भर्खरै :

दुई मेयरको सोच–भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने

भक्तपुर, १४ जेठ । भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका दुई नवनिर्वाचित नगरप्रमुखद्वारा आ–आफ्नो नगरलाई शैक्षिक केन्द्र बनाउने घोषणा गर्नु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भक्तपुर नपाका नवनिर्वाचित नगरप्रमुख सुनिल प्रजापति र मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यस्तो घोषणा गर्नुभएको हो ।
भक्तपुरका नगरप्रमुख प्रजापतिले आगामी पाँच वर्ष भित्र भक्तपुर नगरलाई सफा, सुन्दर र स्वच्छ नगर बनाउने बताउनु भयो । जनताले स्थानीय सरकार नगरमै पाएको अनुभूति गर्ने गरी पार्टीको घोषणा पत्रअनुसार काम गर्ने बताउँदै उहाँले सुरुवातमा खानेपानी र सरसफाईको समस्या समाधान गर्ने कार्य भईसकेको बताउनुभयो ।
उहाँले खानेपानी समस्या समाधान गर्न खानेपानीका कर्मचारीसँग छलफल गरेर तत्काल खानेपानीको समुचित व्यवस्था गर्न आग्रह गरेको, खानेपानीको मुहानका रुपमा रहेको नगरकोटस्थित मुहानपोखरीको अवलोकन गरेको बताउँदै मुहानपोखरीभन्दा माथि नगरकोट सडक विस्तारका क्रममा आएको धमिलो पानी मुहानमा मिसिने अवस्था तत्काल रोक्नु पर्ने बताउनुभयो ।
प्रजापतिले सरसफाईको समस्या समाधानका लागि सरसफाई डिभिजन कार्यालयका कर्मचारीसँग छलफल गरेको बताउँदै ढलको उचित व्यवस्थापन गर्दै भक्तपुरको हनुमानघाट र सल्लाघारीमा रहेका दुई उपचार पोखरीलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउने, ढलको सफाई गरेर मात्र पानी हनुमन्ते खोलामा लैजाने योजना बनाएको बताउनुभयो ।
भूकम्पले भत्काएको संरचनाहरु पुनःनिर्माणका लागि नगरपालिकाका उपप्रमुख रजनी जोशीलाई जिम्मेवारी दिइसकिएको बताउँदै उहाँले पुरातत्व विभाग र सरोकारवालाहरुसँग छलफल गरी पुनःनिर्माणलाई तिब्रता दिने उहाँको भनाई थियो ।

‘केन्द्रले अहिले २५ शैयाको अस्पतालको स्वीकृत पाइसकेको छ, अब भक्तपुरका बासिन्दालाई सबै उपचार यहीबाट गर्ने र भक्तपुरमा रहेको भक्तपुर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्रलगायतलाई व्यवस्थित गर्ने गरी तयारी गरेका छौं ।’

भक्तपुर नगरमा जन्मेका यहाँका नागरिकले शिशुस्याहारदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न अन्यत्र जानु नपर्ने गरी शिक्षाको व्यवस्थापन गर्ने बताउँदै उहाँले नगरपालिकाले विश्वविद्यालय सञ्चालनको सम्बन्धन पाएमा मेडिकल कलेज समेत सञ्चालन गरेर अन्य कलेज भन्दा ५० प्रतिशत कममा डाक्टर उत्पादन गर्ने गरी कार्य अगाडि बढाएको बताउनुभयो ।
त्यसैगरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा हाल दैनिक ३०० विरामीको स्वास्थ्य परीक्षण भइरहेको बताउँदै उहाँले भन्नुभयो—‘केन्द्रले अहिले २५ शैयाको अस्पतालको स्वीकृत पाइसकेको छ, अब भक्तपुरका बासिन्दालाई सबै उपचार यहीबाट गर्ने र भक्तपुरमा रहेको भक्तपुर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्रलगायतलाई व्यवस्थित गर्ने गरी तयारी गरेका छौं ।’
उहाँले भक्तपुरका जनताले परिवर्तन महसुस गर्ने गरी काम गर्ने, सरकारी कार्यालय वा कुनै पनि निकायले नगरपालिकासँग स्वीकृत नलिई निर्माण गरेका संरचना भत्काइने र स्वीकृत नलिई निर्माण गर्न नदिइने उहाँको भनाई थियो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरलाई शैक्षिक ‘हव’ बनाउने बताउनुभयो । उहाँले मध्यपुरमा रहेका शैक्षिक संस्थाहरुसँग समन्वय गर्ने, सरकारी र निजी विद्यालयहरुसँग समन्वय गरेर यहाँका सरकारी विद्यालयको गुणस्तरवृद्धि गर्ने कार्यक्रम अगाडि सार्ने बताउनुभयो ।

उहाँले नगरपालिकाद्वारा संचालित नेपाल–कोरिया मैत्री अस्पतालको नाम परिवर्तन गर्ने, अस्पतालको व्यवस्थापन परिवर्तन गरेर अस्पताललाई रिफरर केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो—‘मध्यपुर अस्पताललाई प्रविधि र जनशक्तिबाट पूर्ण बनाउने, चिकित्सकको टोलीलाई उपचारको जिम्मा दिने र भक्तपुरका अन्य अस्पताल तथा पूर्वका अस्पतालबाट रिफर भएका विरामी यस अस्पतालमा ल्याएर सफल उपचार गर्ने गरी व्यवस्थापन गर्ने तयारीका साथ अगाडि बढेका छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *