भर्खरै :

सार्वजनिक सवारी साधनमा यात्रु ठगिँदै

 

सरकारले तोकेको स्वास्थ्य मापदण्डविपरीत सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु राखेर ५० प्रतिशतभन्दा बढी भाडा लिन थालेका छन् ।
सवारी साधनमा भाडा दररेट नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिएको तथा भाडामा ५० प्रतिशत वृद्धि गरेर लिने गरेको यात्रुहरूको गुनासो छ । अनुगमन गर्ने निकाय मौन रहेको हुँदा सवारी भाडा मनपरी लिइएको छ ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्मले स्वास्थ्य मापदण्डको पालना नगरेको पाइएको छ । ट्राफिक प्रहरी सवारी साधन रोकेर यात्रुको गुनासो सुनेर समस्या समाधानतर्फ लाग्नुपर्छ ।
सरकारले सार्वजनिक यातायातमा सीट क्षमताअनुसार यात्रु राख्न पाउने नियम लागू गरेको छ । सरकारले पुरानै भाडादर कायम गरे पनि लामो रुटमा चल्ने सवारी साधनले ५० प्रतिशतभन्दा बढी भाडा असुल्दै आएका छन् । सवारी साधनको जाँचलाई निरन्तरता दिनुपर्छ । यात्रुका समस्या समाधानका लागि सबै जिल्लाका सबै स्थानमा यात्रु सहायता कक्षको स्थापना गर्नुपर्छ । ट्राफिक नियमविपरीत चल्ने सवारी साधनलाई आवश्यक ट्राफिक नियमानुसार कारबाही गर्नुपर्छ ।
सार्वजनिक सवारी साधनको यातायात भाडा सुनिश्चित गरिनुपर्छ । भाडा निश्चित नहँुदा चालक र सहचालकले मनपरी भाडा उठाएका छन् । ५० प्रतिशत भाडा लिन नपाउने सरकारले निर्णय गरे पनि बढी भाडा उठाइरहेको यात्रुहरू बताउँछन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पालना नगरी चालक र सहचालकमात्र होइन यात्रुहरू पनि लागिरहेको देखिन्छ । लामो र छोटो दूरीका सवारी साधनमा स–साना बच्चा र झोलाको पनि भाडा उठाइरहेको गुनासो यात्रुहरूको हो ।
टिकट काउन्टरहरूले लामो दूरीको यात्रामा मनपरी भाडा उठाइरहेका छन् । बढी भाडाको विरोध गर्नसक्ने यात्रुहरूको भाडा र सर्वसाधारणसँग लिइने भाडा फरक हुन्छ । त्यस्तै सवारी साधनको अर्को समस्या छटमा सामानसँगै मान्छे बस्नु पनि हो । छटमा बस्ने काम लामो सवारी साधनमा भएको देखिन्छ । टिकट काउन्टर सम्बन्धित निकायबाट स्वीकृत लिइएको हुँदैन, ठाउँ निश्चित गरेर भाडा दर निर्धारण गरिएको हुँदैन । भाडा दर टाँसेको भए, दूरीअनुसार भाडा दर निर्धारण गरिएको भए यात्रुहरूलाई ठगिन पाउँदैन । अतः सम्बन्धित निकायको अनुगमन बरोबर भइरहनुपर्छ । भाडा दर निश्चित हुनुपर्छ । ठाउँको दूरी छोटो भए पनि गाडी चढ्नेबित्तिकै लामो दूरीसरह भाडा लिने काममा सुधार हुनुपर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *