भर्खरै :

कोरोना महामारी: भ्रम वा वास्तविकता ?

कोरोना महामारीको यो समयमा रोगबाट ज्यान जोगाउनु कि भोकमरीबाट ज्यान बचाउनु भन्ने अन्योलको अवस्थामा सर्वसाधारण छन् । यस्तो अवस्थामा फेरि बजारमा चलिरहेको छ, ‘कोराना केही होइन, यो साधारण रूघाखोकीमात्र हो’ भन्ने हल्लाबाट सर्वसाधारण अर्को रनभुल्लमा परेका छन् ।
अहिले बिरामी भयो भने सम्भवतः अस्पताल छिर्नै पाइँदैन, छिरियो भने पनि कोरोनाबाहेक अरू कुनै परीक्षण हुँदैन । के आजसम्मका अन्य सबै रोगहरू भ्रम थिए ? कोरोना एकमात्र सत्य हो ? कोरोना नियन्त्रण गर्ने यस्तै तौरतरिकाले गर्दा पनि कोरोना नियन्त्रण गर्ने प्रयासमाथि मानिसमा आक्रोस थपिएको छ । यो समयमा जुनसुकै रोग लागे पनि मर्ने सम्भावना प्रबल छ । अस्पतालहरू अरू रोगको उपचार नै गर्दैनन् जुन राज्यको कमजोरी हो । यसकारण, सर्वसाधारण जनताको उपचार नपाई मुत्यु हुन्छ भन्ने यो मृत्यु नभएर हत्या हो र यसको जिम्मेवारी राज्यले लिनुपर्छ । सात महिनासम्म नागरिकहरूलाई जीविकोपार्जनका सम्पूर्ण श्रोतहरू बन्द गराएर घरभित्रै थुनेर राख्दा धेरैको घरबार नै गुम्ने अवस्था आएको कुरा वास्तविकता हो । सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्दै छ । यसो हुँदा सर्वसाधारणमा कोरोना नियन्त्रण गरिने कार्यप्रति असन्तुष्टि जन्मिनु स्वाभाविक हो । सरकारको यस्तै लाचारी, कुव्यवस्थापन र भ्रष्टाचारको विरोध गर्ने नाममा कोरोना रोग केही होइन भन्नेजस्ता गलत प्रचार पनि अहिले भइरहेको छ जुन आफ्नै खुट्टामा बन्चरो हान्नुजस्तै हो । कोरोनाबाट प्रभावितलाई उचित सहयोग गर भनेर सरकारसँग माग गरौँ ¤ इतिहासकै बदनाम सरकारको कुकर्म, भ्रष्टाचार र लाचारीजस्ता कुराको विरोध गरौँ तर कोरोना केही होइन चाहिँ नभनौँ ¤ कोरोना आतङ्कको विरोधको नाममा आयुर्वेदिक औषधिका व्यापारीहरू पनि आफ्नो दुनो सोझ्याउन लागिपरेका देखिन थाले । कोरोना छ, सङ्क्रमित वा बिरामी छन् । अवस्था जटिल छ । त्यसैले मनगढन्ते कुरा नगरौँ !
कोरोनाजस्तो महामारीसँग विद्रोह गर्नु भनेको राजा, नेता र व्यवस्थाविरूद्ध विद्रोह गरेजस्तो होइन बरु उसलाई स्वागत गर्नु हो । विद्रोहको नतिजा इटली, ब्राजिल, अमेरिका आदिमा देखिसकिएको छ । यो हौवासिवाय केही होइन भन्दै नेपाललाई विनासको लागि अर्को प्रयोगथलो नबनाऔँ ¤ जब आफैलाई सङ्क्रमण र आफन्तहरूको मृत्यु हुन थाल्छ, तब यो भ्रम होइन भन्ने ज्ञान पलाउँछ तर त्यतिबेला धेरै ढिलो भइसकेको हुनेछ । कोरोनाविरूद्ध विदेशमा भएको जनप्रदर्शनको उदाहरण दिइरहँदा चीन, न्युजिल्यान्ड, कतार, कोरिया, जापानजस्ता राम्रा मुलुकको उदाहरण दिएर जनता र देशको हित हेरेर, सन्तुलनमा राखेर कोरोनालाई व्यवस्थापन गर्न सक्नुपर्छ । आफैले लगाएको आगोमा हामफालेर छटपटाएकाहरूलाई हेरेर नाचेको ठानी हामी कम्मर नमर्काऔँ !
यो नाटक हो वा होइन ? उपचार हुन्छ वा हुँदैन ? कसलाई सर्छ वा सर्दैन ? मास्कले छेक्छ वा छेक्दैन भन्ने कुरा आईसीयू र भेन्टिलेटरमा उपचार गरेर मृत्युको मुखबाट फर्केका कोरोनाका बिरामीलाई सोध्नुहोस् ¤ अस्पतालको बेड खालि नभएर कोरोनाको उपचार गर्न नपाएर आÇनो परिवारजन गुमाएका मानिसलाई सोध्नुस् ¤ कोरोना अस्पतालमा जीवन र मृत्युसँग लडिरहेका बिरामीका परिवारलाई सोध्नुस् ! आÇनो ज्यान जोखिममा राखेर जागिर हैन धर्म सम्झेर कोरोना सङ्क्रमितको उपचारमा तल्लीन स्वास्थ्यकर्मीको परिवारलाई सोध्नुस् ! यो विश्वव्यापी भाइरस भएकोले नेपाललाई मात्र हेरेर धारणा बनाउन उचित नहोला ! संसारमा सय नाघेको व्यक्ति पनि यो भाइरस लागेर बाँचेका छन् भने फाट्टफुट्ट युवा पनि मरेका छन् ।
भ्याक्सिन पत्ता नलागिकनै किन बिरामी निको भइरहेका छन् ?
यो प्रश्न गर्दा तथ्य तथ्याङ्कलाई पनि मनन गरौँ ! कोरोनाको सुरूआती चरणमा मृत्यु र सङ्क्रमितको अनुपात धेरै थियो जुन अहिले आएर निकै कम भएको छ । उदाहरणको लागि चीनमा कुल सङ्क्रमित ८५ हजार हुँदा ४५ सय व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी अमेरिकामा १ लाख सङ्क्रमित पुग्दा दैनिक २ हजारभन्दा बढीको मृत्यु भएको थियो । जबकि अहिले अमेरिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ लाखभन्दा बढी छ तर दैनिक मृत्यु १ हजारभन्दा कम छ । कतारमा कोरोना सङ्क्रमित लाख नाघे पनि २ सयले मात्र ज्यान गुमाएका छन् । नेपालमै पनि ७५ हजार सङ्क्रमित पुग्दा ४ सयको हाराहारीमा मुत्यु भएको छ । यसले के जनाउँछ भने सुरुआती चरणमा यो रोगबारे वैज्ञानिक, डाक्टर सबै अन्योलमा थिए । तर, समय सँगसँगै रोगको दुष्प्रभावलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भमा अनुसन्धान हुँदै गयो र नयाँ–नयाँ उपचार विधि अपनाउँदै गए । जस्तो, औषधिकै कुरा गर्ने हो भने मलेरियाको लागि प्रयोग गरिने हाइड्रोक्सी क्लोरोक्वीन, इबोलाको लागि प्रयोग गरिने रम्डेसीभीर र कोलेस्ट्रोलको लागि प्रयोग गरिने स्टाटिनजस्ता औषधि कोरोनाको लागि पनि केही हदसम्म प्रभावकारी भएको अनुसन्धानबाट देखायो । जसको फलस्वरूप अहिले धेरै हदसम्म रोगको प्रभावकारितालाई न्यूनीकरण गर्न वैज्ञानिकहरू सफल भएका छन् । यही कुरालाई आधार बनाएर भ्याक्सिन नै पत्ता नलगाइकन कसरी यो रोग निको भयो ? ‘कोरोना नाटकमात्र हो’ भनेर विवाद गर्नु तथ्यलाई बङ्ग्याउन खोज्नुमात्र हो ।
अर्को कुरा, कसैलाई औषधि नखाइकनै रोग निको भएको पनि हुन्छ । यदि औषधिले मात्र रोग निको पार्न सक्ने भए सयौँ वर्षअगाडि औषधिको आविष्कार नै नभएको अवस्थामा रोग लाग्नेबित्तिकै मर्नुपर्ने हो नि तर त्यसो हुँदैनथ्यो किनकि सबै मानिसको शारीरिक संरचना र रोग प्रतिरोधात्मक क्षमता एकै खालको हुँदैन ।
वास्तविकता के हो ?
मानौँ किला ठोक्नु छ भने हामीलाई हथौडाको आवश्यकता हुन्छ तर हथौडा भएन भने अरू इँटा वा ढुङ्गाजस्ता कुनै अर्कै ज्यावलको प्रयोग गरेर काम चलाउछौँ । यहाँ हथौडा भयो भने काम गर्न सजिलो हुन्छ तर ढुङ्गाले पनि जसोतसो काम हुन्छ । हो, यहाँ कोरोनाको भ्याक्सीन पनि त्यही हथौडाजस्तै हो । भ्याक्सिन भयो भने कोरोना सङ्क्रमण नियन्त्रण हुने निश्चित छ तर भएन भने माथि उल्लेखित औषधि भनेका किला ठोक्न ढुङ्गाको प्रयोग गरेजस्तै हो, जुन काम चलाउमात्र हुन्छ ।
अमेरिकामा सुरुआती चरणमा थुप्रै मानिस भेन्टिलेटरको अभावले समेत मर्नुप¥यो । स्मरणीय कुरा त्यतिबेला चीनले न्युयोर्क सहरको निम्ति १ हजार भेन्टिलेटर सहयोग गरेको थियो । पछि अमेरिकाको कार निर्माण कम्पनी ‘जेनरल मोटरस’ ले कार उत्पादन रोकेर भेन्टिलेटर उत्पादन गरेको थियो । यहाँ भेन्टिलेरमात्र पर्याप्त भयो भने पनि मृत्युदर कम हुने देखियो । साधारण रूघाखोकीको लागि त भेन्टिलेटर चाहिँदैन । कति स्वास्थ्यकर्मीहरूको कोरोना सङ्क्रमणबाट मृत्यु भयो । के साधारण रूघाखोकीका बिरामीबाट रोग सरेर डाक्टर नर्स मरेका छन् त ? त्यसैले कोरोना रोगलाई साधारण रूघाखोकीमात्र भनेर सर्वसाधारण जनतालाई रोगप्रति हेलचेक्र्याइँ गर्न लगाउनु सामाजिक अपराध नै हो ।
अहिलेसम्मको तथ्य तथ्याङ्कअनुसार कोरोना भनेको लाइटरको झिल्काजस्तो रहेछ । ग्यास नभएको लाइटरको झिल्काले केही गर्दैन तर ग्यास भरिएको छ भने त्यही झिल्काले आगो बाल्छ । यदि कुनै पनि रोग नभएको स्वस्थ व्यक्ति हुनुहुन्छ भने कोरोनाबाट खासै चिन्ता लिनु पर्दैन तर जटिल खालको रोग पहिलेदेखि नै पालेर बस्नुभएको छ भने कोरोनाले आगो बाल्न सक्नेरहेछ । त्यसैले स्वस्थ मानिसले चिन्ता लिनुपर्दैन तर घरमा दीर्घरोगी अभिभावक हुनुहुन्छ भने स्वस्थ व्यक्ति पनि सतर्क हुनुपर्छ किनकि तपार्इँमा भएको कोरोना तपाईँको अभिभावकमा सर्ने सम्भावना हुन्छ । त्यसैले कोरानाको त्रासमा नरही संयमित भएर जीवन जिऔँ र बिर्सेर पनि हेलचेक्र्याइँ नगरौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *