भर्खरै :

ताजिकिस्तानको राष्ट्रपतिमा इमोमाली पुनः निर्वाचित

दुशान्बे, ताजिकिस्तान, २६ असोज (एएफपी) । ताजिकिस्तानका प्रभावशाली नेता इमोमाली राख्मोन ताजिकिस्तानको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मतसहित विजयी हुनुभएको छ ।
निर्वाचन आयोगका अनुसार नेता इमोमालीले ९० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको छ ।
विपक्षीहरूको खासै उपस्थिति नरहेको ताजिकिस्तानमा ६८ वर्षीय इमोमाली ताजिकिस्तान स्वतन्त्र भएयता सबैभन्दा बढी अवधि शासनमा रहनुहुनेछ । तत्कालीन सोभियत सङ्घबाट अलगिएको ताजिकिस्तानले स्वतन्त्रता प्राप्त गरेलगत्तै नुरसुल्तान नजरबायेभ सबैभन्दा लामो अवधि राष्ट्रपति बन्नुभएको थियो ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार चुनावमा ८५ प्रतिशतभन्दा बढी मतदान भएको थियो ।
छिमेकी मुलुकहरू किर्गिस्तान र पूर्वसोभियत गणतन्त्र बेलारुसमा हालै सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको भन्दै विरोध जारी छ । तर ताजिकिस्तानमा त्यस्तै परिस्थिति उत्पन्न हुने तत्काल सम्भावना देखिएको छैन ।
तर राख्मोन र उहाँको सरकारले कोरोना भाइरसका कारण अर्थतन्त्रमा सङ्कट व्यहोर्नु परिरहेको छ । पाँच लाखभन्दा बढी ताजिकहरू खासगरी रुसमा रोजगारीका लागि गएका छन् ।
लन्डनस्थित एक अनुसन्धान संस्था आइएचएस मार्किटका विश्लेषक अलेक्स कोक्चारोभले अघिल्लो वर्षको तुलनामा यस वर्ष विप्रेषणमा १५–२५ प्रतिशतले कमी आएको बताउनुभयो । रुसमा रोजगारी गुमाएर ठूलो सङ्ख्यामा ताजिकहरू स्वदेश फर्किएको अवस्थामा मुलुकको अर्थतन्त्र ६.५ प्रतिशतले खुम्चने पनि उहाँले बताउनुभयो ।
अर्थतन्त्रमा सङ्कट उत्पन्न भएमा ताजिकिस्तानलाई बाह्य ऋण भुक्तानीमा पनि सङ्कट उत्पन्न हुनेछ । हाल कुल गार्हस्थ उत्पादनको करिब एकतिहाइभन्दा बढी ऋण भार छ, र चीनले ताजिकिस्तानलाई सबैभन्दा बढी ऋण दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *