भर्खरै :

महामारी नियन्त्रण गर्न जनताले अझै त्याग गर्न तयार हुनुपर्ने

जेनेभा । संसारका विभिन्न देशमा कोरोना भाइरसको दोस्रो उभार अझ गएगुज्रेको अवस्थामा पुग्दा विश्व स्वास्थ्य सङ्गठनले सोमबार महामारी नियन्त्रण गर्न ‘धेरै–धेरै मानिसले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने’ बताएको छ ।
“हामीले यो भाइरसलाई जसरी पनि पछार्नु परेको छ । त्यसको निम्ति धेरै–धेरै मानिसले आफ्नो व्यक्तिगत जीवनमा त्याग गर्नुपर्ने हुनसक्छ”, विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत आकस्मिक स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा.माइक रेनले जेनेभास्थित मुख्यालयमा आयोजित नियमित पत्रकार भेटघाटमा भने ।
“महामारीको दोस्रो चरणको तेज लहर नियन्त्रण गर्न लकडाउन र आवतजावत बन्द गर्नुपर्ने हुनसक्छ । मानिसलाई घरमै बस्न आदेश जारी गर्नुपर्ने हुनसक्छ”, उनले भने ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत साता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या संसारभर नै अहिलेसम्मको सबभन्दा उच्च तहमा पुगेको छ । अधिकांश उत्तरी गोलाद्र्धका देशहरूमा सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढिरहेको छ । विशेषतः युरोप र उत्तर अमेरिकाका केही स्थानमा सघन उपचार कक्ष भरिभराउ भइसकेको छ । तथ्याङ्कले २७ वटा युरोपेली सङ्घका देशहरू र बेलायतमा दैनिक झन्डै १ लाख ६८ हजार सङ्क्रमित बढिरहेको छ । संरा अमेरिकामा पछिल्ला सात दिनमा नोबेल कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या कम्तीमा ५ लाख पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानम घिब्रिससले संसारका नेताहरूले कोभिड–१९ लाई राजनीतिकरण नगर्न समेत आग्रह गरेका छन् । नेताहरूले सक्रियतापूर्वक लागे भाइरसलाई पराजित गर्न सक्नेमा उनले जोड दिए ।
“जुन देशमा राजनीतिक विभाजन हुन्छ, त्यहाँ विज्ञान र स्वास्थ्यकर्मीहरूको निर्दयी अपमान हुने गरेको छ । ती देशमा अन्योल बढिरहेको छ र मर्नेको सङ्ख्या उकालो लागिरहेको छ”, महानिर्देशकले भने ।
उनले मानिसहरूले भाइरसलाई गम्भीरतापूर्वक नलिँदासम्म आर्थिक पुनःस्थापना, केटाकेटीलाई विद्यालय पठाउने, व्यापार व्यवसाय खुल्ने र जनजीवन सामान्य दिशामा फर्किने समय टाढा हुने बताए ।
“हामीले भाइरसलाई पछार्न सक्छौँ । तर, त्यसको निम्ति हामीले सबैथरी काम गर्नुपर्छ, सम्झौता गर्नुपर्छ र त्याग गर्न तयार हुनुपर्छ”, मानिसहरूलाई सामाजिक दूरी, मास्क लगाउन, नियमित हात धुने, अरू मानिसअघि नखोक्न र सकेसम्म भीडभाडमा नजान आग्रह गर्दै उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *