भर्खरै :

जलवायु परिवर्तनः एउटा सत्य

कोभिड–१९ महामारीसँगै संसारले जलवायु परिवर्तनको प्रभावलाई गम्भीरतापूर्वक लिन थालेको छ । वैज्ञानिक र अध्येताहरूले मानिस समयमै सचेत नहुने हो भने कोभिडभन्दा चर्को महामारी आगामी दिनमा झेल्नुको मानव समुदायसँग विकल्प नभएको बताइरहेका छन् । जलवायु परिवर्तनलाई ‘हल्ला’ को संज्ञा दिने मानिसको संसारमा कमी छैन । जलवायु परिवर्तनलाई वास्तविकता मान्दा प्राकृतिक स्रोत साधनमाथि आफूले गर्दै आएको अचाक्ली दोहनमा रोक लाग्ने र परिणामतः आफ्नो नाफामाथि नै धक्का पुग्ने हिसाबकिताब बुझेका पुँजीपति वर्गले यसलाई हल्लाबाजी भनी प्रचार गरिरहेका छन् । तर, संसारभर पछिल्ला दिनहरूमा देखापरेका प्राकृतिक विपत्ति र मानव समुदायको अस्तित्वमा समेत आँच आउन सक्ने प्रकोपको कारण जलवायु परिवर्तन हल्ला नभई सत्य भएको पुष्टि हुँदै छ । औद्योगिक र ऊर्जा उत्पादन विस्तारको नाममा पुँजीपति वर्गले वातावरण र जलवायुमा प्रतिकूल प्रभाव पार्ने प्रदूषकहरूको मनपरी प्रयोग गर्दा पृथ्वीबाट धेरै जीवजन्तु र बोटबिरूवा लोप भइसकेका छन्, लोप हुने क्रम जारी छ । पृथ्वीलाई मानिसको एकलौटी जस्तो गरी प्राकृतिक सम्पदा र स्रोत–साधनको अत्याधिक दोहनले प्रकृतिले सम्हाल्दै आएको पर्या–पर्यावरण बिथोलिएको छ । फलतः जलवायुमा निम्तिएको असन्तुलनले आज मानिसमाथि नै प्रहार सुरू गरेको छ ।

मानिसमात्र होइन, पृथ्वीकै अस्तित्वमाथि आइपरेको यो चुनौती हल्ला होइन, सत्य हो । यो कुनै समुदाय र देशको मात्र समस्या होइन, सम्पूर्ण मानव जातिमाथिको खतरा हो । यो चुनौती सामना गर्न संसारभरका जनताको साझा समझदारी र पहल आवश्यक छ । तर, संसारका धनीमानीहरू यसलाई समस्या नै मारिरहेका छैनन् । कोभिड, इबोला, सार्सजस्ता विपत्तिले गरिब देशका जनता र धनी देशका गरिब जनता नै मर्ने गरेकोले यसलाई उनीहरू समस्या नै मानिरहेका छैनन् ।

पृथ्वीको उत्तर र दक्षिणी ध्रुवमा जमेको हिउँ विश्वव्यापी तापमान वृद्धिको कारण पग्लिन थालेपछि समुद्री सतह बढ्दा तटीय क्षेत्रका देशहरूको अस्तित्व खतरामा परेको छ । हिउँभित्र जमेको विकिरणले संसारको तापमान वृद्धि गरिरहेको छ । तापमान वृद्धिकै कारण संसारमा डढेलो, समुद्री आँधी, भूकम्प र असमयमा बाढी पहिरो जस्तो विपत्तिको दर बढिरहेको छ । यस्ता विपत्तिले मानिससँगै असङ्ख्य पृथ्वीवासी जीवजन्तु र बोटबिरूवालाई बाँच्न कठिन बनाएको छ । विशेषतः गरिब देश र धनी देशका गरिब जनता यस्ता विपत्तिको कारण कष्टकर समय भोग्न बाध्य छन् । कोभिड–१९ महामारीको कारण आज संसारले भोगिरहेको चुनौती यसको एउटा उदाहरणमात्र हो ।
मानिसमात्र होइन, पृथ्वीकै अस्तित्वमाथि आइपरेको यो चुनौती हल्ला होइन, सत्य हो । यो कुनै समुदाय र देशको मात्र समस्या होइन, सम्पूर्ण मानव जातिमाथिको खतरा हो । यो चुनौती सामना गर्न संसारभरका जनताको साझा समझदारी र पहल आवश्यक छ । तर, संसारका धनीमानीहरू यसलाई समस्या नै मारिरहेका छैनन् । कोभिड, इबोला, सार्सजस्ता विपत्तिले गरिब देशका जनता र धनी देशका गरिब जनता नै मर्ने गरेकोले यसलाई उनीहरू समस्या नै मानिरहेका छैनन् । आखिर उनीहरूको आँखामा गरिब र कामदार जनता भनेको ‘पृथ्वीको भार’ र औजारमात्र हुन् । सके उनीहरू यस्ता विपत्तिको बेला नाफा दोब्बर–तेब्बर गर्न सम्भव सबै प्रयास गर्छन् । जलवायु परिवर्तनले गरिब देश र धनी देशका गरिब जनतालाई बढी प्रभाव पार्ने भएकोले यसप्रति गरिब र श्रमिक जनता बढी सजग बन्न जरूरी छ । धनी वर्गले यसलाई आफ्नो समस्या नठानेको हुनाले संसारका गरिब, कामदार र न्यायप्रेमी जनताले जलवायु परिवर्तनको क्रमलाई रोक्न सङ्घर्ष थाल्नुपर्ने छ ।
जलवायु परिवर्तन वैज्ञानिक र वातावरणीय प्रक्रिया जस्तो देखिए पनि खासमा यसको समाधान राजनीतिक पद्धतिसँग गाँसिएको छ । न्यायपूर्ण राजनीतिक पद्धतिले मात्र जलवायु परिवर्तनको चुनौती समाधान गर्नसक्छ । धनी वर्गको हालीमुहाली चल्ने राजनीतिक पद्धतिले जलवायुमा मडाराइरहेका चुनौती समाधान गर्नसक्दैन । प्राकृतिक स्रोत–साधनको दोहनमा आधारित नाफाखोर पुँजीपति वर्गले जलवायु परिवर्तनको मुद्दालाई ओझेलमा पारेर आफ्नो लुटको ‘स्वर्ग’लाई अझ कुबेरको ढुकुटी बनाउन लागिरहेको हुन्छ । उनीहरूलाई धनको मातमा आफ्नो अस्तित्व नै सकिन लागेको हेक्का हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *