भर्खरै :

कोरोना सङ्कटमा शिक्षकहरूको दायित्व

  • आश्विन १५, २०७७
  • सुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका
  • विचार विशेष

अत्यन्त प्रतिकूलताबीच हामीले शिक्षक भेला गरिरहेका छौँ । जस्तोसुकै प्रतिकूलतालाई पनि अनुकूलतामा ढाल्ने प्रयत्न गर्नुपर्छ । हाम्रो त्यही कोसिसको परिणाम ख्वप मावि र कलेजहरूमा प्रायः सबैजसो कक्षा नियमितरूपमा चलिरहेका छन् । हाम्रा विद्यार्थीले कोभिड – १९ को यो विषम परिस्थितिमा घर – घरमै बसेर पनि शिक्षा हासिल गरिरहेका छन् । प्रविधिको विकासले विद्यार्थीको भौतिक उपस्थितिविना नै सहज कक्षा सञ्चालन सम्भव भएको छ ।
तर, देशभरका लाखौँ विद्यार्थीले राम्रो पढ्न पाइरहेका छैनन् । कोरोनाको कारण बन्द विद्यालयहरू खुल्ने अवस्था छैन । सरकारले वैकल्पिक उपाय पनि दिनसकेको छैन । अनलाइन कक्षा सञ्चालन गर्न भनिएको छ । कति प्रतिशतसँग इन्टरनेट, ल्यापटप र कम्प्युटर उपलब्ध छ ? सरकारले यकिन तथ्याङ्क सार्वजनिक गर्न सकेको अवस्था छैन । एक सर्भेक्षणले ७२ प्रतिशतमा इन्टरनेट छ, जसमध्ये ५२ प्रतिशतमा मोबाइलमा मात्र सेवा उपलब्ध हुन्छ भनी देखाएको छ । भौगोलिक हिसाबले अत्यन्त विकट कयौँ ठाउँहरू छन् जहाँ फोन उठाउनमात्र पनि डाँडामा जानुपर्छ । त्यस्ता ठाउँका विद्यार्थीले अनलाइन कक्षाबाट कसरी सिक्छन् ? यसबारे सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने हो ।
नगरपालिकाद्वारा सञ्चालित ७ वटै कलेजहरूमा अनलाइनमार्फत राम्रो कक्षा सञ्चालन भइरहेको छ । परीक्षा पनि राम्रोसँग सम्पन्न भएको छ । तर, उच्च शिक्षामात्र होइन नगरभित्र ९२ वटा विद्यालयहरूमा बीसौँ हजार विद्यार्थी अध्ययनरत छन् । ती विद्यालयहरूमा पनि आ—आफ्नो तरिकाले अनलाइन कक्षा सञ्चालन भइरहेका छन् तर धेरै विद्यालयमा प्रभावकारी हुन सकेन । यसको प्रमुख कारण भक्तपुरबाहिरका धेरै विद्यार्थी आएर पढ्नु र ती विद्यार्थीसँग इन्टरनेटको पहुँच नपुग्नुु हो ।
गरिब अभिभावकका लागि अनलाइन कक्षा अति महँगो भएको छ । आफ्ना सन्तानलाई पढाइको लागि मोबाइल वा ल्यापटप किन्दा, नेटको लागि डाटा खरिद गर्दा ३०÷४० हजार रूपैयाँ एकैपटक लगानी गर्नुपर्ने अवस्था छ । त्यसैले गरिब विद्यार्थी धेरैले पढाइ छोड्ने पनि सम्भावना छ ।
यो हाम्रो मात्रै समस्या होइन । विश्वका धेरै देश कोरोनाको कारण विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ अगाडि बढाउन नसक्ने स्थितिमा पुगेका छन् । केन्याले सन् २०२० भरि नै विद्यालय बन्द गर्ने घोषणा ग¥यो भने फिलिपिन्सले कोरोनाको औषधि पत्ता नलागेसम्म विद्यार्थीलाई विद्यालय नपठाउन सूचना ग¥यो ।
आज विश्वभर ४६ करोड विद्यार्थी इन्टरनेटको पहुँचबाहिर रहेको सर्वेक्षणले देखाएको छ भने त्यसमध्ये अधिकांश विद्यार्थी नेपालजस्तो विकासोन्मुख देशका पर्छन् । विद्यालय बन्द भएको कारण अभिभावकको दबाबमा झन्डै १ करोड विद्यार्थीले पढाइ छोड्ने अनुमान गरिएको छ । यसो भनेर हामीले कोभिडलाई ख्यालठट्टाको विषय पनि बनाउनु हुँदैन । व्यक्तिगत सुरक्षा विधि अपनाएर विद्यार्थीको पढाइ निरन्तर जारी राख्नुपर्छ ।
देशभर यस्तो सङ्कट परिरहँदा पनि सङ्घमा बसेर शासन चलाइरहेकाहरू कानुनबमोजिम स्थानीय तहलाई दिनुपर्ने अधिकार छोड्न तयार छैनन् । संविधानबमोजिम कक्षा १२ सम्मको सम्पूर्ण अधिकार स्थानीय तहकै हो । तर, सङ्घ सरकारले विभिन्न बहानाबाजी गर्दै कक्षा ९ देखि माथि आफ्नो अधिकारको दाबी गर्दै निर्देशिका बनाई लागु गर्दै आएको छ । यो सरासर संविधानविपरीत कार्य हो । यसको हामीले निरन्तर विरोध गर्दै आएका छौँ । संविधान र कानुनलाई मन्त्रालयले जारी गरेको निर्देशिकाले खारेज गर्नसक्दैन । मन्त्रालय चलाएर बस्ने पदाधिकारीहरूलाई यसबारे जानकारी हुनुपर्छ ।
सुरुमै संविधानबमोजिमको अभ्यास स्थानीय तहलाई गराएको भए अहिलेजस्तो शैक्षिक क्षेत्र अनिर्णयको बन्दी बनिरहनुपर्ने थिएन । तर, आश्चर्यको कुरा, ६ महिनासम्म सङ्घ सरकारले केही गर्नसकेन, पूरै असफल भयो भनी व्यापक आलोचना भएपछि आफ्नो कमजोरी लुकाउन अहिले छुट्टै निर्देशिका जारी गर्दै मावि तहसम्मको जिम्मा स्थानीय तहलाई दिएको छ ।
सारा जनप्रतिनिधिहरू कोरोना रोकथाम र नियन्त्रणको लागि सक्रिय भएर लाग्नुपर्ने बेला सबै स्थानीय तहलाई शिक्षाको जिम्मेवारी दिइएको छ । कति सफल हुन्छ वा हुँदैन त्यो हेर्न बाँकी नै छ । तर, ढिलै भए पनि यसलाई सकारात्मकरूपमा लिइएको छ ।
अझै सीटीईभीटीमा काम गर्ने पदाधिकारीहरूमा केन्द्रीकृत सोच हटेको छैन । यही असोज १ गते सीटीईभीटीअन्तर्गतका विद्यालयहरूमा विभिन्न विषयमा विद्यार्थी भर्ना लिने सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित भयो । तर, ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम सूचीमा थिएन । हामीले संविधान, कानुनअन्तर्गत रहेर कुरा गर्दा पनि खोल्ने पक्षमा थिएनन् । हरेक वर्ष ४० जना विद्यार्थीमध्ये ४ जना सीटीईभीटीले पठाएका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने त्यहाँका पदाधिकारीहरूको माग थियो । हामीले सरकारले तोकेबमोजिम छात्रवृत्ति दिंदै आएको कुरा ग¥यौँ तर ती पदाधिकारीहरू मानेनन् । हामीले ‘मजदुर’ दैनिक पत्रिकामा भर्नाबारे सूचना जारी गरायौँ । त्यसपछि मात्रै भर्ना खुलेको सूचना जारी ग¥यो । अहिले भर्नाको क्रम चलिरहेको छ ।
यो वर्षमात्रै होइन, हरेक वर्ष एउटा न एउटा विषयमा यस्ता अप्ठेराहरू आई नै रहेका छन् । तर, यहाँका शिक्षकहरूको काम गर्ने शैली, विद्यार्थीको मेहनत र परीक्षामा उत्कृष्ट नतिजाका कारण सीटीईभीटीका पदाधिकारीहरूले भन्ने कुनै ठाउँ पाएनन् र बाध्य भएर हालसम्म हाम्रो निर्णयमा सहमति जनाइरहेका छन् ।
नगरपालिकाद्वारा सञ्चालित ७ वटा शैक्षिक संस्थाहरूमा झन्डै ६ हजार विद्यार्थी पढ्छन् । सस्तो र गुणस्तरीय शिक्षा दिन ती सबै कलेज सफल हुँदै आएका छन् । ख्वप मावि÷ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजहरू देशकै उत्कृष्ट कलेजहरूमा गनिएका छन् । यसको निरन्तरताको आशा गर्छौँ ।
नगरपालिकाले नाफाको लागि कलेजहरू खोलेको होइन । शिक्षाबाट जति आम्दानी हुन्छ, शिक्षाको प्रगतिमै लगानी गर्दै छौँ । आयको निश्चित भाग कलेजका पूर्वाधार निर्माणमा खर्च गर्दै आएका छौँ । सुरुमा सबै कलेजहरूलाई नगरपालिकाले पूर्वाधारहरू निर्माण गरिदिएको थियो । अहिले कलेजहरू आफ्ना लागि आफैले आम्दानी गर्न सक्षम भएका छन् । यो हामी सबैको लागि खुसीको कुरा हो । यहाँका सबै सम्पत्ति जनताको साझा सम्पत्ति हो । यसको संरक्षण तपाईँ हामी मिलेर गर्नुपर्छ । यो वर्ष पनि कलेज भवन निर्माण गर्दै छौँ । देको मिवा इतापाके आवास योजनाबाट करिब ४ रोपनी जग्गा प्राप्त गर्ने तयारी पनि गर्दै छौँ । सङ्कटले नयाँ अवसर पनि प्रदान गर्ने हो । हामीले कोभिडको यो परिस्थितिलाई पनि राम्रो अवसरको रूपमा रूपान्तरण गर्नु आवश्यक छ ।
विद्यार्थीको भविष्य शिक्षकहरूको हातमा हुन्छ । हजारौँ विद्यार्थीको भाग्य निर्माणका जिम्मेवारी पाएका शिक्षकलाई २–४ दिन बन्द हडतालले विद्यार्थीको जीवनमा कतिको असर पार्छ भन्ने राम्रो जानकारी छ । त्यसैले अहिले ६ महिनासम्म बन्द हुँदा कतिको क्षति पुग्यो भन्नेबारे चिन्तन मनन गर्नु आवश्यक छ । हाम्रो कारण विद्यार्थीको पढाइमा कुनै समस्या नहोस् ¤ नगरपालिकाको चाहना यति मात्रै हो ।
विद्यार्थीलाई कक्षामा राखेर पढाउन सक्ने अवस्था छैन । यो अवस्था कतिसम्म रहन्छ, त्यो अनिश्चित छ । यसर्थ, नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरूलाई छुट्टाछुट्टै बोलाई छलफल गरिरहेको छ । छिट्टै नै एउटा निष्कर्ष निकालिनेछ ।
अहिले सिङ्गो देश सङ्कटमा परेको बेला शिक्षक साथीहरूले अरू सामान्य अवस्थामा भन्दा बढी मेहनत गर्नुपर्ने हुन्छ । सङ्कटको बेला जनप्रतिनिधि, शिक्षक, कर्मचारी सबैको परीक्षण हुन्छ । यस्तो अवस्थामा सरल र सहज तरिकाबाट काम गर्ने शैलीको विकास गर्नेतर्फ ध्यान दिनुपर्छ । समस्याबाट भागेर होइन, मौलिक शैलीबाट काम गर्ने सीपको विकास गर्नु आवश्यक छ । शिक्षकहरूले नयाँ प्रविधिको प्रयोगसँगै आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने आशा गर्दछौँ ।
कोरोना महामारीको यो बेला नगरपालिकाले जनतालाई सुरक्षित राख्न निरन्तर प्रयास जारी राखेको छ । आजैबाट ७५ शøयाको आइसोलेसन केन्द्र सञ्चालनमा आउदै छ । नगरपालिकाको आह्वानलाई स्वीकार गरेर कोरोना रोकथामको लागि प्रकोप व्यवस्थापन कोषमा यस कलेज र माविका शिक्षक कर्मचारीहरूले रु. ७ लाख ५० हजार रूपैयाँ जम्मा गर्नुभएकोमा नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *