भर्खरै :

वर्गीय समाजमा सिद्धान्त र विचार पनि वर्गीय हुन्छ

वर्गीय समाजमा दर्शन, सिद्धान्त र विचार पनि वर्गीय हुन्छ । द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको मुक्ति हुने दर्शन, सिद्धान्त र विचार हो । द्वन्द्ववाद कुनै वस्तुको अस्तित्व त्यसमा निहित नयाँ र पुरानो दुई विरोधी पक्षबीचको लडाइँमा आधारित हुन्छ । ती वस्तुमा रहेको लडाइँ या गति वा अन्तरविरोधको अध्ययन गर्ने पद्धति नै द्वन्द्ववाद हो । संसार पदार्थबाट बनेको हो भन्ने मान्यता वैज्ञानिक हो । पदार्थ वा प्रकृति नै पहिलो हो, ईश्वरबाट संसार बनेको होइन या कुनै परमात्माबाट संसार बनेको होइन भन्ने मान्यता नै भौतिकवाद हो । द्वन्द्ववादको वर्णन हेगेलले र भौतिकवादको व्याख्या फायरबाखले गरे पनि संसार बदल्ने कुरा उनीहरूले गरेनन् । उनीहरूको कमजोरी औँल्याई आमूल परिवर्तन गर्नसक्छ भन्ने विज्ञानसम्मत कुरा माक्र्सले प्रमाणित गरे । माक्र्सले भौतिकवादलाई परिवर्तनको पद्धति वा द्वन्द्ववादसँग मिलाउने काम गरे, यी काममा एँगेल्सको पनि महत्वपूर्ण योगदान रह्यो । यसरी संसारमा द्वन्द्वात्मक भौतिकवादी दर्शन प्रारम्भ भयो र संसारभर फैलियो ।
द्वन्द्वात्मक भौतिकवाद प्रकृति, मानव समाज एवं वस्तुमा विद्यमान गति र चिन्तनको आम नियमको अध्ययन गर्ने दृष्टिकोण हो । त्यही दृष्टिकोण र विचारको आधारमा आमूल परिवर्तन गर्न प्रेरित गर्ने सर्वहारा वर्गको दृष्टिकोण नै द्वन्द्वात्मक भौतिकवाद हो । यो सिद्धान्त, दर्शन र विचारमा मात्र आधारित छैन । द्वन्द्वात्मक भौतिकवादले पदार्थलाई जड होइन गतिशील मान्छ । यसले कुनै अलौकिक शक्तिलाई विश्वास गर्दैन । हरेक वस्तु र प्रक्रियामा सकारात्मक, नकारात्मक, विकासशील र बिनासशील, सत्य र असत्यजस्ता परस्परविरोधी पक्ष हुन्छ । तिनीहरूबीच एक आपसमा सम्बन्ध हुन्छ तर द्वन्द्व पनि हुन्छ । द्वन्द्वात्मक भौतिकवादले कुनै वस्तुलाई स्थायी मान्दैन । यसले कुनै वस्तुको विकासमा गुणात्मक परिवर्तन ल्याउँछ । विरोधीहरूबीचको एकता र सङ्घर्ष, मात्राको गुणमा परिवर्तन र निषेधको निषेध द्वन्द्वात्मक भौतिकवादका नियम हुन् ।
यस मान्यताअनुसार हरेक वस्तुमा दुई अन्तरविरोधका पक्ष हुन्छन् । ती एक आपसमा सङ्घर्ष गर्छन्, आफ्नो अस्तित्वको लागि एक अर्कासित सम्बन्ध पनि रहेको हुन्छ । ती कुनै खास स्थितिमा बदलिन्छन् । पुँजीपति र मजदुरबीच अन्तरविरोध हुन्छ । यी दुवै वर्गको आ–आफ्नो स्वार्थ हुन्छ । तिनीहरूबीच आन्तरिक सम्बन्ध हुन्छ, एकता पनि हुन्छ तर द्वन्द्व पनि हुन्छ । पुँजीपति वर्गको लागि सामान उत्पादन गर्न श्रमशक्ति चाहिन्छ, त्यो श्रम मजदुरबाट प्राप्त हुन्छ । मजदुरले ज्यालाको निम्ति श्रम बेचेको हुन्छ । यो दुई पक्षबीचको एकता हो । तर, उनीहरूबीच सङ्घर्ष पनि हुन्छ । कुनै सामान उत्पादन भनेको नाफाको लागि हो, नाफा पाउन नै पुँजीपति वर्गले सामान उत्पादन गर्छ । नाफाको लागि पुँजीपति वर्गले मजदुर घटाउँछ या बढी काम गराएर कम ज्याला दिन्छ । यो कुरा मजदुरलाई मान्य हुँदैन । यसरी पुँजीपति र मजदुर वर्गबीच सङ्घर्ष हुन्छ । यसकारण वस्तु, प्रकृति र सामाजिक जीवनका हरेक क्षेत्रमा विरोधीहरूबीच एकता र सङ्घर्ष दुवै हुन्छ ।
विरोधी पक्षबीचको एकता र सङ्घर्ष अलग अलग हुँदैन । कहिले एकता र कहिले सङ्घर्ष नभई एकै साथ या सँगसँगै हुन्छन् । आखिरमा यस्तो सङ्घर्षमा पुरानो पक्षमाथि नयाँको, खराब पक्षमाथि असलको र विनासशील पक्षमाथि विकासशील पक्षको विजय हुन्छ । दुई पक्षको सङ्घर्ष हुँदा कुनै एक पक्षको विजय हुन्छ वा नयाँ तत्वको विकास हुन्छ । त्यसैलाई परिवर्तन भनिन्छ । परिवर्तन मात्रात्मक र गुणात्मक हुन्छ । पहिलेको वस्तुमा गुणात्मकरूपले परिवर्तन हुन्छ । एउटा वस्तु हराई अर्को वस्तुमा आएको गुणात्मक परिवर्तन नै निषेधको निषेध हो । यसरी सृष्टिको हरेक प्रक्रिया निषेधको निषेधमा आधारित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *