भर्खरै :

“टिकटक र विच्याटमाथिको अमेरिकी प्रतिबन्ध डब्लूटीओको नियमविपरीत”

न्युयोर्क, २२ असोज । चिनियाँ मोबाइल एपहरू टिकटक तथा विच्याटमाथि अमेरिकाले लगाएको बन्देज विश्व व्यापार सङ्गठनको नियमविपरीत रहेको चीनले दाबी गरेको छ ।
विश्व व्यापार सङ्गठनको एक बैठकमा बोल्दै चिनियाँ प्रतिनिधिले टिकटक तथा विच्याटमाथि अमेरिकाले बन्देज लगाएर डब्लूटीओको नियम उल्लङ्घन गरेको बताएका हुन् ।
अमेरिकी सरकारले यी दुई एप अमेरिकामा डाउनलोड गर्न बन्देज लगाउने आदेश जारी गरिसकेको छ भने अमेरिकास्थित टिकटकको कारोबार बिक्री गर्नका लागि उसको मातृ कम्पनी बाइटडान्सलाई भनिसकेको छ ।
यी दुई चिनियाँ एपले अमेरिकी अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको ट्रम्प प्रशासनको दाबी छ । यद्यपि सरकारी कदममाथि अमेरिकी अदालतले प्रश्न उठाएपछि तत्काल प्रतिबन्ध कार्यान्वयन हुन पाएको छैन । शुक्रबार आयोजना भएको विश्व व्यापार सङ्गठनको एक बैठकको क्रममा चिनियाँ प्रतिनिधिले अमेरिकी कदम सङ्गठनका नियमहरूसँग मेल नखाले खालको हुनुका साथै यसले सिमापार व्यापारिक सेवालाई बन्देज लगाएको बहुपक्षीय व्यापार प्रणालीको आधारभूत सिद्धान्त र उद्देश्यको उल्लङ्घन गरेको बताएका छन् ।
अमेरिकाले चिनियाँ एपमाथि बन्देज लगाउनुको वस्तुनिष्ठ कारण दिन नसकेको भन्दै उनले त्यस्तो कार्य नियमको प्रस्ट उल्लङ्घन भएको बताए ।
यद्यपि सोही बैठकमा अमेरिकी प्रतिनिधिले भने सरकारी कदमको बचाउ गरे । अमेरिकी सरकारले राष्ट्रिय सुरक्षा चुनौती निवारणका लागि त्यस्तो कदम चालेको उनको भनाइ थियो ।
अमेरिकाविरूद्ध चिनियाँ कूटनीतिज्ञले डब्लूटीओको बैठकमा व्यक्ति गरेको उक्त प्रतिक्रियासँगै चीनले अमेरिकाविरूद्ध डब्लूटीओमा कानुनी उजुरीसमेत दर्ता गर्नसक्ने अनुमान गरिएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *