भर्खरै :

नोट वा सिक्कामा भाइरस कति समय बाँच्न सक्छ, कसरी जोगिने ?

  • आश्विन १५, २०७७
  • गनी अन्सारी
  • समाचार

काठमाडौँ, असोज १४ (बीबीसी न्यूज नेपाली) । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या थपिँदै गर्दा केही व्यक्तिहरूले आफ्नो सुरक्षाका लागि विभिन्न उपाय अवलम्बन गरेको भए पनि पैसाबाट भाइरस सरेको दाबी गरेका छन् । के तपाईँ हामीले चलाउने नोट र सिक्काबाट पनि कोरोना भाइरस सर्छ त ?
विज्ञहरूले दैनिक प्रयोगमा आउने वस्तुको माध्यमबाट पनि कोरोना भाइरस सर्न सक्ने भन्दै जनस्वास्थ्यसम्बन्धी पर्याप्त सावधानी अपनाउन सुझाव दिँदै आएका छन् ।
श्वास प्रश्वाससम्बन्धी अन्य रोगमा जस्तै कोभिड–१९ मा पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्किने साना बिन्दुबाट सर्न सक्ने उनीहरूको भनाइ छ ।
ती बिन्दुहरू अन्य मानिस अथवा लुगा वा वरपरका सतहमा अड्किन र केही साना कण हावामै तैरिन पनि सक्छन् ।
त्यसबाहेक सङ्क्रमित व्यक्तिले प्रयोग गरेका कतिपय सामान निश्चित समयभित्र चलाउँदा पनि सङ्क्रमण सर्न सक्ने चिकित्सकहरूको भनाइ छ ।
शरीर बाहिर कोरोना भाइरस कति समय जीवित रहन्छ ?
तीमध्ये हाम्रो दैनिक प्रयोगमा आउने कागजको नोट अथवा सिक्का अपवाद हुन नसक्ने उनीहरूको ठम्याइ छ ।
हुन त कागजको नोट अथवा सिक्कामा कोरोना भाइरस कति समयसम्म जीवित रहन सक्छ भन्नेबारे नेपालमा छुट्टै अध्ययन भएको छैन ।
तर अन्तर्राष्ट्रिय स्तरमा गरिएका अध्ययनबाट कागजको नोट र सिक्कालगायतका वस्तुमा कोरोना भाइरसको ‘जीवनकाल’ बारे धेरै कुरा स्पष्ट भइसकेको जनस्वास्थ्यविद्हरू बताउँछन् ।
भाइरोलजिस्ट डा. लुना भट्ट शर्माका अनुसार कागजको नोटमा चार दिनसम्म र सिक्का अथवा धातुमा सात दिनसम्म कोरोना भाइरस बाँच्न सक्ने देखिएको छ ।
केही महिनाअघि प्रतिष्ठित जर्नल ल्यान्सिटमा पनि विभिन्न वस्तुमा कोरोना भाइरस जीवित रहन सक्ने समयबारे अनुसन्धानको नतिजा प्रकाशित भएको थियो ।
यद्यपि ती वस्तुमा कोरोना भाइरसको जीवनकाल तापक्रम र आद्रताजस्ता विभिन्न कुरामा निर्भर हुने उल्लेख गरिएको छ ।
नेपालमा नोट र सिक्काले भाइरस बोक्न सक्ने विषयमा अध्ययन नभए पनि ब्याक्टेरिया र ढुसी सार्न सक्ने विषयमा अध्ययन भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानकी वरिष्ठ वैज्ञानिक टिष्टा प्रसाईँले सन् २००८ मा पोलिमर नोट र सिक्कामा ब्याक्टेरिया हुनसक्ने वा नसक्नेबारे अध्ययन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *