भर्खरै :

डिसेम्बरवादी गुप्त समाजहरू

कुनै निश्चित उद्देश्य प्राप्त गर्न गुप्तरूपमा गठन गरिएको समूहलाई गुप्त समाज भनिन्छ । सामान्यतः गुप्त समाजहरूमा निश्चित मानिसलाई मात्र सदस्य बनाइन्छ र गुप्त समाजको  अस्तित्व र उद्देश्यबारे सदस्यबाहेक अरूलाई थाहा दिइँदैन । राजनैतिक पार्टीहरू जस्तै गुप्त समाजले साधारण मानिसहरूमा प्रचार र सङ्गठन गर्ने गर्दैन ।

१७ औँ शताब्दीको अन्त्य र १८ औँ शताब्दीको पूर्वाद्र्धमा युरोपका विभिन्न देशहरूमा राजनैतिक उद्देश्य बोकेका गुप्त समाजहरू व्यापकरूपमा फैलिएका थिए । सामन्ती राजसत्ताहरूको विरुद्धमा हुने विद्रोहहरूमा गुप्त समाजहरूको महत्वपूर्ण भूमिका हुन्थ्यो ।

मुक्ति सङ्‍घ (Union of Salvation)

पहिलो डिसेम्बरवादी गुप्त समाजको स्थापना सन् १८१६ को फ्रेबुअरीमा भएको थियो । मुक्ति सङ्‍घ नामको उक्त सङ्गठनका छ जना संस्थापकहरू सबैजना रुसी सेनाका अफिसरहरू थिए । भर्खरै नेपोलियनविरुद्ध मस्कोदेखि पेरिससम्मको लडाइँमा सहभागी भएर फर्केका ती युवा अफिसरहरूको सालाखाला उमेर एक्काइस वर्ष पनि पुगेको थिएन । केही महिनामै मुक्ति सङ्‍घको सदस्यता बढेर तीस पुग्यो । निकिता मुराभयोभ, पाभेल पेस्तेल, मिखाईल लुनीन, सर्गेई मुराभयोभ, एपोस्टोल, सर्गेई ट्रुबेत्स्कोई, इभान याकुस्कीन गुप्त समाजका अगुवा र सक्रिय सदस्यमध्ये थिए ।

रुसमा तानाशाही जार शासनको ठाउँमा संवैधानिक व्यवस्था स्थापना गर्ने र रुसी किसानलाई अमानवीय भूदास प्रथाबाट मुक्त गर्ने ‘मुक्ति सङ्‍घ’को मुख्य उद्देश्य थियो । उद्देश्यमा स्पष्ट भएर पनि समाजका सदस्यहरूमा उद्देश्य प्राप्तिको निम्ति कुन बाटो रोज्ने भन्नेबारे अन्योल थियो । केही युवा राजनैतिक र सामाजिक सुधारबारे जारलाई बिन्तीपत्र लेख्ने पक्षमा थिए भने कोही सैन्य दबाब दिएर जारलाई संविधान जारी गराउन बाध्य पार्ने पक्षमा थिए । अन्ततः सन् १८१७ मा भएको गुप्त समाजको बैठकले जारको निधनपश्चात् नयाँ जारले शपथ लिने समयमा गुप्त समाजका सदस्यको प्रभावमा रहेको सैनिक रेजिमेन्टहरूले शपथ लिन अस्वीकार गरी नयाँ जारलाई संविधान जारी गर्न र सुधार कार्यक्रमहरू लागु गर्न बाध्य पार्ने नीति बनायो । त्यसको निम्ति गुप्त समाजले सेना र सरकारी सेवाका मुख्य पदहरूसम्म आफ्नो प्रभाव कायम गर्नु आवश्यक थियो । सोही बैठकले समाजको नाम ‘पितृभूमिका सच्चा र बफादार छोराहरूको समाज’ राख्ने निर्णय गर्‍यो ।

तर, पाभेल पेस्तेलजस्ता केही युवाहरू जारको निधनसम्म कुर्न सहमत थिएनन् । सम्राटको हत्या गर्ने योजना बनाएर अगुवाई आफ्नो हातमा लिनुपर्ने उनीजस्ता युवाहरूको तर्क हुन्थ्यो । समाजका केही सदस्यहरू राजहत्याको प्रस्तावमा सहमत भएनन् । ठोस योजना र कार्यान्वयनको अभावमा गुप्त समाजमा निराशा बढ्दै गयो । यसैबीच समाजको बहुमत सदस्यले ‘मुक्ति सङ्‍घ’ विघटन गर्ने र अझ व्यापक सदस्यतासहित प्रभाव हुने खालको नयाँगुप्त समाज बनाउने निर्णय गरे ।

समृद्धि सङ्‍घ (Union of Prosperity)

मुक्ति सङ्‍घकै जगमा सन् १८१८ मा ‘समृद्धि सङ्‍घ’ नामक नयाँ गुप्त समाजको स्थापना भयो । सेना र सरकारी सेवामा रहेका सुधारवादी युवाहरूलाई नयाँ समाजमा भित्र्याउन अगुवा सदस्यहरू सक्रिय भए । सुधारको पक्षमा कुलीन युवाहरूबीच समर्थन व्यापक बनाउने हेतुले कानुनीरूपमा सक्रिय सांस्कृतिक र साहित्यिक समाजहरूमा पनि गुप्त समाजका सदस्यहरू सक्रिय भए । कानुनी समाजहरूमा हुने छलफलहरूमा समृद्धि समाजका सदस्यहरू भूदास व्यवस्था, अधिकारीहरूको स्वेच्छाचारिता, सेन्सरसीप, सेनाभित्रको क्रुर सजाय व्यवस्था आदिबारे मन्तव्यहरू दिन्थे, पत्रिकाहरूमा लेख लेख्थे । केही समयमै समाजको सदस्यता दुई सत्र्न्दा बढी पुग्यो । त्यसमध्ये अधिकांश सेनाका अधिकारीहरू नै थिए र केही सैनिक सेवामा नरहेका जमिनदार एवम् सम्भ्रान्त परिवारका युवा सदस्यहरू थिए । ‘समृद्धि समाज’को नीतिगत निर्णय गर्ने एउटा केन्द्रीय बोर्ड र छ जनाको एक कार्यसमिति बनाइएको थियो । सेन्ट पिटर्सवर्गबाहेक मस्को र दक्षिणका तुलचीन, किस्रुनित्र्लगायतका सहरहरूमा क्षेत्रीय समितिहरू बनाएर समाजको प्रभावलाई देशव्यापी बनाउने कोसिस भयो ।

‘समृद्धि समाज’को विधानको पहिलो खण्डमा साङ्गठनिक ढाँचा र कानुनी गतिविधिबारे लेखिएको थियो । सिमित सदस्यहरूलाई मात्र जानकारी गरिने दोस्रो खण्डमा समाजको अन्तिम उद्देश्यबारे लेखिएको थियो । ‘सेना र सरकारी संरचनाहरूमा पहुँच बढाउँदै उपयुक्त समयमा सरकारलाई संविधान जारी गर्न बाध्य पार्ने’ समाजको मुख्य उद्देश्य थियो । त्यस्तै भूदासहरूलाई मुक्त गर्ने अर्को उद्देश्य थियो । सैनिक सेवाको अवधि छोट्याउने एउटा महत्वपूर्ण उद्देश्य थियो । त्यस समयमा एउटा सामान्य रुसी कुलीन युवाले सालाखाला तेइस वर्ष सेना वा सरकारी सेवामा काम गर्नुपर्ने अनिवार्य प्रावधान थियो ।

भियाना सम्मेलनपछि अलेक्जेन्डरले विशाल रुसी साम्राज्यको पूर्वदेखि पश्चिमसम्म भूदासहरूको सैनिक बस्तीहरू बसालेका थिए । शान्तिको समयमा उत्पादनमा सहभागी गराउने र युद्धको समयमा लड्न पठाउने उद्देश्यले बनाइएका ती बस्तीहरूमा कडा सैनिक अनुशासन पालना गर्नुपर्दथ्यो । भूदासहरूले बिवाह गर्न पनि अधिकारीहरूको अनुमति लिनुपथ्र्याे । महिलाहरूले खाना पकाउन पनि साइरनको आवाज पर्खिनुपथ्र्याे र गर्भवती भएको जानकारी समयमै अधिकारीहरूलाई दिनुपथ्र्यो । उदार विचारका डिसेम्बरवादीहरू जेलसरहको त्यस्ता सैनिक बस्तीहरूको विरुद्धमा थिए ।

समाजको अर्को उद्देश्य रुसी प्रशासनको मुख्य पदहरूबाट ‘विदेशी’ निकाल्नु थियो । त्यस बखत जारले सरकारका महत्वपूर्ण पदहरूमा जर्मनहरू वा बाल्टिक क्षेत्रका विभिन्न जातका मानिसहरूलाई विश्वासका साथ नियुक्त गर्थे । ‘रुसीहरू रुसको निम्ति काम गर्छन भने अन्य जातिका मानिसहरू जारको निम्ति काम गर्छन्’ भन्ने जारको विश्वास थियो ।

युरोपमा स्थायित्व कायम गर्ने नाममा  रुस, अस्ट्रिया र प्रसियाको संयुक्त सेनाले सन् १८२० देखि १८२२ को बीचमा इटालीको नेपल्स र पेडमोन्ट, स्पेन र ग्रीसमा संविधानको माग गर्दै भएका सामन्तवादविरोधी विद्रोहहरूलाई निर्मतापूर्वक दबायो । रुसी सम्राट अलेक्जेन्डर युरोपेली प्रतिक्रियावादी सत्ताहरूका नाइके बनेका थिए । समाजका केही सदस्यहरूमा जारमार्फत नै रुसमा सुधारका कार्यक्रमहरू लागु गर्न सकिन्छ कि भन्ने झिनो आशा थियो । विदेशमा क्रान्तिकारी आन्दोलनहरू दबाउन अलेक्जेन्डरले देखाएको सक्रियताले गुप्त समाजमा ‘बिन्तीपत्र होइन सैनिक विद्रोह’ भन्ने भावना बलियो हुँदै गयो । सैनिक दवावले शान्तिपूर्णरूपमा संविधान जारी गराउन सक्ने सम्भावनाबारे सदस्यहरूमा शङ्का बढ्दै गयो । यसैबीच ‘समृद्धि समाज’मा जारलाई फालेर सम्पूर्ण व्यवस्था नै पल्टाउनुपर्छ र रुसी गणतन्त्र स्थापना गर्नुपर्छ भन्ने पक्षमा मत बढ्दै गयो । दक्षिणको तुलचीन शाखाका प्रमुख पाभेल पेस्तेल र भसिलकोभ शाखाका प्रमुख सर्गेई मुराभयोभ लगायतका सदस्यहरू त्यस विचारका प्रवक्ता थिए । समाजको मूल नेतृत्व संवैधानिक राजतन्त्रको पक्षमा थियो, जारको हत्याको विरोधमा थियो ।

यसैबीच राजधानीको सेमयोनोभ्स्की रेजिमेन्टमा घटेको एउटा घटनाले ‘समृद्धि समाज’लाई विघटनको सङ्घारमा पुर्‍यायो । सन् १८२० को शिशिरमा नयाँ आएको कर्णेलको क्रुर व्यवहारले रेजिमेन्टमा नरम विद्रोह निम्त्यायो । सैनिक अधिकारीहरूले रेजिमेन्टमा गुप्तरूपमा वितरण गरिएका दुईचटा पर्चा भेट्टाए । एउटा पर्चामा जारलाई सबभन्दा ठूलो डाँकु घोषणा गरिएको थियो र जारको तानाशाहीविरुद्ध कानुनी शासनको निम्ति विद्रोह गर्नुपर्ने लेखिएको थियो । त्यस्तै अर्को पर्चामा अन्य रेजिमेन्टहरूलाई आफ्ना सैनिक हाकिमहरूलाई गिरफ्तार गर्न र आफूमध्येबाटै अफिसरहरू निर्वाचित गर्न आह्वान गरिएको थियो । यसमा ‘समृद्धि समाज’का सदस्यहरूको नैतिक समर्थन भएपनि प्रत्यक्ष संलग्नता थिएन । तर, त्यस घटनाले सजग बनेका जारले सर्गेई मुराभयोभजस्ता रेजिमेन्टका प्रगतिशील अफिसरहरूलाई राजधानीबाट निकाला गरी दक्षिणको सैनिक टुकडीहरूमा पठाइदिए । रेजिमेन्टको सम्पूर्ण सैनिकहरूलाई ककेशसको लडाइँमा पठाइयो ।

सेमयोनोभ्स्की घटनापछि कमजोर मन भएका नरम स्वभावका सदस्यहरू ‘समृद्धि समाज’बाट टाढिन थाले । राजधानी सेन्ट पिटर्सवर्ग र मस्कोका समूहहरू निस्कृय बने । अन्ततः विभिन्न शाखाका दर्जन मानिसहरूको भेलाले सन् १८२१ को सुरुमा ‘समृद्धि समाज’ लाई विघटन गर्ने निर्णय गर्‍यो । समाजलाई ‘उग्रपन्थी’ र पलायनवादीहरूको प्रभावबाट मुक्त गर्न र जारको आँखा छल्न गरिएको निर्णय थियो त्यो । केही सिमित विश्वासिला मानिसहरूको नेतृत्वमा ‘उत्तरी समाज’को नाममा गुप्त समाज सक्रिय रह्यो । दक्षिणको युक्रेनी क्षेत्रमा रहेका शाखाहरूले विघटनको निर्णय स्वीकार गरेनन् र स्वतन्त्ररूपमा ‘दक्षिणी समाज’को नाममा सक्रियता कायम राखे ।

 

उत्तर र दक्षिणी गुप्त समाजहरू

उत्तरी गुप्त समाज केही समय निस्कृय रह्यो । त्यसमा आबद्ध सदस्यहरूको सङ्ख्या औँलामा गन्न सकिने अवस्थामा पुग्यो । तर, १८२३ बाट उत्तरी समाज फेरि चलमलाउन थाल्यो । प्रिन्स सर्गेई ट्रुबोत्स्कोई, प्रिन्स  येभ्गेनी ओभ्लेन्सकी र निकिता मुराभयोभ गरी तीन जनाको कार्य समिति बन्यो । निकिता मुराभयोभ पश्चिम युरोप र अमेरिकाका राजनैतिक साहित्यहरूको व्यापक अध्ययन भएका व्यक्ति थिए । विद्रोहपछि स्थापना हुने संवैधानिक राजतन्त्रात्मक व्यवस्थाको निम्ति संविधानको खेस्रा उनले गरे । भूदासहरूको मुक्ति र संवैधानिक व्यवस्था ल्याउन लामो समय शान्तिपूर्ण प्रचारको अवधि पार गर्नुपर्ने उनको मत थियो । उत्तरी समाजमा गणतान्त्रिक व्यवस्थाका पक्षधरहरूको पनि सहभागिता थियो ।

दक्षिणी समाज गणतन्त्रवादी पाभेल पेस्तेलको नीतिगत नेतृत्वमा चलेको थियो । कार्यक्षेत्रमा सेमयोनोभ्स्की घटनापछि दक्षिण धपाइएका सर्गेई मुराभयोभ र मिखाईल रुईमीन जस्ता युवाहरू सक्रिय भए । निकिता मुराभयोभले जस्तै पाभेल पेस्तेलले भावी रुसको निम्ति गणतान्त्रिक संविधान तयार पारेका थिए । राजनैतिक र सामाजिक परिवर्तनको निम्ति दक्षिणी समाजमा आबद्ध युवाहरू अधैर्य बनेका थिए । उनीहरू कुनैपनि स्वरूपमा जार वा राजासहितको व्यवस्थाको विरुद्धमा थिए । त्यसको निम्ति जारमात्र होइन आवश्यक परे उनका सम्पूर्ण उत्तराधिकारीहरूको सफाया गर्नुपर्ने विचार केही सदस्यहरू राख्थे । पाभेल पेस्तेल भूदासहरूको मुक्तिसँगै राज्यको खेतीयोग्य जमिन आधा राष्ट्रियकरण गर्ने र आधा मुक्त किसानहरूलाई वितरण गर्ने पक्षमा थिए ।

दुवै गुप्त समाजहरूमा विद्रोहको सफलतापछि कस्तो व्यवस्था ल्याउने भन्ने विषयमा व्यापक बहस हुन्थ्यो तर विद्रोहको सफलताको निम्ति कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा अन्योल थियो । दुवै गुप्त समाज १८२० को स्पेनिस विद्रोह जस्तै शुद्ध सैनिक विद्रोहको माध्यमबाट अगाडि बढ्ने तर सकेसम्म कममात्र रगत बगाउने पक्षमा थियो । फ्रान्सेली क्रान्तिमा जस्तै व्यापक विद्रोहले अराजकता निम्त्याउँछ भन्ने विचार प्रभावशाली थियो । जनताको सङ्गठन गर्ने कुरामा उनीहरूले ध्यान दिएका थिएनन् ।

सन् १८२३ मा पाभेल पेस्तेलले दक्षिणी गुप्त समाज कुनै पनि समयमा विद्रोहको निम्ति तयार रहेको खबर उत्तरी समाजमा पठाए र उत्तरी समाजको साथ खोजे तर उत्तरी समाज तत्काल विद्रोहको निम्ति तयार थिएन । संयुक्त छलफलमा कुनै पनि विद्रोह दुवै समाजको सहमतिमा मात्र अगाडि बढाउने टुङ्गो भयो । दुवै समाजले छुट्टाछुट्टैरूपमा आफ्ना तयारी गतिविधि अगाडि बढाइरहे ।

सन् १८२४ मा दक्षिणी समाज र पोल्यान्डको गुप्त समाजहरूबीच एक सम्झौता भयो । पोलियाली क्रान्तिकारीहरूले रुसीहरूको विद्रोहमा साथ दिने र विद्रोहको सफलतापछि पोल्यान्डलाई रुसबाट स्वतन्त्र हुन सहयोग गर्ने सहमति बन्यो । सन् १८०७ मा नेपोलियनले प्रसियाबाट टुक्र्याएर पुनः स्थापित गरेको पोल्यान्ड (डची अफ वार्सा) को राजधानी वार्सासहितको दुईतिहाइ भूभाग सन् १८१५ को भियाना सम्मेलनबाट अलेक्जेन्डरले रुसी साम्राज्यको अधिनमा ल्याएका थिए ।

सन् १८२५ को गर्मीमा संयोगले दक्षिणको युक्रेनी क्षेत्रमा सक्रिय अर्को एक क्रान्तिकारीहरूको समूह ‘स्लाभ जातिहरूको संयुक्त सङ्‍घ’ सँग दक्षिणी समाजका नेतृत्वको भेटघाट भयो । विद्रोह सफलतापछि रुसी, युक्रेनी, बेलारुसीलगायत विभिन्न स्लाभ जातिहरूको स्वायत्ततासहितको सङ्घीय देश बनाउने सर्तमा ‘स्लाभ जातिहरूको संयुक्त सङ्‍घ’ दक्षिणी सङ्‍घमा सामेल हुन तयार भए ।

सन् १८२४ मा उत्तरी समाजका नेतृत्वकर्तामध्ये एक प्रिन्स सर्गेई ट्रुबेत्स्कोई युक्रेनमा सरुवा भए । उनको ठाउँमा उत्तरी समाजको नेतृत्वमा कोन्द्राति रिलेत्र् नामक एक कवि स्थापित हुँदै थिए । उनी गणतन्त्रवादी दृष्टिकोण– झुकाव राख्थे । प्रिन्स सर्गेई ट्रुबेत्स्कोई दक्षिणमा रहँदा निरन्तर दक्षिणी गुप्त समाजसँग सम्पर्कमा रहे । सन् १८२५ को नोभेम्बरमा उनी राजधानी फर्किनुअघि दुवै समाजको बीचमा सन् १९२६ को मे महिनामा दक्षीणी रुसमा सैनिक निरीक्षणमा आउँदा जारको हत्या गरेर विद्रोह सुरु गर्ने, उत्तरी समाजले जारका उत्तराधिकारीहरूलाई गिरफ्तार गर्ने, दक्षिणको सेना मस्को र राजधानी सेन्ट पिटर्सवर्ग पुगेर कब्जा गरी एक अन्तरिम सरकार स्थापना गरेर नयाँ संविधान जारी गर्ने सहमति भैसकेको थियो ।

तर, घटनाक्रमले अर्कै मोड लियो । विद्रोहको योजना गरिएको ५ महिनाअघि नै सन् १८२५ को डिसेम्बरमा जार अलेक्जेन्डर प्रथमको निमोनियाले मृत्यु भयो । अलेक्जेन्डरको कुनै सन्तान नभएको र माहिलो भाइ कोन्स्तानतीनले राजगद्दी सम्हाल्ने इच्छा नदेखाएकोले केही हप्ता उत्तराधिकारको अन्योलमा बित्यो । जारको मृत्यु र त्यसले निम्त्याएको उत्तराधिकारको अन्योल विद्रोहीहरूको निम्ति एक मौका थियो । तर, दूरीका कारण उत्तर र दक्षिणका समाजहरूबीच तत्काल सम्पर्क गर्न सकिने अवस्था थिएन । अन्ततः सेनाले नयाँ जार निकोलस प्रथमको नाममा शपथ लिने भनी तोकिएको डिसेम्बर १४ (२६) का दिन विद्रोह सुरु गर्ने निर्णय ‘उत्तरी समाज’ले गर्‍यो । त्यसको जानकारी ‘दक्षिणी समाज’ मा पुर्‍याउन पठाइएका दूत दुई हप्तापछि दक्षिणको भसिलकोभ सहर पुग्दासम्म पिटर्सवर्गको विद्रोह असफल भएर दक्षिणका क्रान्तिकारीहरूको नाममा पक्राउ पूर्जी जारी भैसकेको थियो ।

(जार विरुद्ध षड्यन्त्र – २)

Leave a Reply

Your email address will not be published. Required fields are marked *