भर्खरै :

आक्रमण र युद्ध साम्राज्यवादकै उपज

समाजवाद कामदार वर्गको उत्कृष्ट व्यवस्था हो । यो व्यवस्थाले व्यापक जनताको हित गर्छ । समाजवादी व्यवस्था व्यापक जनतालाई राज्य र समाजको मालिक बनाउने व्यवस्था हो । यसको उद्देश्य व्यापक जनतालाई सचेत र सङ्गठित गर्नु हो । व्यापक जनतालाई सार्वभौम बनाउनु हो । यो उद्देश्य पूरा गर्न क्रान्ति र निर्माणमा व्यापक जनतालाई परिचालन गर्नुपर्छ, निर्णयकर्ता बनाउनुपर्छ । राज्यले बनाउने कुनै पनि नीति निर्णय समाजवादी उद्देश्यअनुसार हुनुपर्छ । त्यस्तो नीति कुनै सरकारले अपनाएको छैन भने त्यो कम्युनिस्टको सरकार हुँदैन । व्यापक जनताको हित नहेर्ने कुनै दल या दलको सरकार कम्युनिस्ट हुनेछैन ।
देश र जनताको स्वाधीनता कायम राख्न, सार्वभौम रक्षा गर्न र समाजवादी आजु पूरा गर्न दलका नेता, मन्त्री, सांसद, कार्यकर्ता निरन्तर लाग्नुपर्छ । साम्राज्यवादी, पुँजीवादी र विस्तारवादीहरू समाजवादका बाधक हुन् । उनीहरू ठूलो शक्तिको धाक देखाएर, हतियारको बलले दमन गरेर समाजवादको जग भत्काउने काम गर्छन् । विस्तारवादी र साम्राज्यवादीहरूको आक्रमणको खतरा रहेसम्म, आक्रमण गरिरहेसम्म देशले फड्को मार्नसक्दैन । तिनै साम्राज्यवादी र विस्तारवादी दलबाट नेपाल आक्रान्त छ । सहयोग पाउने नाउँमा नेपाल सरकार गुलियो पोतेको विषमा भन्किएको छ । साम्राज्यवादी देश संयुक्त राज्य अमेरिका र भारतीय विस्तारवादी देश भारतले नेपाल सरकारको कमजोरीको फाइदा उठाइरहेका छन् । अमेरिकाको एक कम्पनीसँग एमसीसी सम्झौता गरेर सरकारले देशलाई परेड खेल्ने भूमि बनाउने, सेना आवतजावत गर्ने र कठपुतली बनाउने एउटा माध्यम बनाएको छ । नेपालसँग असमान सन्धि, सम्झौता गर्न, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाली भूमिमा तटबन्ध तथा बाँध बनाउन, नेपाली भूमि मिच्न नै भारतले विकासको नाममा सहयोग गरिरहेको हो । भारत सरकारले गरिरहेको उक्त कदमको अन्धानुकरण गर्दै संयुक्त राज्य अमेरिकाले पनि नेपालमा पाइला टेक्न अनेक षड्यन्त्र बुनिरहेको छ ।
विस्तारवाद र साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्नु क्रान्तिकारीको एउटा अर्को बाटो हो । आक्रमण र युद्ध साम्राज्यवादकै उपज हुन् । स्वाधीन देशका जनताको स्वाधीनता, सार्वभौमिकता लुट्ने, ध्वस्त पार्ने काम साम्राज्यवादी देशको हो । समाजवादको काम व्यापक जनतालाई स्वाधीन बनाउनेमात्र होइन विस्तारवादी र साम्राज्यवादी देशविरुद्ध लड्नु पनि हो । आन्तरिक र बाह्य शत्रुसँग नलडिकन समाजवाद स्थापना सम्भव छैन । देशमा समाजवाद स्थापना गर्ने हो, कामदार वर्गको नेतृत्वमा सरकार बनाउने हो भने विस्तारवादी र साम्राज्यवादी शक्तिसँग जुध्नैपर्छ । देश र जनताका वर्गीय शत्रुसँग मुकाबिला गर्न नसकेसम्म नेपाल सरकार, सत्तारुढ र प्रमुख प्रतिपक्ष दल साम्राज्यवादी देशको कठपुतली बन्ने छ । समाजवादी कार्यमा अवरोध खडा गरिरहन्छ । त्यो साम्राज्यवादी देशको धर्म नै हो । साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी व्यवस्थाका शासकहरू समाजवादी देश उठाउन चाहँदैनन्, समाजवादी व्यवस्था स्थापनामा बाधा हाल्छन् । समाजवादी देशहरू बलियो हुनुको अर्थ पुँजीवादी, विस्तारवादी र साम्राज्यवादी देश कमजोर हुनु हो, यसबारे कम्युनिस्ट भनिने नेकपाको सरकारले बुझ्नुपर्ने हो । उनीहरूको चलखेलबाट सचेत हुनुपर्ने हो, उनीहरूले सर्तसहित आर्थिक सहयोग गर्ने कामबाट चनाखो हुनुपर्ने हो । तर, सरकार साम्राज्यवादी देश संयुक्त राज्य अमेरिका र विस्तारवादी देश भारतसामु निरीह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *