भर्खरै :

औषधि व्यवस्था लिमिटेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्दो

काठमाडौँ, १४ असोज (रासस) । औषधि व्यवस्था लिमिटेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकोमा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो । विभागका निमित्त महानिर्देशक विजयश्री रत्न बज्राचार्यले अहिले दैनिक झन्डै रु. तीन लाख हाराहारीको स्यानिटाइजर बिक्री भइरहेको जानकारी दिनुभयो ।
लिमिटेडले एलोपेथिक औषधि उत्पादन गर्दै आएको छ । मुख्यगरी सिटामोल, सिटाप्लस, दुई प्रकारको जीवनजल, स्यानिटाइजर, ग्लिसिरिन, डिस्टिल्ड वाटर यहाँ उत्पादन हुन्छ । स्यानिटाइजर भने गत चैतबाट बजारको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन सुरु गरिएको बज्राचार्यले जानकारी दिनुभयो । चैतमा स्यानिटाइजर र मास्कको हाहाकार थियो । सरकारले कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि चैत ११ बाट बन्दाबन्दीको आदेश जारी गरेको थियो ।
“हामीले बन्दाबन्दी हुनुभन्दा केहीअघि नै बजारको आवश्यकतालाई ध्यान दिएर उत्पादन थालेका थियौँ, अहिले दैनिक २० हजार लिटरसम्म उत्पादन गर्नसक्छौँ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार अहिले ६०, १००, २०० एमएल र आधा लिटरको बोतलमा स्यानिटाइजर उत्पादन हुँदै आएको छ । यसको औषधि व्यवस्था विभागले तोकेको बजार मूल्य ६० एमएलको रु. ७८, १०० एमएलको रु. १२५, २०० एमएलको रु. २५० र आधा लिटरको रु. ४५० रहेको छ । मागअनुसार पाँच लिटरको पनि बिक्री हुँदै आएको छ । त्यसको भने रु. तीन हजार मूल्य तोकिएको छ । बजारमा पाइने कतिपय स्यानिटाइजरको अल्कोहल ७० प्रतिशतको हाराहारीमा हुने भए पनि यहाँ भने ८० प्रतिशत नै राख्ने गरिएकोले केही उडेर गए पनि किटाणु मार्न पर्याप्त हुने जनाइएको छ । मापदण्डअनुसार ७० देखि ८० प्रतिशत अल्कोहल हुनुपर्ने हुन्छ ।
सुरुमा १००, २०० एमएलको माग बढी भए पनि अहिले भने पाँच लिटरको माग बढिरहेको र सोहीअनुसार उत्पादन भइरहेको उहाँले बताउनुभयो । “अहिले बन्दाबन्दी र निषेधाज्ञा खुलेपछि अझै माग बढ्दो छ, हामीले अहिलेसम्म माग धानिरहेका छौँ”, बज्राचार्यले भन्नुभयो । उहाँका अनुसार एक दिनमा २० हजार लिटरसम्म बिक्री भएको छ ।
कोभिड–१९ को महामारी सुरु भएपछि सुरुमा घरेलु उद्योगका स्यानिटाइजर आउन थालेको थियो । त्यसमा झन्डै ६५ प्रतिशतमात्रै अल्कोहल रहेकोले किटाणु मार्न पर्याप्त थिएन । त्यसैले औषधि व्यवस्था लिमिटेडले अनुमति प्राप्त गर्नुअघि नै उत्पादनको प्रक्रिया थालेको थियो । औषधि व्यवस्था विभागले अनुमति लिनका लागि सूचना जारी गर्नेबित्तिकै कागजात बुझाइ लाइसेन्स लिएर तत्कालै काम थालेको हो ।
विभागले पछिल्लोपटक गरेको अनुगमनमा काठमाडौँ र भक्तपुरका विभिन्न कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मापदण्डविपरीत विषाक्त रसायन (मिथानोल) पाइएको समाचार सार्वजनिक भएपछि माग अझै बढेको औषधि व्यवस्था लिमिटेडले जनाएको छ । उक्त स्यानिटाइजरको प्रयोगले मानव स्वास्थ्यमा असर गर्नसक्ने भन्दै औषधि व्यवस्था विभागले प्रयोग नगर्न सर्वसाधारणसँग अपिल गरिसकेको छ ।
काठमाडौँको हाइजनिक सोप एन्ड केमिकल प्रालिद्वारा उत्पादित इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एन्ड फुड इन्डष्ट्री प्रालिको एड्भान्स ह्याण्ड स्यानिटाइजर, सर्च केमकम हर्वल प्रोडक्टको इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसमेन्ट जेल, सूर्यमुखी हर्वल प्रोडक्ट कम्पनीद्वारा उत्पादित सूर्यमुखी ह्याण्ड स्यानिटाइजरलगायतमा मापदण्डविपरीत विषाक्त रसायन भेटिएको हो ।
यस्तै भक्तपुरको नेपाल कायाकल्प उद्योगद्वारा उत्पादित इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजरमा समेत विषाक्त रसायन (मिथानोल) भेटिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो । पछि अन्य केही कम्पनीले उत्पादन गरेको स्यानिटाइजरसमेत कैफियत भएको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *