भर्खरै :

युवाहरू देश र पार्टीका रक्षक

भ्रष्ट आचरण र भ्रष्ट जीवन पद्धतिले व्यक्ति, समाज र देशकै आस्था र इज्जतमा धक्का पु¥याउँछ । भ्रष्ट आचरणले व्यक्तिमात्र होइन देशकै बदनाम गर्छ । सत्तारुढ दलका नेता, मन्त्री र सांसदहरूले भ्रष्टाचार अन्त्य गर्नेतर्फ पाइला नचाल्दा या आफै फसिरहेको हुँदा देश भ्रष्टाचार र कमिसनमा डुबिरहेको छ । समग्रमा भन्नुपर्दा भ्रष्टाचार र कमिसन तिनै नेता, मन्त्री, सांसद र कर्मचारीहरूको घेरामा केन्द्रित छ । यो रोग युवाहरूमा पनि देखिएको छ । युवाहरू क्रान्ति या आमूल परिवर्तनका भरपर्दा उत्तराधिकारी हुन् । पार्टीको कार्यदिशा, नीति र निर्णय कार्यान्वयन गर्न अघि सर्नुपर्ने युवाहरू भ्रष्ट भएमा, चरित्रहीन भएमा, पद र पैसाको भरमा मात्र क्रियाशील भएमा, पद नपाएको झोकमा छिनछिनमा विचार फेर्दै अघि बढेमा र ठूलो दलमात्रै सही ठानेर सत्ता र शक्तिको पछि लागेमा देश कहाँ पुग्छ ?
युवाहरू पार्टी र देशका रक्षक हुन् । उनीहरू आँखा चिम्लेर ठूला शक्तिसामु समर्पित हुनुभन्दा पनि कुन दलले कम्युनिस्टकोे सिद्धान्त र विचारअनुसार काम गरिरहेको छ, कुन दलले कम्युनिस्टको नाउँमा कम्युनिस्टकै बदनाम गरिरहेको छ, सोको सही मूल्याङ्कन गर्नुपर्छ र सही दलको झन्डामुनि बसेर देश जोगाउने, देशलाई स्वाधीन र सार्वभौम बनाउने अभियानमा जुट्नुपर्छ । साम्राज्यवादी, विस्तारवादी, पुँजीपतिहरू कम्युनिस्ट पार्टीलाई सजिलै काम गर्न दिँदैनन्, काम गर्न खोजे पनि रोक्ने, बिथोल्ने या असफल पार्ने काम गर्छन् । उनीहरूमात्र होइन नेपालकै कम्युनिस्ट, वामपन्थी र प्रगतिशील भन्ने कति नेता, मन्त्री, लेखकहरू पनि कम्युनिस्टको झूट कुरा फलाक्छन् । सशस्त्र सङ्घर्ष गर्ने या वर्गसङ्घर्ष गर्ने दल कुनै हालतमा कम्युनिस्ट होइन भनी फुक्छन् । विनासङ्घर्ष संसदले नै कम्युनिस्टको सिद्धान्त र विचारलाई लागू गर्नसक्छ भनी उनीहरू फुक्छन् ।
पुँजीवादी व्यवस्थाको संसदले सानातिना सुधार गर्नसक्छ, तर आमूल परिवर्तन सम्भव छैन । कम्युनिस्ट पार्टीको नेतृत्वमा पटक–पटक सरकार सञ्चालन भए पनि कुनै मौलिक परिवर्तन गर्न सकिरहेको छैन । केही गरिहाल्न खोजियो भने पनि सरकार पुँजीपति, ठूलठूला उद्योगी, व्यापारी, ठेकेदार, कमिसनखोर र कालाबजारीको दबाबमा पर्छ । कोरोना भाइरस दिनानुदिन बढिरहेको सन्दर्भमा सरकारले अलि कडाइ गर्न खोज्दा त ठूला–ठूला उद्योगी र व्यापारीहरूको दबाबमा परेर जाबो लकडाउन गर्न पनि डराउने सरकारले अरू ठूलठूला के नै काम गर्नसक्छ र ¤ युवाहरू क्रियाशील, ऊर्जाशील हुने हुँदा सही पार्टीको सही विचार जनतासमक्ष पु¥याउन सक्षम हुन्छन्, हुनुपर्छ । युवाहरूले सही दृष्टिकोण लिनुपर्छ । युवाहरूले आफ्नो राष्ट्रिय कर्तव्य पूरा गर्नुपर्छ । युवाहरू समाजवादी व्यवस्था स्थापना गर्नेतर्फ अग्रसर हुनुपर्छ । पार्टीको पथप्रदर्शक विचारलाई जनताको घर आँगनमा पु¥याउन सक्रिय हुनुपर्छ । युवाहरूमा जोश, जाँगर हुन्छ । उनीहरू जागरुक र ऊर्जाशील हुन्छन् । समाजमा व्याप्त अन्धविश्वास र कुरीति हटाउन सक्षम हुन्छन् । यसकारण युवाहरू सचेत, सजग र सङ्गठित भई देश र जनताप्रति जिम्मेवार हुनुपर्छ र परिवर्तनको निम्ति जहिल्यै तयारी भएर बस्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *