भर्खरै :

यी हुन् कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेता

जोहन्सवर्ग (एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएसँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरूको सूचीमा परेका हुन् ।
यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरू पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । उनीहरूको छोटो चर्चा यहाँ गरिएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन
बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट सङ्क्रमित हुने विश्व नेताहरूमध्ये पहिलो हुन् । उनलाई गत अप्रिलमा सङ्क्रमित भएपछि आइसीयुमै राख्नुपरेको थियो । उनलाई अस्पतालमा भर्ना गरेर अक्सिजन दिनुपरेको थियो । तर भेन्टिलेटरको आवश्यकता भने परेको थिएन । उनले एकान्तवासमै बसेर केही सीमित व्यक्तिहरूसँग कुराकानी गर्दै आफ्नो कामहरू गरेका थिए ।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो । उनले सङ्क्रमित भएको बेला मलेरियाविरुद्धको औषधि प्रयोग गरेर कोरोना भाइरसका लागि मलेरियाविरुद्धको औषधिले काम गर्छ भन्ने सन्देश पनि दिए । त्यो अहिले पनि अप्रमाणित नै रहेको छ । उनले सामाजिक दुरी काम गर्ने, मास्कको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गरेका थिए । उनी लकडाउनविरोधी नेताका रूपमा चिनिन्छन् । उनको श्रीमती पनि सङ्क्रमित भएको थियो ।
होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज
होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जून महिनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । राष्ट्रपति हर्नान्डेजसँगै उनकी आफ्नी श्रीमती र दुई जना सहयोगीमा पनि सङ्क्रमण देखिएको थियो । तर, उनीमा लक्षण भने सामान्यमात्रै देखिएको थियो । उनले आफूमा सङ्क्रमण भए पनि आफ्नो काम भने विद्युतीय माध्यमबाट गरेका थिए ।
गुटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते
कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरूको सूचीमा गुटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि हुन् । उनलाई गत सेप्टेम्बरमा सङ्क्रमण पुष्टि भएको थियो । आफूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि टेलिभिजन सम्बोधनमार्फत उनले आफूलाई कुनै लक्षणहरू भने नदेखिएको उल्लेख गरे । उनले पनि आफू छुट्टै बस्ने र कार्यालयको काम गरिरहने बताए ।
बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज
बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोना भाइरसबाट सङ्क्रमित भए । । उनलाई गत जुलाईमा सङ्क्रमण भएको हो । सङ्क्रमित भएपछि उनी आइसोलेसनमा बसेका थिए । उनले त्यो बेलामा कुनै असजिलो महसुस गरेनन् । कोरोनाबाट सङ्क्रमित हुने उनी ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुन् । अनेजको कार्यालयका केही सदस्यहरूमा सङ्क्रमणको पुष्टि भएपछि उनको पनि परीक्षण गराउँदा सङ्क्रमण देखिएको हो । बोलिभियामा सरकारका चार जना शीर्ष अधिकारीहरूमा समेत कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर
गणतन्त्र मोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित भए । उनी आफ्नो चुनाव प्रचारप्रसार अभियानकै क्रममा सङ्क्रमित भई सङ्क्रमणमुक्त भएको समाचारमा जनाइएको छ । उनले आफ्नो निर्वाचन हुनुअगाडि नै हप्ता लामो आइसोलेसनमा बस्नुपरेको थियो ।
इरानका उपराष्ट्रपति र मन्त्रीहरू
कोरोना भाइरसको महामारीको मध्यपूर्वको केन्द्रबिन्दु बनेको इरानका पनि उपराष्ट्रपति र मन्त्रीहरू कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । देशका वरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरि र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसबाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरू पनि सङ्क्रमित भएका थिए ।
यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चाल्र्सलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरू पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरि दश लाख २८ हजार १९६ जनाको मृत्यु भएको छ । कोरोनाबाट संसारभरि कुल तीन करोड ४५ लाख १७ हजार ४४६ जना सङ्क्रमित भएका छन् भने तीमध्ये दुई करोड ५६ लाख ८८ हजार ७७२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमित भएकाहरूको सङ्ख्याअनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमितहरू अमेरिकामा रहेका छन् । अमेरिकामा अहिलेसम्म ७४ लाख ९४ हजार ६७१ जना सङ्क्रमित हुँदा दुई लाख १२ हजार ६६० जनाको मृत्यु भएको छ ।
त्यसैगरी सङ्क्रमितहरूको धेरै सङ्ख्याका आधारमा भारत, ब्राजिल, रुस, कोलम्बिया, पेरु, स्पेन, अर्जेन्टिना, मेक्सीको र दक्षिण अफ्रिका क्रमशः अग्र दश स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *