भर्खरै :

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण चौथो चरणमा

काठमाडौँ, २६ असोज । नेपालमा कोरोना सङ्क्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताउनुभएको छ ।
पछिल्लो केही दिन यता सङ्क्रमणको दर पनि उच्च रहेको र पूर्णरूपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको सङ्क्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रूपमा लिनुपर्ने डा. मरासिनीले बताउनुभयो ।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै भाइरोलोजिष्ट डा. मरासिनीले समग्र देशको सङ्क्रमणको स्थितिभन्दा पनि काठमाडौँ उपत्यकाको सङ्क्रमण चौथो चरणमा प्रवेश गरेको बताउनुभयो ।
काठमाडौँ उपत्यका भित्रको सबै समुदायभित्र, घरभित्र, कार्यालय लायतका सबै क्षेत्रमा सङ्क्रमण फैलिइसकेकोले स्थिति नियन्त्रण बाहिर गइसकेको उहाँको भनाइ थियो ।
सरकारले सही नीति लिन नसक्दा सङ्क्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको पनि उहाँले स्पस्ट पार्नुभयो । नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरूको आवतजावतलाई व्यवस्थापन नगर्दा सङ्क्रमण फैलिएको बताउनुभयो ।
सरकारले सीमा नाकामा आउने मानिसहरूलाई अव्यवहारीक व्यवहार गरेकाले पनि सङ्क्रमण समुदायमा फैलिएको विश्लेषण गर्दै उहाँले कोरोना सङ्क्रमणको सुरुवातमा नेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहने नागरिकलाई १४ दिन सिमानामै रोक्नु गलत नीति भएको बताउनुभयो ।
त्यसको परिणामस्वरूप अहिलेको स्थिति देखा परेको डा. मरासिनीले बताउनुभयो । त्यस्तै सरकारले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब सङ्कलन गरेपछि ९÷१० दिनसम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा सङ्क्रमण फैलिन सहयोग पु¥याएको उहाँको भनाइ छ ।
पछिल्लो तीन दिनयताको सङ्क्रमणको स्थिति हेर्ने हो भने डा. मरासिनीले भन्नुभएको कुरालाई करिब पुष्टि गरेको छ । गत शनिबार नेपालमा एकै दिन ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये २ हजार ६ सय ७२ जना सङ्क्रमित काठमाडौँ उपत्यकामा फेला परेका थिए ।
आइतबार २ हजार ७१ जना मानिसमा सङ्क्रमण पुष्टि भएको थियो । त्यसमध्ये काठमाडौँ उपत्यकामा १ हजार ४ सय १६ जना रहेका छन् ।
सोमबार नेपालमा ४ हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने काठमाडौँ उपत्यकामा २ हजार २ सय ८३ जना सङ्क्रमित पुष्टि भएका छन् ।
सोमबार नेपालमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ८ सय ८० पुगेको छ । यसरी दिनप्रतिदिन सङ्क्रमणको दर बढ्दै जानुले सङ्क्रमण समुदाय स्तरमा फैलिएको र चौथो चरणमा प्रवेश गरिसकेको पुष्टि गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *