भर्खरै :

‘चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू’ पुस्तक अध्ययन गर्दा

चीन विश्वमा उदाउँदो अर्थतन्त्रको रूपमा स्थापित हुँदै आएको कुरा सर्वस्वीकार्य हो । सन् १९३० सम्ममा चीन विश्वमा पहिलो अर्थतन्त्रमा स्थापित हुने कुरा अन्तर्राष्ट्रिय आँकडा र अर्थविद्हरूको आँकलनले प्रस्ट पारिसकेका छन् । विभिन्न विस्तारवादी र साम्राज्यवादी शक्तिहरू भने चीनको आर्थिक, सामाजिक, राजनैतिक विकास र अवस्थालाई माथि उक्लन नदिन अनेक षड्यन्त्र र जालझेल गर्दै आइरहेका छन् । चीन समाजवादी अर्थतन्त्रअन्तर्गत अगाडि बढेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको सन् १९४९ को क्रान्तिपश्चात् स्वाधीन चीनले विकासको मोड लिन थालेको हो ।
आजको चीन त्यतिकै सरल र सहज ढङ्गबाट पक्कै पनि आएको होइन । अठारौँ शताब्दी र उन्नाइसौँ शताब्दीको मध्यतिर चीनलाई साम्राज्यवादी देशहरूले कसरी लुछेर खाएका थिए र चिनियाँ जनताले भोग्नुपरेको दुःख–कष्ट बुझ्नु आवश्यक छ । तत्कालीन सामन्ती छिङ्ग वंशका शासक र विदेशी साम्राज्यवादी दलालीहरूबाट पनि चिनियाँ जनताले असह्य पीडाहरू भोग्नुपरेको थियो । चीनको ऐतिहासिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र भौगोलिकलगायत विविध विषयवस्तुबारे जानकार हुनु आवश्यक छ । यसै विषयवस्तुसँग जानकार हुनको लागि वर्कर्स पब्लिकेशनबाट प्रकाशित ‘चीनको प्रसिद्ध युद्ध र विद्रोहहरू’ पुस्तक पनि एक महत्वपूर्ण साधन हुनेछ ।
पुस्तकमा घटनाक्रमलाई सिलसिलाबद्ध शीर्षकको रूपमा प्रस्ट्याइएको छ । यसले पाठकलाई पढ्न र बुझ्न सजिलो हुनेछ । अध्याय १ र अध्याय २ गरी दुई अध्यायमा विषयवस्तुको उठान गरीएको छ । अध्याय १ मा तत्कालीन सामन्ती छिङ्ग वंश र शोषित पीडित किसान जनताको अवस्थालाई दर्शाइएको छ । त्यस्तै गरी अध्याय दुईमा विशेषतः चिनियाँ कम्युनिस्ट पार्टीको अगुवाइमा भएको किसान–मजदुर विद्रोहहरूलाई संवादको रूपमा साभार गरिएको छ । चीनका प्रसिद्ध पत्रिकाहरूमा प्रकाशित साभार गरिएको लेखहरूमा चीनको राजनैतिक घटनाक्रमलाई दर्शाइएको छ ।
अठारौँ शताब्दीतिर बेलायत संसारको सबभन्दा अगाडि बढेको औपनिवेशिक शक्ति थियो । त्यसका पुँजीपति वर्ग अन्य देशमा जस्तै चीनमा पनि घुस्न चाहन्थे । आफ्ना ऊनले बनेका तयारी मालहरू चीनमा आपूर्ति गर्न चाहन्थे भने चीनका कच्चापदार्थहरू बेलायत लैजान चाहन्थे । यही उद्देश्यका साथ बेलायतीहरूले चीनमा अफिम व्यापार गर्नथाले । चीनका ठूलठूला कर्मचारी, बुद्धिजीवी, जमिनदार, खान्दानी र साहुमहाजनहरू अफिमको लतमा फसे । बेलायतीहरूले सुन–चाँदीजस्ता महत्वपूर्ण वस्तुहरू लुटे । चीनमा सुन–चाँदी र तामाको मुद्राको मूल्य बढ्यो । त्यसको प्रत्यक्ष प्रभाव किसान, काम गरिखाने तल्लो वर्गमा पर्यो । चिनियाँ काम गरीखाने तल्लो वर्गका जनता सामन्ती र साहु–महाजनहरूबाट शोषित पीडित भए भने अर्कोतिर बेलायती साम्राज्यवादबाट पनि लुटिएको बुझ्न थाले । राजदरबारमा पनि दुई मतको खेमा देखियो । अफिम व्यापारबाट फाइदा लिइरहेका विदेशी दलालहरू चीनमा अफिमको ब्यापार हुनुपर्ने पक्षमा थिए भने केही देशभक्ति भावना भएका पनि थिए । चिनियाँ सम्राट र जनताको शक्तिमा अफिमका बाकसहरू अपहरण गर्न थाले, जलाए ।
हार नखाएका बेलायती पुँजीपतिहरूसँग सङ्घर्ष गर्न चिनियाँ सेनानायक र जनता लडिरहे । तर चीनका माथिल्ला सरकारी पदाधिकारीहरू भित्रभित्रै बेलायतसँग मिल्दै चीनलाई खाल्डोमा पार्दै थिए । बेलायतले असमान सन्धि गर्न चीनलाई बाध्य पार्यो । सन् १८४२ अगस्ट १९ मा भएको असमान सन्धिमार्फत क्यानटन, फुचाउ, अमोई, निङ्गपो र साङ्घाई गरी ५ वटा बन्दरगाह सहरमा बेलायतले व्यापार गर्न पाउने भयो । असमान सन्धिबाट हङकङ पनि बेलायतले हात पार्यो । चीनको कमजोरी थाहा पाएपछि बेलायतले चीनमाथि एकपछि अर्को असमान सन्धि थप्दै गयो । चीनको इतिहासमा अफिम युद्ध र नानकिङ बाहिर बेलायती जहाजमा चीनले गरेको पहिलो असमान सन्धि नै वैदेशिक हस्तक्षेपको सुरूवाती दिन बन्न पुगेको कुरा यस पुस्तकबाट थाहा पाउन सक्छौँ ।
इतिहास दोहोरिन्छ तर फरक ढङ्गले भनेझैँ नेपालको राजनैतिक, सामाजिक र आर्थिक अवस्थालाई हेर्ने हो भने आज नेपाल पनि वैदेशिक हस्तक्षेप र विदेशी दलालबाट पिरोलिएको अवस्था छ । विशेषतः भारतीय विस्तारवादबाट नेपाल उठ्नै नसक्ने स्थितिमा पुगेको छ । नेपालका शासकहरू आज पनि पद र पैसाको निम्ति देश हितविपरीत सन्धि सम्झौता गर्न तँछाडमछाडको देखिएका छन् । कम्युनिस्ट भनाउँदा नेकपाले समेत सत्तामा गएर कामदार जनताको रगत र पसिना चुसेको अवस्था छ । दलाल पुँजीवादीहरू सत्तामा पुग्न जनतामाझ अनेक जालझेल गर्दछन् । सत्तामा पुगेपछि देशको महत्वपूर्ण प्राकृतिक स्रोत र साधन दलालहरूबाट विदेशीलाई सुम्पने काम हुँदै आएको छ । भ्रष्टाचार र कमिसनले देश खोक्रो बनेको छ । नेपाली जनताले चीनको इतिहासबाट पाठ सिक्नको लागि यस पुस्तक फलदायी हुनेछ ।
चीनका पुराना प्रान्त र क्षेत्रहरू प्रस्टिने गरी पुस्तकको अघिल्लो पानामै नक्सा राखिएको छ । यसले पाठकहरूलाई पढ्न र बुझ्न थप सहयोग गर्दछ । नक्सा हेर्दै अध्ययन गर्नाले चीनको तत्कालीन भौगोलिक र राजनैतिक अवस्थालाई नियाल्न सहयोग मिल्नेछ । पुस्तकको बीच खण्डमा पनि घट्नाक्रमअनुरूप नक्सा समावेश गरिएको छ ।
ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ भनेजस्तै बेलायतसँग डराएको छिङ सरकारलाई सन् १८४४ मा ३४ धारा भएको वाङहिया सन्धि गर्न अमेरिकाले बाध्य पार्यो । सो सन्धिले बेलायतसँगको सन्धिमा भन्दा बढी सहुलियतहरू अमेरिकालाई दिने भयो । त्यस्तै गरी फ्रान्सले पनि ३६ धाराको असमान सन्धिमा चीनलाई हस्ताक्षर गरायो । सन्धिमा बेलायत र संरा अमेरिकाले पाएको सरह सबै सहुलियतहरू पाउने र चीनमा रोमन क्याथोलिक धर्म प्रचार गर्न पाउने भयो । छिङ वंशको सामन्ती राज्य व्यवस्थामा चीनलाई साम्राज्यवादी शक्तिहरूले बाँडीचँुडी खाएको कुरा पनि यस पुस्तक अध्ययनबाट बुझ्न सक्छौँ ।
चीनका किसान जनता सामन्ती राज्य व्यवस्था र साम्राज्यवादी शक्तिहरूबाट अलापविलाप भए । पीडित किसान जनता मुक्ति पाउनको निम्ति अनेक उपायहरू अपनाउँथे । कहिले सैनिक दल बनाउँथे, सङ्गठित भएर लड्थे । स्वर्ग र पृथ्वी समाज, त्रिशुल वा त्रिपक्षी, सेता कमल, स्वर्गीय उद्देश्यको समाज, होनान, अन्नु लेइ शान्तुङ प्रान्तका किसान सङ्गठनहरू, शाहाकारी समाजजस्ता अनेक गुप्त सङ्गठनहरू विद्रोहीहरूले निर्माण गरे । त्यसै बखत सन् १८१४ मा किसान परिवारमा जन्मेका १८ वर्ष उमेरका शिक्षक हुङ स्यु च्युन ईश्वर पुजन समाजका एक नेता थिए । सन् १८४५–४६ मा हुङ स्यु च्युनले मुक्तिको सिद्धान्त, संसारलाई जगाउने सिद्धान्त, संसारलाई उठाउने सिद्धान्तजस्ता क्रान्तिकारी लेखहरू लेखेर जनतालाई सङ्गठित र जागरूक बनाएको महत्वपूर्ण सन्देश पुस्तक अध्ययनबाट पाउन सक्छौँ । सन् १८५० मा हुङ स्यु च्युनले १० हजार महिला पुरूषलाई सैनिक तालिम दिएको र ११ जनवरी १८५१ मा क्वाङ्सिको चिनतिन गाउँमा ताइपिङ स्वर्गीय अधिराज्य घोषणा गरेको कुरा पुस्तकको ताइपिङ किसान क्रान्ति शीर्षकमा पाउन सक्छौँ ।
असमान सन्धिहरूको फाइदा उठाउँदै साम्राज्यवादीहरूले चीनमा धर्म प्रचार गर्ने र चर्च बनाउने नाममा चिनियाँहरूलाई धर्म परिवर्तन गराउने, प्राकृतिक स्रोतसाधनहरूको खोजबिन गर्ने, गुप्तचरी गराउने, चीनको आन्तरिक मामलामा हस्तक्षेप गराउने, स्थानीय गुण्डा र डाँकुहरूलाई हातमा लिएर किसानहरूको भूमि हत्याउने जस्ता अभद्र व्यवहारहरू गर्दथे । सन् १९०० तिर क्रान्तिकारी विद्रोहीहरूलाई दबाउन बेलायत, अमेरिका, जापान, फ्रान्स, रूस, जर्मनी, इटाली र अष्ट्रिया–हङ्गेरी गरी आठ साम्राज्यवादी देशहरू चीनमा सक्रिय भए । छिङ सरकारको अत्याचार र विदेशी आक्रमणहरूको विरूद्धमा क्रान्तिकारी विद्रोहीहरूले सच्चाइ र मेलमिलापको समाज, सच्चाइ र मेलमिलापको मुठिको समाज, रातो लालटिन, निलो लालटिनजस्ता नामका गुप्त केटाहरू र केटीहरूका सङ्गठनहरू सक्रिय गराए । यस साम्राज्यवाद र सामन्तवादविरोधी एक महत्वपूर्ण आन्दोलनलाई पश्चिमेलीहरू बक्सर विद्रोह र बक्सर जागरण भन्थे । आन्दोलनमा विदेशी सामानको बहिष्कार र विदेशी सामानहरू, अफिमका बाकसहरू लुट्ने जलाउनेसम्म भएको पुस्तकमा पाउँछौँ । विदेशी सामान बहिष्कार गरेको र आगो लगाएको आरोपमा आईमाई र केटाकेटी नभनी हत्या गरे, साथै सहरहरू खरानी पारे । साम्राज्यवादीहरूले पुस्तौँपुस्ताका बहुमूल्य कलात्मक वस्तुहरूमात्रै लुटेनन्, बलात्कारका कैयौँ घटनाहरूले महिलाहरूलाई आत्महत्या गर्न बाध्य पारेका दृश्यहरूले जोकसैको मनलाई तरङ्गीत र आक्रोशित बनाउँदछ ।
छिङ्ग सरकारले चिनियाँ जनतामा बढ्दै गएको असन्तोष र आक्रोशलाई मत्थर पार्नको लागि अनेक जालझेल र षड्यन्त्र गर्थे । संवैधानिक सरकार बनाउने नाममा मन्त्रीहरू राजदरबारकै मानिसहरूले भरिभराउ हुन्थे । उछाङ विद्रोहको तरङ्गले अन्तमा छिङ सामन्ती सरकार नै ढल्न पुगेको घटना महत्वपूर्ण छ । सन् १९११ मा डा. सन यात–सेन चीनको अन्तरिम सरकारको राष्ट्रपति चुनिए । छिङ सामन्ती सरकारभन्दा सन यात–सेनको पुँजीवादी सरकार देशभक्ति र क्रान्तिकारी थिए । गणतान्त्रिक सरकारमा पनि छिङ सामन्तीहरूले आफ्नो मान्छे घुसाउन सफल भएको कुरा फेब्रुअरी १९१२ युआन शिह–काइ अन्तरिम राष्ट्रपति भएकोले बुझ्न सक्छौँ ।
उछाङ विद्रोहको असफलताले एउटा भनाइ नै चल्यो, “क्रान्तिकारी सेना जाग्दा क्रान्तिकारी पार्टी सुक्यो ।” यही सङ्घर्षले कोमिनताङ पार्टीको स्थापना भएको छ । राजनैतिक सङ्गठनविनाको सङ्घर्ष असफल हुन्छ भन्ने कुरा चीनको युद्ध र विद्रोहमा पाउन सक्छौँ ।
युरोपेली साम्राज्यवादहरू पहिलो विश्वयुद्ध (१९१४–१९१९) मा फस्दै गर्दा चीनमा भने पुँजीवादको द्रुतदरमा विकास भइरहेको थियो । मजदुरहरू साम्राज्यवादी, अर्धसामन्तवादी र राष्ट्रिय पुँजीपति वर्गहरूबाट शोषित पीडित हुँदै गए । नगरहरूमा केन्द्रित चिनियाँ सर्वहारा वर्ग कम ज्याला र १८ घण्टासम्म काम गर्नुपर्दथ्यो । त्यतिबेलाको परिस्थितिले चेन तु स्यु, लि ता चाओ, लु शुनजस्ता साहित्यकारहरू जन्माएको थियो । ती साहित्यकारहरूले जोसिलो र प्रगतिशील लेखहरू लेखेर पुरानो सामन्ती समाजको ठाउँमा नयाँ प्रजातान्त्रिक देशमा रूपान्तरण गर्न परम्परागत सिक्रीहरूलाई चुँडाल्न मजदुर किसानहरूमा आह्वान गर्थे ।
पहिलो विश्वयुद्धमा होमिएका साम्राज्यवादी देशहरूले हात पारेका देशहरूको भागबन्डा गर्न थाले । साम्राज्यवादीहरूले चीनका प्रान्तहरूलाई पनि मनलाग्दी भागबन्डा गर्न थाले । आफ्नो देशमा मनपर्दी गर्नाले चिनियाँ जनतामा साम्राज्यवादविरोधी भावना झन् चर्किदै गएको पाउन सक्छौँ । रूसमा भएको १९१७ को अक्टोबर क्रान्तिको प्रभाव चीनमा पनि पर्दै गएको थियो । माक्र्सवादी, लेनिनवादी साहित्य र विचारहरू प्रगतिशील बुद्धिजीवीहरूमा फैलदैँ गए । चीनलाई साम्राज्यवादी, अर्धसामन्ती र दलाल पुँजीवादबाट मुक्त गर्न सशस्त्र मजदुर–किसानको सङ्घर्ष आवश्यक ठानियो । कम्युनिस्ट पार्टीको आवश्यक ठानी २१ जुलाई १९२१ मा सङ्घर्षशील मजदुर–किसान र प्रगतिशील बुद्धिजीवीहरूका प्रतिनिधिहरूको सङ्घाईमा भएको एक गुप्त बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो ।
छिङ सामन्ती वर्ग र साम्राज्यवादीहरूसँग सङ्घर्ष गर्न कोमिनताङ पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीले संयुक्त मोर्चा बनाएको थियो । डा. सन यात सेनको मृत्युपछि कोमिनताङ पार्टी दक्षिणपन्थी धारमा गएको र सामन्ती दलालहरूसँग मिल्न पुगेको घटनाले नेपालको एमाले, माओवादीजस्ता दक्षिणीपन्थी र अवसरवादी पार्टीहरूलाई सम्झन पुग्छ । च्याङ काइ सेकजस्ता दक्षिणपन्थी विश्वासघातीले क्रान्तिमाथि धोकामात्र दिएन उल्टै क्रान्तिकारी सङ्गठनलाई भङ्ग गर्ने, हमला गर्नेजस्ता कार्य गरे ।
सन् ७ अगस्ट १९२७ को दिन हान्कोमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको आकस्मिक बैठकले पार्टीलाई स्वतन्त्ररूपमा क्रान्तिकारी सङ्घर्षमा लाने निर्णय भयो ।
छिङ सामन्ती सरकार, सत्ता टिकाउन र लम्ब्याउन साम्राज्यवादी शक्तिसामु झुकेका तीता घटनाहरू, कोमिनताङ पार्टीको स्थापना र कोमिनताङ पार्टी पनि सामन्ती, साम्राज्यवादीहरूको दलाल बन्न पुगेको र चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना हुँदै क्रान्तिकारी सङ्घर्षको प्रारम्भिक चरणमा अध्याय एक टुङ्गिन पुगेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको महत्वपूर्ण क्रान्तिकारी सङ्घर्षहरू अध्याय दुईमा दिइएको छ । शरदको बाली काट्ने विद्रोह, नानचाङ विद्रोह, साङ्घाइका मजदुरहरूको तेस्रो सशस्त्र विद्रोह र क्वाङ्चाओ विद्रोह गरी चार विद्रोहका अनुवादहरू पढ्न र बुझ्न पाउनेछौँ ।
कामरेड माओ त्सेतुङले चीनको हान्कोमा भएको एक जरूरी बैठकमा एउटा महत्वपूर्ण भाषण दिनुभयो । भाषणमा आत्मसमर्पणवादको चर्को विरोध गर्दै र क्रान्तिको हारका मुख्य कारणहरू केलाउनुभयो र ‘राजनैतिक सत्ता बन्दुकको नालबाट उठ्छ’ भन्ने प्रस्ट धारणा अघि सार्नुभएको थियो । जोस–जाँगर र पार्टी केन्द्रले दिएको निर्देशनलाई लिएर माओ त्सेतुङ तोकिएका क्षेत्रहरूमा लाग्नुभयो । जनतालाई सङ्गठित पार्दै, रक्षा दल खडा गर्दै साम्राज्यवादी, अर्धसामन्ती, दलाल पुँजीपतिविरूद्ध माओ त्सेतुङ क्रान्तिकारी सङ्घर्षमा उत्रनुभयो ।
कामरेड माओ त्सेतुङले ‘चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी’ भन्ने आफ्नो रचनामा भन्नुभएको छ, “मुख्य उपाय अथवा चिनियाँ क्रान्तिको मुख्य रूप सशस्त्र सङ्घर्ष हुनुपर्छ, शान्तिपूर्ण होइन ।’ यो उहाँको असह्य चर्को सङ्घर्षहरूको अनुभबाट प्राप्त गरेको फेर्नै नसकिने निष्कर्ष थियो । सङ्घर्ष नै सङ्घर्षबाट माओ त्सेतुङ खारिएको पाउन सक्छौँ । उहाँ गाउँ, नगर, सहर, प्रान्त हुँदै देशमा नै कामदार जनताको शासन ल्याउन चाहनुहुन्थ्यो । गाउँलाई क्रान्तिकारी सरकार घोषणा गर्दै सहर छिर्ने निधो गर्नुभएको जुक्ति सफल भएको मान्न सकिन्छ । सहरहरूमा सेनाहरूको सङ्ख्या धेरै र बलियो हुने भएकोले गाउँबाट क्रान्ति गर्ने जुक्ति माओले निकाल्नु भएको बुझ्न सकिन्छ । सङ्घर्षमा सानो–तिनो हार र कमजोरीले उहाँ कहिल्यै हार नखाएको कुरा यस पुस्तकको अध्ययनबाट पाउन सक्छौँ ।
चिनियाँ कम्युनिस्ट पार्टीको आन्दोलनलाई दबाउन प्रतिक्रियावादी, साम्राज्यवादीहरू लागिपर्थे । मजदुर–किसान, युवा, विद्यार्थी, बुद्धिजीवीहरू शोषण दमनबाट मुक्त हुनको निम्ति एक भएर क्रान्तिमा होमिन्थे । चिनियाँ क्रान्तिकारी सङ्घर्षमा कामरेड चाउ एन लाइले पनि महत्वपूर्ण भूमिका निभाउनुभएको कुरा साङ्घाइको सशस्त्र विद्रोहको विजयले बताउँदछ । ३० घण्टाको भयङ्कर सङ्घर्षले मजदुरहरूको जित भएको थियो । सङ्घर्षमा मजदुरहरूको साम्राज्यवादी शक्तिहरू मुर्दावाद, युद्ध सरदारहरूलाई जरैदेखि उखेलजस्ता नारा र क्रान्तिकारी गीतहरूले वातावरण नै गुञ्जायमान हुन्थ्यो ।
अन्तमा, क्वाङचाओ विद्रोहमा विद्रोहीहरूले तीन दिनसम्म कब्जा गरेर एक क्रान्तिकारी सहर बनाएको महत्वपूर्ण घटना रहन पुग्यो । जहाँ कोमिनताङ्गहरूले विद्रोहीहरूलाई नरसंहार गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीले दक्षिणपन्थी अवसरवाद, साम्राज्यवाद, पुँजीवाद, शोषक र सामन्तहरूसँग कति पनि हार नखाइकन सङ्घर्ष गरेको कुरा यस पुस्तक अध्ययन गरेर थाहा पाउन सक्छौँ । क्रान्तिकारीहरू कहिल्यै नथाक्ने, लोभलालच प्रलोभनमा नफस्ने, साहसिलो, व्यवहारिक बन्नुपर्ने शिक्षा पाउँदछौ । साथै पुस्तकले शोषण, दमनबाट मुक्त हुनको निम्ति क्रान्तिकारी भावना जगाउन, साहसिलो, आँटिलो बन्न उत्साहित र प्रेरित गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *