भर्खरै :

आफूले खनेको खाल्डोमा ट्रम्प

काठमाडौँ, १७ असोज । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नी श्रीमतीसहित कोभिड–१९ सङ्क्रमित भएका छन् । आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालको लागि उम्मेदवार बनेका ट्रम्पमा चुनावी अभियानमा व्यस्त रहेको अवस्थामा सङ्क्रमण पुष्टि भएको हो । ट्रम्पले आफूलाई कोभिड–१९ सङ्क्रमण भएको ट्वीटमार्फत सार्वजनिक गरेलगत्तै यो समाचार संसारका अधिकांश सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित गरे । संरा अमेरिकी राष्ट्रपतिलाई कोभिड–१९ सङ्क्रमण हुनु समाचारको मसला बन्नु आश्चर्यको विषय होइन । ट्रम्प अमेरिकी राष्ट्रपति भएकाले मात्र यो समाचारले प्राथमिकता पाएको भने पक्कै होइन । यसको एउटा महत्वपूर्ण कारण भनेको यसअघि उनले कोभिड–१९ बारे लगातार बोलेका अभिव्यक्तिहरू पनि हुन् ।
कोभिड–१९ संसारभर फैलिरहेको बेला सङ्क्रमणको समाचार जतिकै चर्चामा रह्यो–ट्रम्पले सो भाइरसबारे दिएका विभिन्न भनाइहरू । कोभिड–१९ भाइरसलाई सुरुमा ‘चाइना भाइरस’ भनी यसलाई राजनीतिक विद्वेष र घृणाको हतियार बनाएका थिए–ट्रम्पले । चीनको उहानमा फैलिएकै अवस्थामा यसको रोकथाम र नियन्त्रणको निम्ति अन्तर्राष्ट्रिय ऐक्यबद्धताको खाँचो थियो । संसारका सबै देशले यो भाइरस संसारभर फैलिन नपाउँदै आपसमा सहयोग र सहकार्य गरेका भए यो भाइरसले संसारमा आजको जस्तो क्षति पु¥याउन सक्दैनथ्यो । त्यत्तिबेला ट्रम्प कोभिड–१९ ले आफूलाई केही लछारपाटो लगाउन नसक्ने अनावश्यक आत्मविश्वासले फुलेका थिए ।
भाइरसले संरा अमेरिकाका विभिन्न सहरमा ठूलो क्षति पु¥याउन थाल्दा पनि ट्रम्प आफ्नो जण्ड स्वभावबाट टसको मस भएनन् । उनकै विशेषज्ञ चिकित्सकहरूले भाइरसको भयानक रूपबारे पटक –पटक सजग पार्दा पनि उनले आफ्नो घमण्ड त्यागेनन् । उनलाई मास्क लगाउन सुझाव दिँदा लगाउन मानेनन् । उल्टो उनले कोभिड–१९ सामान्य रुघाखोकी भएको भन्दै ‘चामत्कारिकरूपमा संसारबाट बिलाउने’ दाबी गरे । वैज्ञानिक अध्येताहरूले उनका यस्ता तर्कप्रति लगातार प्रश्न उठाइरहे । तर, आफै सर्वज्ञाता जस्तो गरी ट्रम्पले कोभिड–१९ लाई कदापि गम्भीरतापूर्वक लिएनन् । उनले कोभिड–१९ भाइरसलाई विपक्षी राजनीतिक खेमाले प्रचार गरेको हल्ला पनि भन्न भ्याए ।
भाइरसको खोपबारे पनि उनले विवादास्पद अभिव्यक्ति दिइरहे । उनले कोभिड–१९ को खोपलाई आफ्नो चुनावी मसला बनाए । उनले आगामी नोभेम्बरको निर्वाचनअघि नै अमेरिकी जनताले कोभिड–१९ को खोप पाउने फलाकिरहे । यति चाँडै खोप सम्भव नहुन सक्छ भनी विशेषज्ञहरूले वास्तविकता बोल्दा ट्रम्पले उनीहरूको खेदो खने ।
कुनै पनि मानिसबाट मानिसमा सर्ने रोग नियन्त्रणको सबभन्दा प्रभावकारी उपाय भनेको मानिसले आपसमा भौतिक दुरी कायम गर्नु हो । कोभिड–१९ निकै तीव्रगतिमा फैलिने भाइरस भएकोले यसको शृङ्खला रोक्ने सबभन्दा बलियो आधार भनेको मानिसले मानिसबीचको सम्पर्क टाढा राख्ने हो । संसारभरका वैज्ञानिकहरू कोभिड–१९ नियन्त्रणको निम्ति यो अचुक उपाय भएकोमा सहमत छन् । यसको निम्ति अधिकांश देशहरूले अत्यन्त प्रभावित क्षेत्रमा लकडाउनको घोषणा गरेर मानिसलाई घरमै बस्न भनियो । तर, ट्रम्प संरा अमेरिकाको केही प्रमुख सहरमा भाइरस फैलिसक्दा पनि यो नीतिमा जान तयार भएनन् । बरु लकडाउनको पक्षमा रहेका गर्भनरको विरोध गर्ने र आफ्ना समर्थकहरूलाई लकडाउन तोड्न उक्साइरहे । परिणामतः कोभिड–१९ को कारण आज संसारमा सबभन्दा बढी क्षति संरा अमेरिकाले भोग्नु परिरहेको छ ।
ट्रम्प सरकारका धेरै अधिकारीहरू कोभिड–१९ सङ्क्रमित बने । तर, ट्रम्पलाई यो महामारीप्रति गम्भीर बन्न आँखाअघिको अवस्था काफी भएन । बरु, जिद्दी ट्रम्पले कोभिड–१९ महामारी वास्तवमै गम्भीर विषय हो भनी लगातार बोल्दै आएको विश्व स्वास्थ्य सङ्गठनबाट नै हात झिकेर आफ्नो दायित्वबाट च्युत बन्यो । आज ट्रम्प आफै भाइरस सङ्क्रमित भएका छन् । चुनावअघि आफूलाई भाइरसले केही फरक नपार्ने घमण्ड गर्ने ट्रम्पलाई भाइरसले नै बिरामी पार्नु उनको राजनीतिक मुद्दाको पराजय पनि हो । आज ट्रम्प आफूले खनेको खाल्डोमा आफै खसेका छन् । मुलाले आफ्नो खाल्डो आफै खन्छ भनेजस्तै ट्रम्पले आफ्नो खाल्डो आफैले खनेका छन् । चुनाव हुन एक महिनाअघि ट्रम्पको यो अवस्था संसारको लागि हेर्नलायक बनेको छ । सङ्क्रमणले चुनावी परिणाममा के कस्तो प्रभाव पार्ने हो, त्यो निश्चय गरी भन्न सकिन्न । तर, ट्रम्पजस्ता शासकको अल्पज्ञताको कारण अमेरिकी जनताले मात्र होइन, संसारका जनताले दुःख भोग्नुपरेको वास्तविकता भने समयले कहिल्यै बिर्सन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *