भर्खरै :

सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छ: विश्व बैङ्क

वासिङ्टन, २२ असोज (एएनआई) । कोरोना भाइरस महामारीका कारण चालु आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैङ्कले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ ।
कोरोना भाइरसको असर बाँकी नै रहेका कारण दक्षिण एसियाली अर्थतन्त्रमा सर्वाधिक असर पर्ने पनि बैङ्कले जनाएको छ । खासगरी अनौपचारिक क्षेत्रमा कार्यरत ठूलो सङ्ख्याका कामदारहरूले रोजगारी गुमाउने र लाखौँ मानिस गरिबीको दुश्चक्रमा पर्ने बैङ्कको भनाइ छ ।
विगत पाँच वर्षदेखि वार्षिक ६ प्रतिशतको आर्थिक वृद्धिदर रहेको दक्षिण एसियाको अर्थतन्त्र कोरोना भाइरसका कारण यसअघि ७.७ प्रतिशत खुम्चने अनुमान गरिएको थियो ।
क्षेत्रीय वृद्धि सन् २०२१ मा ४.५ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ । तर, कोभिड–१९ ले पु¥याएको क्षतिलाई ४.५ प्रतिशतको आर्थिक वृद्धिले सम्बोधन गर्न निकै कठिन हुनेछ ।
विगतका आर्थिक मन्दीमा पनि लगानी र निर्यातमा हुने गरेका कमीले अर्थतन्त्रमा सङ्कट निम्त्याउने गरेका थिए । यस पटक भने परिस्थिति भिन्न छ । वैयक्तिक उपभोग्य सूचकाङ्कमा पनि १० प्रतिशतभन्दा बढीले कमी आउने देखिएको छ ।
केही मुलुकमा विप्रेषणको आयमा पनि कमी आउने र त्यसबाट जीविकोपार्जनमा समस्या उत्पन्न हुनेछ ।
विश्व बैङ्कका लागि दक्षिण एसियाली उपाध्यक्ष हार्टवीजले कोभिड–१९ का कारण सङ्कटमा परेको दक्षिण एसियाको अर्थतन्त्रका कारण साना व्यवसाय र अनौपचारिक क्षेत्रका कामदारमाथि ठूलो समस्या खडा भएको बताउनुभयो । उहाँले रोजगारी गुम्ने र आम्दानी घट्ने समस्याबाट आम मजदुरहरू पीडित हुने बताउनुभयो ।
श्री हार्टवीजले सरकारले आफूसँग रहेको सीमित स्रोत साधनलाई बुद्धिमत्तापूर्वक उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
दक्षिण एसियाका कुल मजदुरमध्ये खासगरी पर्यटन, खुद्रा व्यापार र यातायात क्षेत्रका मजदुर सबैभन्दा ठूलो समस्यामा रहेका अध्ययनले देखाएको छ । गरिबीमा पिल्सिएका जनताले खाद्यान्नको बढ्दो मूल्यको सामना गर्नुपरेको छ ।
सानो सङ्ख्याका अनौपचारिक क्षेत्रमा संलग्न व्यक्तिहरूले मात्र सामाजिक बीमामा पहुँच बनाएका छन् वा उनीहरूसँग सानोतिनो बचत रकम रहेको वा वित्तीय संस्थासँग पहुँच छ । विश्व बैङ्कको प्रतिवेदनमा सरकारहरूले सबैलाई सामाजिक सुरक्षा उपलब्ध गराउन आग्रह गरिएको छ । साथै अधिकाधिक उत्पादकत्व, सीप विकास र मानव पुँजी निर्माणमा सरकारहरूले ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
आर्थिक पुनरुत्थानलाई गति दिन सरकारहरूले अन्तर्राष्ट्रिय र स्वदेशी लगानी जुटाउनुपर्ने बैङ्कको भनाइ छ ।
दीर्घकालीनरूपमा डिजिटल प्रविधिले अनौपचारिक क्षेत्रका कामदारका लागि नयाँ अवसर सिर्जना गर्न मद्दत गर्ने, दक्षिण एसियालाई बढी प्रतिस्पर्धी बनाउने तथा बजारसँग बढी अन्तरसम्बन्धित बनाउने पनि बैङ्कको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *