भर्खरै :

हिमाली महाभूल – २७, लोकाचारको अन्त्य

(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himalayan Blunder) को सङ्क्षिप्त अध्ययन)
मैदान र प्रक्रिया
मैदान र लडाइँको प्रक्रियाबारे जान्न उत्तिकै आवश्यक हुन्छ । लडाइँमा मैदान र प्रभुत्वपूर्ण उचाइको महँव हुन्छ । एक सैन्य लेखकले लेखेका छन्, Fहातहतियार औजार भएजस्तै सैनिकको लागि मैदान कच्चा पदार्थ हो । अरूले भन्दा पनि मैदानले लडाइँको आकार नियन्त्रित गर्छ । यो नै सबै रणनीतिको आधारभूमि हो ।” पहाडले विशेष रणनीतिक समस्या तेस्र्याउँछ । कब्जामा रहेको पहाड झन् खतरनाक हुन्छ । पहाडमा रहेको तालिम प्राप्त र वायरलेससहितको सेनाले फेँदबाट चढिरहेका सैनिकहरूलाई पहिल्याउन र छानीछानी मिनेटभरमा मार्न सघाउँछ । यस्तोमा पहाड चढ्नु झन् जटिल हुन्छ । थागला १५,००० फिट अग्लो पहाड थियो । त्यहाँ ठाउँ–ठाउँमा सैनिक तैनाथ थिए र चिनियाँहरूको अवलोकनको परिधि ठूलो थियो । त्यसमाथि उनीहरू आधुनिक हातहतियारले सुसज्जित थिए ।
थागला संवेदनशील स्थान थियो । चिनियाँहरूको भनाइमा म्याकमाहोन रेखालाई नै सीमा माने पनि त्यो उनीहरूको थियो । थागलाले चिनियाँ आधार क्षेत्रलाई छेकेको थियो । अक्टोबर ९ मा उनीहरूको भन्दा ठूलो शक्तिले मात्र उनीहरूलाई हराउन सक्थ्यो । आशावादी नै भए पनि चिनियाँहरूको सबलताबारे आँखा चिम्लनु हुँदैनथ्यो किनभने भारतले सारा विश्वलाई चिनियाँहरूलाई खेद्न उत्कृष्ट जनरलको नेतृत्वमा कार्यदल गठन गरेको फुकिसकेको थियो । चिनियाँहरूले नलडिकन मैदान खाली गर्ने थिएनन् ।
बटालियनको आकारको शक्ति लाग्ने अपरेसनको लागि सूक्ष्म योजना आवश्यक हुन्थ्यो । प्रतिकार गर्ने शत्रु नभए पनि यति गर्नुपथ्र्यो । सकेसम्म पैदल सेनालाई लडाइँ निम्तिनसक्ने कारबाहीमा पठाउनु हुँदैनथ्यो । पठाउनु नै परे माथिल्ला अफिसरहरूले मैदानको विस्तृत अध्ययन नगरी, योजना नबनाई र मैदानमा आधारित विस्तृत आदेश जारी नगरी पठाउनु हुँदैनथ्यो । लडाइँको आफ्नो प्रक्रिया हुन्छ । कौलको निर्णय राजनीतिक मान्यतामा आधारित भए पनि त्यसले मैदान र प्रक्रियालाई उपेक्षा गरेको थियो । उनले ब्रिगेडलाई आफ्नो जोहो आफँै गर्न भनेका थिए । राजनीतिक हतारोका कारण तयारीको समय पनि दिएका थिएनन् । लास ठेगान लगाउने, आपूर्ति गर्ने र अन्य ससाना प्रबन्धहरू ब्रिगेड आफैले गर्नुपर्ने थियो ।
अक्टोबर ८ कि ९
अक्टोबर १० मा खोलापारि जाने जनरल कौलको निर्णयलाई बैठकमा उपस्थित अफिसरहरूले सजिलै पचाउन सकेनन् । कर्नेल रिख, जनरल प्रसाद, डाल्भी सबै रन्थनिएका थिए । कर्नेल आलुवालिया यसपालि आफू बचेकोमा आफूलाई भाग्यमानी ठानिरहेका थिए । कर्नेल मिश्राले डाल्भीसँग नाम्का चूभन्दा उत्तरमा चौकी बनाउन चाहने जोकोहीलाई चिनियाँहरूले नष्ट गर्ने खासखुस गरे । कौलले सुरुमा आनन्दित हुँदै कान ठाडा पारेर सबैलाई हेरे । त्यसपछि उनले कसैले प्रश्न गर्ने दुस्साहस गर्ला कि जस्तो गरी तीक्ष्ण आँखाले नजर फैलाए ।
रिखले डाल्भीलाई एकातिर लगी आफ्नो आक्रोश पोखे । उनले आफ्नो बटालियनलाई कुनै प्रकारको पूर्वजानकारी नलिई हावामा अगाडि नबढाउने बताए । उनले प्रस्ट शब्दमा कौलको आदेश पागलपन भएको र डाल्भीलाई के गर्नुहुन्छ भनी सोधे । डाल्भीले निरूपाय हेरिरहे । उनीसँग रिखको प्रश्नको उत्तर थिएनन् । डाल्भी कहिल्यै यस्तो अक्करमा परेका थिएनन् । कोर कमान्डरले सिओलगायत तल्ला अफिसरहरूलाई आदेश दिएका थिए । डाल्भीले विमति राख्न सक्दैनथे । कौलसँग उनको कुरा मनाउने एउटा जत्था हुन्थ्यो । सामूहिक योजना बनाउने वा सामूहिक निर्णय लिने सवाल थिएन । लडाइँमा हजारौँ बुद्धिले बनाएको योजना पनि एउटै व्यक्तिले सही गर्छ र त्यही मान्छेले जिम्मेवारी वहन गर्नुपर्छ । कौललाई साखुल्ले बन्ने खुब रहर थियो र मन्त्रिमण्डलले उनलाई कब्जा गर्नुपर्ने मिति दिएको थियो भन्नेमा डाल्भी विश्वस्त छैनन् । दोस्रोचोटि स्थानीय अफिसरहरूलाई Fकारबाहीमा सिंहझैँ र आज्ञाकारितामा कुकुरझैँ” हुन भनिएको थियो ।
अलिबेरपछि डाल्भीले केही समस्याहरू अघि सारे । उनले चिनियाँहरूले प्रतिकार नगरे पनि राजपुतहरू युमसोला पुगेमा उनीहरूलाई त्यहाँ राख्न मुस्किल हुने बताए । हिउँका लुगाको प्रसङ्ग उठाउँदा कौलले ६,००० थान लुगा माग गरिएको र ती लुगा क्यानडाबाट उडिसकेको बताए । पक्कै पनि भोलिपल्ट हिँड्ने राजपुतहरूले हिउँका लुगा पाउँदैनथे । ती पोशाक पाउँदासम्म राजपुतहरू जिउँदै रहलान् भन्ने निश्चित थिएन । राजपुतहरू अगाडि बढ्दा पछाडिबाट उनीहरूलाई आड दिन गोलाबारीको प्रश्न उठ्यो । कौलले Fदृढ निश्चयी पैदल सेनालाई गोलाबारी नचाहिने” बताए । त्यसमा जोड दिँदा उनले केही पारागनहरू (ग¥हौँ बन्दुक) खसाल्ने बन्दोबस्त मिलाउने बताए । यी बन्दुक पनि राजपुतहरू गएर चिनियाँहरूको आडमा बसेपछि मात्र आउने थिए । आगराबाट बन्दुक टोली कहिले आउने भन्ने निश्चित थिएन ।
भरियाको आवश्यकताको कुरा तवाङस्थित सम्पूर्ण सीमा सडक निर्माण दल ल्याइने वचनले टारियो । लुम्पुकै साधनहरू पनि अगाडि बढाउन सकिएको थिएन । राजपुतहरू अगाडि बढ्नुपर्ने कुराबाहेक सबैथोक भविष्यमा हुने थियो । कौलको आशावाद अरूलाई हजम भएन । वास्तविकताप्रति आँखा चिम्लन कोही तयार थिएन । निराशामा डाल्भीले पूरै बटालियन अगाडि पठाउनुअघि एउटा गस्ती टोली पठाउनुपर्ने राय राखे । कौल सहमत भए । उनले मेजर चौधरीको नेतृत्वमा एक पल्टन सेना गस्तीमा पठाउने निर्णय भयो किनभने उनलाई मैदानको जानकारी थियो । राजपुतहरूलाई छोप्न, उनीहरूको लागि खोला तर्ने ठाउँ खोज्न र नाम्का चू पार गरेमा कस्तो चिनियाँ प्रतिक्रिया आउला भनी बुझ्न सो निर्णय लिइएको थियो । त्यसैले नाम्का चू तर्ने निर्णय अक्टोबर ९ मा लिइएको थियो । त्यो अगाडिको वा कौल आउनुअघिको योजना थिएन । राजपुतहरूलाई युमसोला पठाउने वा चिनियाँहरूमाथि आँखा चिम्लेर फाल हान्ने कौलको आदेश कार्यान्वयन गर्न त्यो निर्णय लिइएको थियो ।
कौलले सेङजोङमा ८ तारिखमा गस्ती पठाइएको बताएका छन् । गस्ती टोली ९ तारिखमा पठाएको कुरा स्पष्ट छ । चिनियाँ श्वेतपत्रअनुसार सेङजोङ (चिनियाँ भाषामा चितुङ) लाई भारतीय सेनाको एक टुकडीले १९६२ अक्टोबर ९ मा कब्जा गरेका थिए । सैन्य लेखक मेजर जोहरीले चिनियाँ विवरण सही भएको लेखेका छन् । साथै कोर कमान्डर कौलले सो निर्णय लिएको हुनुपर्ने हो किनभने उनी बैठकमा दर्शक नबनेको जोहरीको विश्वास छ । गस्तीमा पञ्जाबीहरू गएका थिए ।
अक्टोबर ९ को रात ब्रिगेडियर केके सिंह र एमआर राजवाडे केही सोच्न नसक्ने थकित हालतमा पुल ४ मा पुगे । उनीहरूलाई खाना खाने रूचि थिएन । उनीहरू बहादुर ठहरिए । एक वरिष्ठ कमान्डरले आफू पछि नै बस्ने निर्णय लिए । कुनै बन्दोबस्त नमिलाई अगाडि बढ्ने निर्णय मूर्खताको पराकाष्ठा थियो । कोर ४ ढोलामा स्थापित भएको थिएन । उसका अफिसरहरू खालि यताउता गरिरहन्थे । उनीहरूले गर्ने काम केही थिएन । उनीहरू खालि अन्तिम लडाइँ हेर्न बोलाइएका थिए र आफ्ना छातीमा नयाँ तक्मा थप्न उद्यत थिए । एक अफिसर त तेजपुरस्थित मूल कार्यालय खाली गरेर ढोला पुगेका थिए । अपरेसनको बेला कोर कमान्डरको अफिसरको जिम्मेवारी अहम् हुन्छ भन्ने हेक्का राखिएको थिएन ।
यसरी १९६२ अक्टोबर १० को आगमन भयो । इतिहासमा पहिलोपल्ट चीन र भारतले १५,००० फिट उचाइमा लडाइँ लडे । विन्सटन चर्चिलका शब्दमा, मङ्गल शब्द, सदाचारी लक्ष्य र वीर उद्गारका दिनहरूले चिनियाँ हतियारबद्ध र दृढ दुष्टतासामु शिर झुकाए । भारतले भूतलाई जिस्क्याउन ढुङ्गा निकाल्दै थियो । (भारतको दुर्भाग्य ¤ जुन चर्चिलले भारतलाई स्वतन्त्रता दिलाउन अन्तिम क्षणसम्म आनाकानी गरेका थिए, तिनै चर्चिलको चरणमा गएर डाल्भीले देशको लाज छोप्नुप¥यो । चर्चिलको व्यक्तित्व सापटी लिएर ‘चिनियाँ दुष्टता’ अझ विश्वासिलो बनाउन मद्दत पुगेको डाल्भीले ठानेका थिए भने त्यो भ्रममात्र थियो । चर्चिल एसियाली एकताका शत्रु थिए र एसियालीहरूलाई गोरो जातिभन्दा तुच्छ ठान्थे । जातिवादी कोणबाट हेर्दा चर्चिल हिजोका डोनाल्ड ट्रम्प थिए ।)
सेङजोङको भिडन्त (१९६२ अक्टोबर १०)
मेजर चौधरीको नेतृत्वमा पञ्जाब ९ को गस्ती टोली ९ अक्टोबरको गोधुलीमा सेङजोङ पुग्यो । यस क्षेत्रका सबै स्थानजस्तै सेङजोङ पनि खर्कको गोठ थियो । उनीहरूले राजपुतहरूको लागि दुई ठाउँको जाँचबुझ गरे र दुवै ठाउँमा साना टुकडीहरू छोडे । यिनैमध्ये एउटा टुकडी पछि ‘फड्के’ नामले प्रख्यात भयो ।
भोलिपल्ट बिहान ५ बजे चौधरी र उनका ५० सैनिकमाथि चिनियाँहरूले आधुनिक हतियारसहित आक्रमण गरे । पञ्जाबीहरूले बहादुरी देखाए । चौधरीले एउटा टोलीलाई कोर्पोला २ को टाकुरातिर पठाएका थिए । यसबाट उनीहरूलाई चिनियाँहरूमाथि निसाना प्राप्त भयो । माथिबाट गरिएको गोलाबारीमा चिनियाँहरू ठूलो सङ्ख्यामा हताहत भए । उनीहरू फर्किन बाध्य भए र पुनः सङ्गठित भएलगत्तै ३ दिशाबाट आक्रमण गरे । १ जना पञ्जाबीका लागि २० जना चिनियाँहरू थिए । भिडन्तमा मेजर चौधरी घाइते भए । भारततिर ६ जना मारिए र ११ जना घाइते भए । सुरुको आक्रमणमा चीनतिर १०० जना मारिए ।
प्रचलित सीमापारि खलबल्याउने प्रयासमा भएको चिनियाँहरूको शक्तिशाली प्रतिकारले जनरल कौल झस्किए । उनले आफ्नै आँखाले चिनियाँ प्रतिकार देखेका थिए । आफैँले देखेको दृश्यमा उनले विश्वास गर्न सकेनन् । आत्तिँदै उनी चिच्याए, Fहे भगवान, तिमीले सही भनेका थियौ, उनीहरू गम्भीर छन् ।” यही कुरा तल्लो अफिसरहरूले उनलाई पहिलेदेखि नै सम्झाउन खोजेका थिए । तैपनि उनले दिल्लीका कुरा पत्याइरहेका थिए । ‘ठूलो शक्तिलाई चुनौती दिने’ क्षण विनाशमा बदलिएको थियो । त्यसपछि कौलले डाल्भीतिर फर्किँदै भने, Fयो लडाइँ तिम्रो हो । यो ब्रिगेडको लडाइँ हो ।” यस ब्रिगेडका लागि सबैले योजना बनाइरहेका थिए र सबैले नेतृत्व गरिरहेका थिए । समस्या आइलागेपछि लडाइँ ब्रिगेडको मात्र भयो ।
सौभाग्यले नाम्का चू पार गरेर राजपुतहरू युमसोलातिर जानुभन्दा पहिले नै चिनियाँहरूले प्रतिकार गरे । अन्यथा पूरै बटालियन नष्ट हुने थियो । टाकुरातिर लडाइँ हुने आशङ्का थियो । त्यसको लागि उनीहरू प्रत्येकसँग १०० थान गोलीमात्र हुने थियो । डाँडामा पुग्दा उनीहरू गलिसकेका हुने थिए । चिनियाँहरूले उनीहरूलाई त्यहाँ बस्न दिएकै भए पनि उनीहरू चिसोले कठ्याङ्ग्रिएर भोकभोकै मर्ने थिए । उनीहरूलाई मार्न चिनियाँहरूले गोली हान्नुपर्दैनथ्यो किनभने उनीहरूलाई रसद र अन्य सामग्री पु¥याउने कुनै उपाय थिएन । चिनियाँहरूले खालि अर्को भारतीय टोलीलाई खोला तर्न रोके पुग्थ्यो । भारततिरबाट एक बटालियन सेना अगाडि बढ्ने छनकमात्र पाएको भए चिनियाँहरूले पर्खने थिए र दिनदहाडै पूरै बटालियनलाई नष्ट गर्ने थिए वा भोकै मर्न दिने थिए ।
सेङजोङमा गोली हानाहान सुरु भएलगत्तै डाल्भीले जनरल प्रसादलाई एकातिर लगेर चिनियाँहरूलाई खेद्ने कुरा रोकेर कौललाई सम्पूर्ण सेनालाई त्यहाँबाट पछि हटाउन मनाउनुपर्ने बताए । सबैथोक आँखाअगाडि हुँदै थियो । डाल्भीले कौललाई पनि त्यही विचार सुनाए । उनले साना चौकीलाई त्यहीँ छाडी फौजलाई पछि लग्नुपर्ने र लुम्पुमा ठूलो आपूर्ति मैदान बनाई पुल ३ र ४ मा बसेको कम्पनीका लागि साङधरलाई सानो मैदान बनाउनुपर्ने उनको राय थियो । बहुमूल्य सामग्रीहरू खेर फाल्न नहुने भन्दै डाल्भीले उनीहरूलाई ४ दिनको रसदमात्र बचेको हेक्का गराए । मेजर चौधरीसँग पठाइएको जगेडा रसदले गर्दा खोलाको तीरमा बसेका झन्डै १,००० जनाको दुई बटालियन सेनालाई ४ दिनको जगेडा रसदमात्र बचेको थियो । साङधरमा खस्ने थोरै सामान र तिनलाई बटुल्न र बोक्न भरियाको अभावले आस गर्ने ठाउँ थोरै थियो । चिनियाँहरू त्यसबेलासम्म एक डिभिजनको हाराहारीमा रहेको अनुमान थियो ।
दुवै जनरल डाल्भीको विचारमा सहमत भए । त्यसबेलासम्म सेङजोङमा पञ्जाबी गस्ती टोली ध्वस्त भइसकेको थियो । युमसोला जान राजपुत २ बटालियन लामबद्ध भई ‘फड्के’ तिर लाग्दै थियो । पुल ४ तर्ने बेला चिनियाँहरूले भारतीय फौजलाई देखे । कौलले फौज ‘फड्के’ तिर दौडिरहेको देखे । अघिल्लो दिन उनीहरूलाई सेङजोङको एउटा भाग कब्जा गर्न आदेश दिइएको थियो । उनीहरूले विभिन्न ठाउँमा आड लिएको पनि कौलले देखे ।
सेङजोङको प्रतिकार देखिसकेपछि जनरल कौलले आफ्नो पक्षको कमजोरी ठम्याएको र समग्र ढोला क्षेत्रको अवस्थाबारे पुनर्विचार गर्नुपर्ने बताए । चिनियाँ प्रहारले उनलाई झस्काएको थियो र चिनियाँहरूलाई सजिलै खेद्न सकिने वा पहाडी भूभागमा चिनियाँहरूसँग सहअस्तिँवमा रहन सकिने कुरामा उनी सशङ्कित भएका थिए । कौलको जोशिलो आशा सेलाएको थियो । उनले चिनियाँहरू निकै शक्तिशाली रहेको र ढोलाको भारतीय स्थिति खोक्रो र अभावपूर्ण रहेको बुझे ।
यस्तैमा ढोलाका अफिसरहरूले अर्को महामूर्खता देखे । कौलले सबै स्थिति देखेर पनि सेनालाई पछाडि सारेर बलियो सामरिक स्थानमा अड्याउने निर्णय लिन सकेनन् । उनले प्रम नेहरूसँग सल्लाह लिन चाहे । उनले मन्त्रिमण्डललाई स्थानीय अवस्थाको बारेमा नबुझाएसम्म र नयाँ आदेश नलिएसम्म अक्टोबर ५ को स्थितिमा फर्किन नसकिने बताए । (अक्टोबर ५ मा ब्रिगेड ७ का दुई बटालियन फौज लुम्पुबाट अगाडि बढेका थिएनन् ।) गलतरूपमा गढिएको आक्रमणको विफलतापछि रणनीतिक विषयमा दिल्लीको आदेश लिनुपर्ने कुरा अर्थहीन थियो । सम्भवतः कौलले पछि हटेको दोष लिन वा आफ्ना पेशागत बैरी र राजनीतिज्ञहरूको सामना गर्न चाहन्नथे । सायद उनी माथिको आदेशमा लुक्न चाहन्थे ।
यसबीच कौलले ब्रिगेड ७ लाई विकराल स्थितिमा छोडेर जाँदै थिए । ब्रिगेड ७ उपकरणविहीन अवस्थामा चिनियाँहरूको दयामा थियो । कौलले सुरुमा अरूलाई गलत स्थन चुनेको आरोप लगाएका थिए र पछि आफैँ अक्षम सावित भएका थिए । चरम सङ्कटको बेला उनले बाध्यकारी निर्णयको जिम्मेवारी लिन आनाकानी गरे । उनले सङ्कटमा परेको ब्रिगेडलाई मुक्त गर्नुपर्ने थियो । उनीअघि र पछिका धेरैले सेनालाई शान्तिकालमा दिइने आश्वासन पूरा गर्न असमर्थ भएको इतिहास छ । जतिबेला फौजीको जीवन कमान्डरको एउटा निर्णयमा टिकेको हुन्छ, त्यस्तो निर्णयको क्षणमा कमान्डरको मनमा के हुन्छ भन्ने विषयमा एक सैन्य लेखक लेख्छन्, ‘केहीलाई समयले कठोर बनाएको हुन्छ, केही धर्मराउँछन्, केहीले हिसाबकिताब गर्छन्, केही निष्प्राण बन्छन् र शक्तिहीन हुन्छन् ।’
कौलको आदेशबाट उनी कस्ता कमान्डर थिए भन्ने प्रष्ट हुन्छ । कौलले जनरल प्रसादलाई Fआफू दिल्लीबाट नफर्किँदासम्म शत्रुलाई खेद्ने निर्देशन थाती राख्न भने र उनलाई उनको वर्तमान स्थान लिन” भने । कौलले ब्रिगेड ७ लाई नाम्का चूमा राख्दासम्म जनरल प्रसादको कुनै ‘स्थान’ थिएन । कौलले ‘निर्णयको क्षणमा’ आफैँलाई प्रधानमन्त्रीको आदेश लिने ‘सन्देशवाहक’ को जिम्मा दिए । उनी शक्तिहीन थिए ।
कौलले आफूले व्यक्तिगत रूपमा कुनै आदेश नदिएको र आफ्नो आदेशले कुनै स्थान नगुमेको विश्वास गर्छन् । ढोला छोड्नुअघि उनले १९६२ को अक्टोबर १० मा व्यक्तिगत रूपमा निम्न आदेश दिएका थिए ः
१. शत्रुलाई धपाउने निर्देशन उनी दिल्लीबाट नफर्केसम्मलाई थाती राख्ने ।
२. यसबीच सेनालाई नाम्का चूभन्दा दक्षिणमै राख्ने र अस्थाई पुलदेखि पुल १ सम्मका पुलको सुरक्षा गर्ने ।
३. डिभिजन कमान्डरको आदेशमा साङलेको सुरक्षा गर्ने । उनले चिनियाँहरूको खतरा नभएसम्म साङलेबाट पछि नफर्किन जोड दिए ।
४. लुम्पुसम्मको सम्पर्क रेखाको सुरक्षा गर्ने ।
५. हाथुङलाको सुरक्षा गर्ने ।
अझ अगाडि बढेर कौलले राजपुतहरूका कमान्डिङ अफिसर रिखलाई शत्रुले आफूले सोचेभन्दा हिंसात्मक प्रतिक्रिया जनाएकोले अस्थाई पुल, पुल ४ र पुल ३ मा एकएक कम्पनी सेना तैनाथ गरी नाम्का चूको दक्षिणी क्षेत्रको सुरक्षा गर्न आदेश दिए । रिखले ती स्थानमा चिनियाँहरूले आक्रमण गरेमा तिनको सुरक्षा गर्न नसकिने बताए । कौलले आश्वस्त तुल्याउँदै आफूहरू केही समयका लागि मात्र रक्षात्मक हुने र खोलाको दक्षिणमा रहेसम्म शत्रुले केही नगर्ने बताए । कौलले देशको एक इन्च भूमि पनि छोड्नु हुँदैन भनी जोड दिए ।
सैनिकहरू निराश भएको बेला अर्थ न बर्थका पुलहरूको सुरक्षा गर्नुपर्ने आदेशकै कारण पछि ढोला हातबाट फुस्केको थियो । उनीहरूले न त नाम्का चूको सुरक्षा गर्नसक्थे, न नाम्का चूले उनीहरूको सुरक्षा गर्नसक्थे । कौलले ब्रिगेड ७ लाई लुम्पु फर्काएका भए ब्रिगेडलाई नाम्का चूमा बन्दी बनाउन नहुने भनेर मन्त्रिमण्डलमा आफ्ना कुरा राख्न पृष्ठभूमि बनाउन सक्थे । संसारको कुनै मन्त्रिमण्डलले उनलाई रोक्न सक्दैनथ्यो । उनले राजनीतिक सर्वोच्चतासामु झुकेर असाध्य सैन्य जिम्मेवारी लिएका थिए तर उनले आफ्नो विशेषाधिकार परित्याग गरेनन् ।
भारतीय गस्ती टोलीमाथि चिनियाँ आक्रमणपछि अक्टोबर १० मा कौलले ‘वर्तमान स्थान’ रक्षा गर्ने आदेश दिए । यो जनरल कौलको तेस्रो महाभूल थियो ।
सेङजोङको भिडन्तपछि चिनियाँहरूले प्रतिक्रिया जनाउन सक्ने देखेर डाल्भीले मेजर पवारको नेतृत्वमा एउटा गोर्खा कम्पनीलाई जनरल कौल र प्रसादको सुरक्षामा पठाए । उनले पवारलाई ग्रेनाडियर ४ ले पालो दिन नआउँदासम्म पुल १ मै बस्न भने । ग्रेनाडियर ४ हाथुङलाको बाटो आउँदै थियो । अब ब्रिगेडको स्थिति गञ्जागोल थियो । पुल ३ र पुल ४ मा राजपुतहरू थिए । तर, तिनको एउटा कम्पनी पुल १ मा पञ्जाबीहरूसँग थियो । यो कम्पनीलाई डाल्भीले २५ सेप्टेम्बरमा पञ्जाबी कम्पनीलाई साङले क्षेत्रको जाँचबुझमा सघाउन पठाएका थिए । १२ माइल पश्चिम साङलेमा पञ्जाबीहरूको एउटा कम्पनी थियो । अब पुल १ मा गोर्खालीहरूको एउटा कम्पनी बस्ने थियो । यी सबै हतार र हतास मनस्थितिका उपज थिए । कम्पनीहरूलाई आआफ्ना टोलीमा फर्काउन केही दिन लाग्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *