भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरू कर्मचारी सेवा र सर्तसम्बन्धी विनियमावली अविलम्ब पारित गराउन आन्दोलित

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरू कर्मचारी सेवा र सर्तसम्बन्धी विनियमावली अविलम्ब पारित गराउन आन्दोलित

भक्तपुर, ४ साउन । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूको सेवा सर्तसम्बन्धी विनियमावली अविलम्ब पारित गर्न माग गर्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले विनियमावली पारित गर्नेलगायत विभिन्न माग राखी पाखुरामा कालोपट्टी बाँधी सोमबारको दिन कार्य गरे ।
आफ्ना मागबारे जानकारी दिन अस्पतालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भक्तपुर क्यान्सर अस्पताल कर्मचारी सङ्घका अध्यक्ष शिवराम धुख्वाले अस्पताल सुचारु रूपमा अघि बढाउन कर्मचारी विनियमावली जरूरी रहेको बताउनुभयो । उहाँले विनियमावली पारित हुन नदिन अस्पतालका कार्यकारी निर्देशक नै लाग्नु विडम्बना रहेको बताउनुभयो ।
“अस्पतालका कर्मचारीहरूको सेवाको सर्त र सुविधासम्बन्धी विनियमावली २०८३ बारे स्पष्ट पार्ने एकल एजेन्डासहित आइतबार बोलाइएको अस्पताल व्यवस्थापन समितिको बैठकमा सदस्य सचिव एवं अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे आफै बिनाजानकारी अनुपस्थित हुनु विडम्बनाको कुरा हो,” उहाँले भन्नुभयो ।
अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा. पुण्यराम खर्बुजाले कर्मचारी विनियमावली धेरै वर्षसम्म रोकिँदा अस्पतालकै विकासमा अवरोध भइरहेको छ, त्यसको निम्ति सबैतिर अनुरोध र आग्रह गरिसक्दा पनि मेडिकल डाइरेक्टरकै कारण रोकिएको प्रस्ट देखिएको छ भन्नुभयो ।
अस्पतालका अर्का चिकित्सक डा. श्वेता बरालले अस्पतालका चिकित्सक र कर्मचारीहरूको आवाज बोल्नुपर्ने मेडिकल डाइरेक्टर आफै कर्मचारी हकहितको विपक्षमा हुनु खेदजनक छ भन्नुभयो ।
अस्पतालको नर्सिङ इन्चार्ज लक्ष्मीकेशरी श्रेष्ठले सबैजना मिलेर अस्पतालको विकासमा लाग्नुपर्नेमा कर्मचारी विनियमावली पारित नहुँदा कर्मचारीको वृत्तिविकासमा अवरोध भइरहेको बताउनुभयो ।
अस्पतालका कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी रहने बताएका छन् ।
२०७७ साल कार्तिक २४ गते नेपाल सरकारले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन आदेश जारी गरी सरकारी स्वामित्वमा लिएदेखि नै त्यहाँ कार्यरत डाक्टर, नर्सलगायतका कर्मचारीहरूको सेवा सुविधासम्बन्धी विनियमावली तयार गरी स्वास्थ्य मन्त्रालयमार्फत पारित गराउने प्रक्रिया थालिएको थियो । लामो समयसम्मको प्रयासपछि २०८३ जेठ १३ गते व्यवस्थापन समितिको बैठकले पारित गरेको थियो ।
उक्त विनियमावलीबारे थप स्पष्ट पार्ने उद्देश्यले सदस्य सचिवको हैसियतले कार्यकारी निर्देशक डा. चालिसेले औपचारिक पत्र प्रेषित गरेर आइतबार बिहान ८ बजेका लागि आफ्नै कार्यकक्षमा बैठक बोलाएको तर उनी आफै अनुपस्थित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *