भर्खरै :

के शिक्षा राज्यको दायित्व होइन ?

शिक्षा राज्यको दायित्व हो । सबैलाई शिक्षित बनाएर देशको लागि आवश्यक जनशक्ति तयार गर्नु सरकारको काम हो । सबैलाई शिक्षित पार्न, उच्च शिक्षा हासिल गर्ने अवसर दिन देशमा निःशुल्क र अनिवार्य शिक्षाको बन्दोबस्त गरिएको हुन्छ । नेपालको संविधानमा पनि आधारभूत विद्यालयसम्म अनिवार्य र मावि (कक्षा १२) सम्म निःशुल्क शिक्षाको व्यवस्था छ । तर, यहाँ न अनिवार्य शिक्षा व्यवहारमा लागू भएको छ न र निःशुल्क शिक्षा नै लागू भइरहेको छ । संविधान हेरेर अरू देशका राष्ट्र प्रमुखहरू नेपालमा अनिवार्य र निःशुल्क शिक्षा रहेको थाहा पाउँछन्, नेपाली राष्ट्र प्रमुखहरू विदेश पस्दा पनि त्यहीँ फुक्छन् । तर, यहाँ १२ कक्षासम्म निःशुल्क छैन । संविधानमा बन्दोबस्त भएअनुसार पनि सरकारले निःशुल्क शिक्षा दिन सकेको छैन । कम्युनिस्टको सरकारले माविसम्म अनिवार्य र निःशुल्क तथा उच्च शिक्षा निःशुल्क गर्नुपर्ने हो ।
नेपालमा अहिले द्वैधशिक्षाको बन्दोबस्त छ । राज्यको ध्यान नपुग्दा, शिक्षालाई आफ्नो दायित्वको रूपमा नलिँदा शिक्षा निजीकरण र व्यापारीकरण भइरहेको छ । सरकारी विश्वविद्यालय या कलेजहरू डुबाएर निजी विश्वविद्यालय र कलेजहरू सञ्चालन गर्ने जाल सरकारले बुनिरहेको छ । वैदेशिक शिक्षा भिœयाइरहेको छ । कम्युनिस्टको शासनमा समाजवादी शिक्षा छैन । सरकार जवाफदेही बनेको छैन । देशभक्त तथा स्वाभिमानी नेपाली तयारी गर्नेतर्फ सरकारको ध्यान गएको छैन । देशको राजनीति या सत्तारुढ दलको राजनीति सही ढङ्गले अघि नबढेसम्म शैक्षिक स्तर उठ्ने छैन, आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुने छैन ।
देशको शैक्षिक स्थिति भद्रगोल हुनुमा सरकार नै जिम्मेवार छ, सत्तारुढ दल नै यसको दोषी हो । सत्तारुढ दलमा दीर्घकालीन सोच छैन । योग्य व्यक्ति योग्य ठाउँमा होइन भागबन्डा गरेर राम्रोभन्दा हाम्रो मान्छे राख्ने काम भइरहेको छ । आफ्नो मान्छे भर्ना गर्ने कार्यले शैक्षिक स्थिति भद्रगोल छ, डाँवाडोल छ । शिक्षामा विभेद छ । गरी खाने शिक्षाको बन्दोबस्त छैन । व्यवहारिक शिक्षाको कमी छ । विदेशमा पढ्ने र पढाउने रहर चलिरहेको छ । सही शिक्षाले पो देशमा सच्चा नागरिक तयार हुन्छ, देशप्रेम र भ्रातृप्रेमको विकास हुन्छ ।
विज्ञान र प्रविधिको यो युगमा मानिस कसैको दासता स्वीकार्न चाहँदैनन् । सैद्धान्तिकरूपमा शिक्षामा निजीकरण ठीक होइन । शिक्षा व्यापार गर्ने व्यवसाय पनि होइन । निःशुल्क र अनिवार्य शिक्षा व्यवहारमा लागू हुनुपर्छ । देशभक्त विद्यार्थी तयार गर्नुपर्छ । गुणस्तरीय शिक्षा हुनुपर्छ । अतः सबैलाई समान शिक्षा दिन, सबैले उच्चस्तरको शिक्षा आर्जन गर्न पाउन देशभरका सबै विद्यालय, कलेजलाई सामुदायीकरण गर्नुपर्छ या राज्यले नै देशभरका विद्यालयहरू सञ्चालन गर्नुपर्छ । विदेशमा होइन स्वदेशमै सबै शिक्षित हुने बन्दोबस्त हुनुपर्छ र देशको लागि आवश्यक जनशक्ति तयार गरेर विज्ञान र प्राविधिको विकासमा जोड दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *