भर्खरै :

पानीका मुहान सफा गर्ने र गैससले अनुमति लिनुपर्ने भक्तपुर नपाका निर्णय

भक्तपुर, १६ जेठ । भक्तपुर नगरपालिकाले भोलि सिठी नखःका दिन नगरभित्रका सबै पानीका मुहानहरुका सरसफाई गर्न नगरबासीलाई आह्वान गरेको छ । मंगलबार बसेको नगरपालिकाको बोर्ड बैठकले नेवारी परम्पराअनुसार भोलि मनाइने सिठी नखःको दिन नगरमा भएका सबै इनार, ढुंगेधारा लगायत पानीका मुहान सफा गर्न नगरबासीलाई आह्वान गर्ने निर्णय गरेको हो । भक्तपुर नगरमा गर्मी महिनामा पेचिलो बन्ने पानीको अभाव केही हदसम्म हल गर्न नगरपालिकाले त्यस्तो निर्णय गरेको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिनुभयो ।
सरसफाईको लागि आवश्यक पर्ने सामग्री नगरपालिकाले उपलब्ध गराउने निर्णय पनि बोर्ड बैठकले गरेको छ ।
‘त्यसको लागि नगरबासीलाई आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छौं’, ज्याख्वले भन्नुभयो । नेवारी परम्पराअनुसार सिठी नखःको दिन स्थानीय पानीका स्रोतहरुको सरसफाई गर्ने गरिन्छ ।
बैठकले नगरभित्र काम गरिरहेका वा काम गर्ने योजनामा रहेका सबै गैरसरकारी वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई नगरपालिकाको अनुमतिमा मात्र काम गर्न आह्वान गर्ने निर्णय समेत गरेको छ ।
अब भक्तपुर नगरभित्र गतिविधि गर्न कुनै पनि अ–गैससले नगरपालिकामा अनुमति माग्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *