा बढी अवसर तयार गरी हरेकलाई देशको लोभलाग्दो श्रमशक्तिमा परिणत गरिनेछ । महिला, बालबालिका र वृद्धवृद्धाहरूलाई राज्यको तर्पmबाट विशेष प्राथमिकता दिँदै सुरक्षाको पूर्ण प्रत्याभूति दिइनेछ । मानिसलाई विचार, विज्ञान, दर्शन, सिद्धान्तबारे शिक्षित बनाउँदै आधुनिक सोच तथा चिन्तनको विकासमा उच्च प्राथमिकता दिइनेछ । समाजवादउन्मुख व्यवस्थामा भ्रष्टाचार हुँदैन । भ्रष्टाचार कसैले गरेको पाइए सख्त कार्वाही हुन्छ । पार्टी या राज्य कुनैले पनि भ्रष्टाचारीलाई संरक्षण दिने काम गर्दैन । सार्वजनिक सम्पत्तिको हिनामिना गरेका या गर्ने प्रयास गरेकालाई पार्टी या सार्वजनिक जिम्मेवारी दिइन्न । समाजवादउन्मुख व्यवस्थाले मितव्ययिता, पारदर्शिता, आर्थिक अनुशासन र जनभावनाको उच्च सम्मानमा विशेष ध्यान पु¥याउँछ । ‘जनताको निःस्वार्थपूर्वक सेवा गर’ नै गुरुमन्त्र बन्नेछ हरेक नेता, कार्यकर्ता तथा जनप्रतिनिधिको । सम्पूर्ण जिम्मेवार नेता, जनप्रतिनिधि समाजका आदर्श या उदाहरण बन्नेछन् ।
हो, यदि साँचो अर्थमा समाजवादप्रति इमानदार, प्रतिबद्ध शासक आएको खण्डमा माथि छलफल गरिएका पक्षहरू एक–एक गर्दै हासिल गर्ने या त्यतातर्फ  उन्मुख हुने हरसंभव यत्न गर्छ । बीच बीचमा बाधा–अवरोध आउनु, राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतबाट दबाब आउनु त दोस्रो कुरा हो र तर, वामपन्थी नाउँको कुनै पार्टी सरकारमा पुगेर पनि, शक्ति हासिल गरेपश्चात् पनि यीमध्ये कुनैमा चासोसमेत देखाउँदैन भने त्यो नक्कली वामपन्थी हो । कम्युनिस्ट त हुनै सक्दैन ¤ तिनले लगाउने समाजवादको नारा जनताको आँखामा छारो हालेर चुनाव जित्ने प्रपञ्चबाहेक केही होइन भन्ने छर्लङ्ग हुन्छ ।
अन्त्यमा,
समाजवाद नारा होइन व्यवहार हो । यस आधारमा एमाले र एमाओवादीको नेकपा न कम्युनिस्ट हो न त वामपन्थी नै । उसको बाटो कुनै हालतमा समाजवादउन्मुख होइन । नेकपा दलाल पुँजीपतिवर्गको दलदलमा फस्दै गइरहेको पुँजीवादी पार्टी हो । वामपन्थी विचार र सिद्धान्तबाट दु्रत गतिमा विचलित हुँदै भारतीय एकाधिकार पुँजी र संरा अमेरिकी साम्राज्यवादको चङ्गुलमा फसेको काङ्ग्रेसजस्तै नक्कली समाजवादी पार्टी हो । नेकपालाई कम्युनिस्ट ठान्ने गल्ती गर्नेले नेपाली राजनीतिको सही विश्लेषण गर्न तथा समस्या पहिल्याउन र नेपाली समाजलाई बाटो देखाउन सक्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *