भर्खरै :

नेकपाका नेताहरू कम्युनिस्ट भन्न नै लाज मान्छन्

नेकपाभित्र शक्ति र सत्ता हावी भयो, व्यक्ति केन्द्रित भयो, विचार केन्द्रित भएन, बाटो बिराउँदै छ, पार्टी कमजोर बनाउँदै छ । यो भनाइ कुनै विपक्षी नेताहरूको होइन, नेकपाकै केन्द्रीय नेताहरूको भनाइ हो । पार्टी विधि र प्रणालीमा नचलेसम्म, पूर्वएमाले र पूर्वमाओवादी यथास्थितिमा रहेसम्म दलभित्र अन्तरविरोध, विवाद अन्त्य नहुने विचार पनि उनीहरूकै हो । नेकपाभित्र रहेका केही सच्चा कम्युनिस्टहरू, माक्र्सवादी र लेनिनवादीहरू नेकपाले वर्गीय राजनीति गरेन, सिद्धान्त र विचारको राजनीति गरेन, समाजवादी सिद्धान्त र विचारमा रहेर काम गरेन भनी टिप्पणी गर्छन् । तर, अधिकांश नेकपाका नेता र सांसदहरू पैसा र पदकै कुरा गर्छन्, सिद्धान्त र विचार थाती राख्छन्, वर्गीय राजनीति गर्दैनन् ।
कम्युनिस्टहरू जहाँ बसे पनि जहाँ पुगे पनि समाजवादी व्यवस्था ल्याउन निरन्तर लागिरहन्छन् । कम्युनिस्टहरू सिद्धान्त र विचारको राजनीति गर्छन्, सिद्धान्त र विचारलाई व्यवहारमा लागू गर्न अघि सर्छन् । वैज्ञानिक समाजवाद ल्याउनेतर्फ बहस गर्छन्, पूर्वाधारहरू तयार गर्दै जनतालाई सचेत र सङ्गठित गर्छन् । तर, नेकपाको सिद्धान्त र विचारमा खिया लागेको छ, व्यक्तिगत महत्वाकाङ्क्षालाई जोड दिइएको छ । नेकपाले वर्गीय आधार नै छोडेको छ । सरकारी नीति तथा कार्यक्रम र बजेट आधारभूत वर्गको पक्षमा छैन या श्रमजीवी वर्गको पक्षमा छैन । नेकपा दलाल पुँजीपति वर्गको पक्षमा लागेको नेकपाका केन्द्रीय सदस्यहरूको भनाइ हो ।
नेकपा सिद्धान्ततः कम्युनिस्ट पार्टी भए पनि व्यवहारतः पुँजीवादी पार्टी नै हो, यसमा शङ्का छैन । यही कारण पार्टीभित्र गुट र उपगुटहरूको समीकरण भइरहेको छ । गुट उपगुटमा विभाजित नेताहरूलाई आ–आक्षनो पक्षमा ल्याउन संस्थापन पक्षले कहिले के कहिले केको प्रलोभन दिइरहेको छ । नेताले नेतालाई देखाइरहेको प्रलोभन र भइरहेको राजनीतिले उनीहरू आफूलाई कम्युनिस्ट भन्न लाज मान्छन् तर उनीहरू नेकपाभित्रै छन् । आफूलाई कम्युनिस्ट भन्न लाज मान्ने नेताहरूले कम्युनिस्टको सिद्धान्त र विचार कसरी लागू गर्छन्, कसरी जनताबीच भिज्छन्, कसरी समाजवादी सिद्धान्तको राजनीति गर्छन् ? नेकपाका नेताहरूको यही विडम्बना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *