भर्खरै :

ट्रम्प र बाइडेनको पहिलो प्रत्यक्ष बहस: कोरोना, अर्थतन्त्र र अदालतमा केन्द्रित

क्लिभल्याण्ड, १४ असोज । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ ।
बहसमा राष्ट्रपतिका उम्मेदवारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी तथा पूर्वउपराष्ट्रपति जोन बाइडेनको बीचमा आरोप प्रत्यारोप भएको थियो ।
ट्रम्पको प्रस्तुति राम्रो नभएको र फितलो भएको धेरैले टिप्पणी गरेका छन् भने बाइडेनको प्रस्तुति भद्र र सकारात्मक भएको कतिपयको भनाइ छ ।
बहस विशेष गरेर कोरोना भाइरस, देशको अर्थतन्त्र, रोजगारी, सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति, अन्तर्राष्ट्रिय राजनीतिलगायतका विषयमा केन्द्रित भएको थियो ।
बसहलाई १५÷१५ मिनेटको ६ भागमा प्रस्तुत गरिएको थियो भने विषयवस्तु पनि त्यहीअनुसार उत्थान गरिएको थियो ।
राष्ट्रपति ट्रम्पले कर छलेको सम्बन्धी समाचार सार्वजनिक भएको र बाइडनले आफ्नो कर विवरण सार्वजनिक गरेकै बेला बहस भएको हो । पहिलेदेखि नै मुलुकका अत्यन्त धनी व्यवसायीमा गनिनुहुने ट्रम्पले सन् २०१६ मा ७५० डलरमात्र आयकर तिरेको समाचारमा उल्लेख गरिएको छ । तर बहसको क्रममा राष्ट्रपति ट्रम्पले आफूले करोडौँ डलर कर तिरेको दाबी गर्नुभएको थियो ।
उहाँको बारेमा नकारात्मक सूचना प्रवाह भइरहेको बेला भएको कार्यक्रममा ट्रम्प दबाबमा देखिनु भएको थियो । उहाँलाई कर छलिसँगै कोरोना भाइरसबाट उत्पन्न महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको बारेमा उठाइएको प्रश्नमा उहाँले बढी दबाब महसुस गर्नुभएको देखिएको थियो ।
उहाँले आफूलाई केही गर्न नसकेको र असफल राष्ट्रपतिको आरोप लागिरहेको बेला बाइडेनले पनि लामो समय विभिन्न जिम्मेवारी पाएर पनि केही गर्न नसकेको जवाफ दिनुभएको थियो ।
बहसको क्रममा ट्रम्पले आफ्नो ठाउँमा अहिले बाइडेन भएको भए अमेरिकामा अझ धेरै मानिसको मृत्यु भएको हुने दाबी गर्नुभयो । बाइडेनले भने कोरोना भाइरसको महामारी नियन्त्रण गर्न ट्रम्पले कुनै योगदान गर्न नसकेको र अर्थतन्त्र सुधार तथा बचाउका लागि कुनै योजना नरहेको आरोप लगाउनुभयो ।
उहाँले साना–ठूला कुनै पनि व्यवसायीहरूलाई राज्यले केही नगरेको र राज्य मूकदर्शक भएको टिप्पणी गर्नुभयो । ट्रम्पले मास्कको प्रयोगको विषयलाई पनि गलतरूपले प्रस्तुत गरेको बाइडेनले आरोप लगाउनुभएको थियो ।
बसहमा बाइडेनले निकै कम मात्रै बोल्नुभएको थियो भने धेरै समय ट्रम्पले लिनुभएको थियो । बाइडेनले बोलिरहेको बेलामा ट्रम्पले पटक–पटक हस्तक्षेप गर्दै जवाफ दिने वा खण्डन गर्ने गर्नु भएको थियो ।
राष्ट्रपति ट्रम्पले अमेरिकाले कोरोनाबाट मृत्यु भएकाहरूको तथ्याङ्क यथार्थ सार्वजनिक गरेको र भारत, रूस, चीनलगायतका देशहरूले घटाएरमात्रै विवरणहरू सार्वजनिक गरेको दाबी गर्नुभयो ।
अमेरिकाले मास्क, पीपीई किटलगायतका सामग्रीका साथमा कोरोना भाइरसविरूद्ध लडिरहेको बताउदै उहाँले केही समयमा खोप पनि वितरण गरिने बताउनुभयो ।
ट्रम्पका कतिपय दाबीहरूलाई बाइडेनले हाँसेर हल्का बनाइदिने गर्नुभएको थियो । बहसमा ट्रम्प तनावमा जस्तो र बाइडेन सहजजस्तो देखिनुभएको थियो ।
कोरोना भाइरसको त्रासका कारण बहस प्रसारण गरिएको स्टुडियोमा यस पटक निकै थोरै मानिसहरूमात्र सहभागी गराइएको थियो । बहस सुरू गर्नुअघि हात मिलाउने प्रचलन भए पनि यसपटक भने कोरोना भाइरसकै कारणले दुई प्रतिस्पर्धीले हात पनि मिलाउनुभएको थिएन ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सँगै राखेर प्रत्यक्ष बहस गराउने प्रचलन लामो समयदेखि चल्दै आएको छ ।
टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई महत्वका साथ लिइन्छ भने यहाँको प्रस्तुतिकै आधारमा मतदाताले छनोटको मानसिकता बनाउने गरेको विश्वास गरिन्छ । बहस लाखौँ मानिसले हेरेको बताइएको छ । बहसको अरू चरण पनि हुनेछ ।(रासस\एपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *