भर्खरै :

उखु उत्पादन बढे नेपाल चिनीमा आत्मनिर्भर हुने

उखुको भुक्तानी माग गर्दै उखु किसानहरू फेरि आन्दोलनमा उत्रेका छन् । गएको वर्षमा नै उखुको भुक्तानी पाउनेसम्बन्धी भएको सहमति यो दसैँको पूर्वसन्ध्यामा पुग्दा पनि नपाएपछि उखु किसानहरू आन्दोलनमा उत्रेका हुन् । उखुको भुक्तानी पाउन उखु किसानहरूले संसदीय समितिमा ज्ञापनपत्र बुझाए । यही बेला कति सुगर मिल्सहरू घाटाको निहुँमा बन्द गरिए भने कति भुक्तानी दिनुपर्ला भनेरै बन्द गरिदिए । एकातिर भुक्तानी नपाएर उखु किसानहरू मर्कामा परे भने अर्कोतिर उद्योग बन्द गरेर उद्योगमा कार्यरत मजदुर र कर्मचारीहरू पनि सङ्कटमा परे । उखु उद्योग मिल्सका सञ्चालकहरूले उखु किसानलाई भुक्तानी नदिएपछि र उद्योग बन्द भएपछि हजारौँ किसान, मजदुर र कर्मचारीहरू मर्कामा परेका छन् ।
उखु किसानहरूले सुगर मिल्सबाट लाखौँ होइन करोडौँको भुक्तानी पाएका छैनन् । उखु खेती धान, गहुँ र मकैजस्तो बाली होइन । सिजनमा उखु बिक्री गर्न पाइएन भने खेर जान्छ । अन्नजस्तै पछि बेच्छु भनेर भण्डारण गर्न सकिने वस्तु होइन । सिजनमा मिल्स मालिकले उखु किनेन भने वर्षभरि लगाइएको उखु खेर जान्छ । उखु किसानहरूको वर्षभरिको श्रम र पसिना खेर जान्छ । ऋण काढेर गरिएको खेतीको फल नपाउँदा ऋण तिर्न उनीहरूलाई समस्या हुन्छ र परिवार पाल्न धौ धौ हुन्छ । अतः सुगर मिल्स सञ्चालकले समयमै उखु नकिन्नु उखु किसानहरूमाथिको विश्वासघातमात्र होइन भोकभोकै मार्ने दाउ हो । उखु लिएर पनि वर्षौँसम्म सोको भुक्तानी नदिनु उनीहरूको पीडामाथि पीडा थपेर मानसिक चोट पु¥याउनु हो । यो उनीहरूको जीवनमाथिको खेलबाड हो ।
उखु किसानहरूको कहिले उखु नलिने त कहिले भुक्तानी नदिने उखु मिल्स सञ्चालकहरूको काम कतै चिनी उत्पादन रोकेर नेपालका लागि आवश्यक चिनी भारतबाट आयात गरिने जाल त होइन ? उखुको भुक्तानी नदिई सञ्चालकले मिल्स नै बन्द गर्ने काम गर्छ भने सरकारले मिल्स सञ्चालन गर्न दबाब दिनुपर्छ । दबाब दिए पनि मिल्स सञ्चालन गरिएन भने सरकारले नै मिल्स सञ्चालन गर्नुपर्छ । उखु किसानलाई प्रोत्साहन दिएर, उखु खेतीको लागि सहुलियत दरमा ऋण दिएर सरकारले साथ दिए उखु खेती विस्तार हुन्थ्यो, उखु उत्पादन बढ्थ्यो र चिनीमा नेपाल आत्मनिर्भर हुन्थ्यो ।
मिल्स सञ्चालकहरू कुनै काङ्ग्रेसका त कुनै सत्तारूढ दलका पुँजीपति, जमिनदार भएकाले उखु किसानहरूको भुक्तानी उपलब्ध गराउने, उद्योग नियमित सञ्चालन गर्नेतर्फ न सरकारको ध्यान गयो न त प्रमुख प्रतिपक्ष दल नेकाको ¤ अतः सरकारले देशभरिका सुगर मिल्स नियमित सञ्चालन गराउन र उखु किसानहरूको बाँकी भुक्तानी समयमै गराउन सरकारले पहल गर्नुपर्छ । सरकारले उखु किसानहरूको समस्या समाधान गर्नुपर्छ । सरकारले पनि उद्योग नखोल्ने, सञ्चालनमा रहेका उद्योग बन्द भए पनि मतलब नराख्ने सरकार किन बेमतलबी हुँदै छ । उखु किसानहरूको मर्का बुझेर सरकार किन समाधानको बाटो खोज्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *