भर्खरै :

४६ औँ राष्ट्रपति चुन्न संरा अमेरिकामा मतदान

संरा अमेरिकाम वाशिङ्टन, ३ नोभेम्बर । संरा अमेरिकी जनताले आफ्नो ४६ औँ राष्ट्रपति चुन्न मङ्गलबार मतदान गरेका छन् । संरा अमेरिकामा हरेक चार वर्षमा चौथो वर्षको नोभेम्बर महिनाको पहिलो मङ्गलबार राष्ट्रपति निर्वाचन गर्ने चलन छ । यसपालिको निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक दलका नेता जो बाइडेनमध्ये एक जनाले निर्वाचनमा जीत हासिल गर्नेछन् । मत सर्वेक्षणहरूले भने बाइडेनको पक्षमा मत परिणाम जाने देखाएको छ । तथापि, मत सर्वेक्षणकै आधारमा अन्तिम टुङ्गोमा पुग्न सकिने अवस्था छैन । अघिल्लो सन् २०१६ को निर्वाचनमा पनि सर्वेक्षणहरूले हिलारी क्लिन्टन जित्ने देखाए पनि अन्तिम परिणाम भने ट्रम्पको पक्षमा गएको थियो ।
कोभिड–१९ महामारीबाट संसारमै सबभन्दा बढी प्रभावित देशमा राष्ट्रपति पदको लागि भएको निर्वाचनको मतदानको दिन (इलेक्सन डे) मङ्गलबार ९ करोड ८० लाख मतदाताले मतदान गरेका छन् । खासमा अमेरिकामा मतदानको दिन भनेको निर्वाचनको क्रममा मत दिने अन्तिम दिन हो । त्यहाँको निर्वाचन प्रणालीअनुसार मतदानको दिन मत खसाल्न नभ्याउने मतदाताले त्यसअघि नै मतदान गर्नसक्छन् । त्यसरी अगाडि नै गरिने मतदानलाई अर्ली भोटिङ भनिन्छ । यसअघि संरा अमेरिकाका अधिकांश राज्यमा रहेको यो व्यवस्था महामारीलाई ध्यानमा राखी यो वर्ष सबै राज्यमा त्यस्तो बन्दोबस्त मिलाइएको छ । मतदानको दिन अर्थात् मङ्गलबारअघि नै संरा अमेरिकाका १० करोड जनताले मतदान गरिसकेका छन् । अघिल्लो निर्वाचन सन् २०१६ को तुलनामा अर्ली भोटिङमा यो ७० प्रतिशतले बढी हो । महामारीको कारण यो वर्षअघि नै मतदान गर्ने र इमेलमार्फत मतदान गर्ने प्रणालीप्रति मतदाता आकर्षित भए । मतदानको अघिल्लो दिन सोमबारमात्र ९ करोड ५० लाख मतदाताले मतदान गरेका थिए । अर्ली भोटिङ र इमेलमार्फत मतदान गर्ने मतदाताको सङ्ख्या बढेसँगै यो वर्ष मतगणना कसरी र कहिलेबाट गर्ने भन्नेमा केही अनिश्चय देखिएको छ । अघिल्लो निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन लोकप्रिय मत (पपुलर भोट) मा आफ्ना प्रतिस्पर्धी ट्रम्पभन्दा अघि भएर पनि इलेक्ट्रोल कलेजमा पछि पर्दा हार्नु परेकी थिइन् । निर्वाचनमा धाँधली भएका चर्चा पनि व्यापक थियो । त्यसकारण यसपालि दुवै पक्ष निर्वाचनको मतगणना र परिणामप्रति ज्यादै संवेदनशील भएको बताइएको छ । दुवै पक्ष कुनै पनि विषयमा कति पनि सम्झौता गर्ने अवस्थामा छैनन् ।
मङ्गलबार न्यु हेम्स्पायरका डिक्सभिल्ले नोट्चका मतदाताले पहिलो मतदान गरेर मतदानको आरम्भ गरेका थिए । राष्ट्रपति निर्वाचनमा सो समुदायले नै सबभन्दा पहिले मतदान गर्ने परम्परा छ । संरा अमेरिकी राष्ट्रपति ट्रम्पले गत शनिबार नै फ्लोरिडाको पाम बीचमा मतदान गरेका थिए । सन् २०१९ मा उनले न्यु योर्कबाट आफ्नो स्थायी ठेगाना परिवर्तन गरी फ्लोरिडामा सारेका थिए । मतदानपछि उनले भनेका थिए, “मैले ट्रम्प भन्ने मान्छेलाई मत दिएँ ।”
त्यस्तै जो बाइडेनले गत बुधबार नै आफ्नो गृहराज्य डेलावरमा मतदान गरेका थिए ।
नोभेम्बरको पहिलो मङ्गलबार नै किन ?
संसारका धेरै देशले आफ्नो अनुकूलतामा कुनै पनि दिन र बार निर्वाचन गर्नसक्छन् । अधिकांश देशमा आइतबार वा शनिबार साप्ताहिक बिदा हुने भएकोले सकभर तिनै दिनमा मतदान तोकिएको हुन्छ । तर, संरा अमेरिकामा भने हरेक चौथो वर्षको नोभेम्बर महिनाको पहिलो मङ्गलबार नै निर्वाचन गर्ने तय हुन्छ । सन् १८४४ को संविधानले राष्ट्रपति निर्वाचन ‘नोभेम्बर महिनाको पहिलो सोमबारको भोलिपल्ट मङ्गलबार’ निर्वाचन गर्ने उल्लेख छ । अर्थात् नोभेम्बर २ र ८ भित्र जुन दिन मङ्गलबार हुन्छ, त्यही चुनाव हुने गर्छ ।
त्यत्तिबेला संरा अमेरिकाका अधिकांश जनता किसान थिए । उनीहरू मतदान केन्द्रबाट निकै टाढा गाउँमा बस्थे । त्यत्तिबेला किसानहरू किनमेलको लागि बुधबारे हाट बजारमा जाने चलन थियो । त्यसकारण किनमेलको लागि हाट बजारमा जान अघिल्लो दिन चुनाव गर्ने संवैधानिक प्रावधान स्थापित गरिएको थियो । तर, अमेरिकी समाजमा आएको परिवर्तनसँगै मङ्गलबार अधिकांश जनता काममा जानुपर्ने भएकोले उनीहरू मतदानमा जाने नगरेको बताइन्छ । नागरिक अधिकारका प्रवक्ताहरू मतदानको दिन देशभरि बिदा दिनुपर्ने माग गरिरहेका छन् ।
यो वर्षको निर्वाचनमा एक शताब्दीको अवधिमा सबभन्दा बढी मतदान भएको फ्लोरिडा विश्वविद्यालयको संरा अमेरिकी निर्वाचन परियोजनाले जनाएको छ । अघिल्लो निर्वाचनमा झन्डै ६५ प्रतिशत मतदाताले मात्र मतदान गरेका थिए । तर, यो वर्षको निर्वाचनमा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएकोले मतदाताहरू मतदानको लागि उत्साहित भएको तथ्याङ्कले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *