भर्खरै :

सुडान सरकार र विद्रोही नेताबीच युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर

जुबा, दक्षिण सुडान, १८ असोज (रएपी) । सुडानको सङ्क्रमणकालीन सरकार र विद्रोही गठबन्धनबीच शनिबार दक्षिण सुडानमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताबाट देशमा जारी दशकौँ लामो गृहयुद्ध अन्त्य हुने दुबै पक्षले विश्वास लिएका छन् ।
प्रधानमन्त्री अब्दल्ला हम्डोकले दक्षिण सुडानको राजधानी जुबा पुगेलगत्तै ट्वीट गर्दै भन्नुभयो “अब देशका अघिल्तिरका सबैभन्दा ठूलो चुनौती भनेको स्थानीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्झौताहरू गर्नु हो ।”
सुडानका विशाल प्रान्तमा कब्जा जमाएर बसेका विद्रोहीसँग वार्तामार्फत समस्या सुल्झाउनु पनि सङ्क्रमणकालीन सरकारसामु अर्को चुनौती छ । सत्ता विद्रोहपछि सेनाले सन् २०१९ को अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्युत गरेको थियो ।
सुडानी नागरिक नेताले पछिल्लो सम्झौताका कारण देशको सैन्य खर्चमा व्यापक कटौती हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँहरूको भनाइमा देशको अर्थव्यवस्था पुनर्जीवित हुनेछ किनभने अहिलेसम्म सैन्य व्यवस्थामै सबैभन्दा बढी खर्च हुने गरेको छ ।
सुडानी सरकार र केही सशस्त्र समूहको गठबन्धन सुडान क्रान्तिकारी मोर्चाबीच गत अगस्टको अन्तमा भएको सहमतिलाई जुबामा शनिबार आयोजित समारोहमा औपचारिकता दिइएको हो ।
शिखर सम्मेलनमा दक्षिण सुडानका राष्ट्रपति साल्वा कीरको सहभागिता थियो । दशकौँ लामो गृहयुद्धपछि सन् २०११ मा सुडानबाट दक्षिण सुडानले स्वतन्त्रता पाएको थियो । सुडानको सार्वभौम परिषद्का प्रमुख जनरल अब्देल–फत्ताह बुरहान र उहाँका सहायक जनरल मोहम्मद हमादान डागालो पनि उक्त समारोहमा उपस्थित हुनुहुन्थ्यो । अर्धसैनिक बलका कमान्डर डागालोले विद्रोही नेतासँग सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
उक्त समारोहमा सुडानका लागि अमेरिकी विशेषदूत डोनाल्ड बूथ, अफ्रिकी युनियनका अध्यक्ष मौसा फाकी र इजिप्टका प्रधानमन्त्री मुस्तफा माडबौलीलगायत अन्य अफ्रिकी र अरब अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
सम्झौताअनुसार विद्रोही सेनालाई सुडानको सशस्त्र बलमा एकीकृत गरिनेछ ।
पश्चिमी डार्फर, दक्षिण कोर्डोफान र ब्लू नाइलमा केन्द्रित सुडान क्रान्तिकारी मोर्चा लोकतन्त्र समर्थक आन्दोलनको मुख्य हिस्सा रहेको छ जसले अल बशीरको विरूद्ध विद्रोहको नेतृत्व गरेको थियो ।
सुडानमा अब्देल–अजिल अल–हिलुले नेतृत्व गरेको सबभन्दा ठूलो एकल विद्रोही समूह सुडान लिबरेशन मुभमेन्ट–नर्थ पनि वार्तामा सहभागी थियो तर यससँग सरकारको सम्झौता हुन सकेको छैन ।
अल–हिलुले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाउन, अल बशीरका मिलिशियाको विघटन र देशको सेनाको पुनःसुधारको माग गरिरहनुभएको छ । यो समूहले आफ्ना माग पूरा नभए ब्लू नाइल र दक्षिणी कोर्डोफान प्रान्तमा आत्मनिर्णयको घोषणा गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *