भर्खरै :

जाडो आउँदै छ, तीव्र सङ्क्रमण नियन्त्रणको तयारी गर सरकार !

काठमाडौँ, २० कार्तिक । कोभिड–१९ को दोस्रो लहरले व्यापकता लिन थालेपछि युरोपमा बेलायत, फ्रान्स र स्पेनले सङ्क्रमण रोकथामको लागि आवश्यक कदम चालेका छन् । बिहीबारमात्र बेलायतको संसद्ले सङ्क्रमण रोकथामको लागि सरकारले प्रस्तुत गरेको कार्ययोजनामाथि छलफल गरी अनुमोदन गरेको छ । बेलायतले देशैभरि एक महिनाको लागि लकडाउनको घोषणा गरेको छ । जाडोयामको सुरुवातसँगै उत्तरी गोलाद्र्धका देशहरूले विशेष सावधानी अपनाउन विश्व स्वास्थ्य सङ्गठनले यसअघि नै सूचना जारी गरिसकेको छ ।
नेपालमा अझै पनि कोरोनाको सङ्क्रमण अनियन्त्रितरूपमा उकालो लागिरहेको छ । मर्नेको सङ्ख्या पनि दिनानुदिन बढ्दै छ । तर, सङ्क्रमणको यस्तो अवस्थाप्रति न सरकारलाई कुनै पर्वाह भएजस्तो देखिन्छ न सर्वसाधारणलाई नै यसको कुनै चिन्ता भएजस्तो देखिन्छ ¤ सरकारले कोभिड–१९ महामारी नियन्त्रणलाई आफ्नो प्राथमिकता क्रमबाट पन्छाइसकेको स्पष्ट छ । नागरिकको स्वास्थ्यप्रति राज्य यतिसम्म बेपरबाह हुनु निन्दनीय हो । सरकारले नै सङ्क्रमण नियन्त्रणमा बेवास्ता गरेसँगै जनता पनि यसप्रति लापर्वाह बन्न थालेका छन् । सडकमा मास्क लगाउने मानिसको सङ्ख्या पातलो बन्दै छ । मानिसको भीडभाड जताततै बढ्न थालेको छ ।
जाडो बढेसँगै सङ्क्रमणको दर अझ बढ्न सक्ने विज्ञ चिकित्सकहरूले बताइरहेका छन् । त्यसै पनि जाडोयाम ज्येष्ठ नागरिकको लागि गाह«ो हुने याम हो । त्यसमाथि कोभिड–१९ सङ्क्रमणले अवस्था अझ कठिन बन्ने देखिएको छ । तर, सरकार भने सङ्क्रमण नियन्त्रणको लागि भएका बन्दोबस्तबाट पछि हटिरहेको छ । सरकारको काम सङ्क्रमितको गन्तीमा सीमित भएको छ । विश्व स्वास्थ्य सङ्गठनलाई पेश गर्न नपर्ने भए यही काम पनि सरकारले गर्न छोड्ने थियो ।
उहानमा गत वर्षको डिसेम्बर महिनामा कोभिड–१९ महामारी फैलिँदा नेपालका जिम्मेवार अधिकारीदेखि सर्वसाधारणसमेतले महामारी नेपालमा नआउने मनोकाङ्क्षा पालेर बसेका थिए । तर, कोभिड–१९ नेपालमा भित्रियो । आज दैनिक तीन हजारभन्दा बढी मानिस कोभिडबाट सङ्क्रमित हुने गरेको छ । युरोपका विभिन्न सहरमा आइसकेको दोस्रो लहर नेपालमा नआउला भनेर बस्नु मूर्खता हुनेछ । उहानमा कोभिड–१९ को महामारी फैलिँदै नेपालले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी थालेको हुँदो हो त नेपाल तुलनात्मकरूपमा सुरक्षित हुनसक्थ्यो अथवा आजभन्दा क्षति कम हुने थियो । तर, सरकारको कच्चा कामले जनताले आज दुःख भोग्नुपरेको छ ।
कोभिड–१९ महामारी नियन्त्रणको लागि आफूले देखाएको अग्रसरताबाट समेत सरकार पछि हट्दा आज सङ्क्रमण दर बढेको छ । परीक्षणको कमीले सङ्क्रमण अनियन्त्रित शृङ्खला बन्दै गएको छ । कोभिड–१९ परीक्षणको लागि सरकारले दिंदै आएको सुविधासमेत फिर्ता लिँदा परीक्षण गराउनेको सङ्ख्या घटेको छ । निजी प्रयोगशाला र अस्पतालले अकुत सम्पत्ति कमाइरहेका छन् । कोभिड–१९ प्रतिको संवेदनशीलता न सरकारमा बाँकी छ न सर्वसाधारणमा नै । यसले महामारीबाट थप क्षति हुने अवस्था बन्दै गएको छ ।
जाडो महिनासँगै क्षति बढ्न सक्ने सम्भावना रोक्न सरकारले तत्काल मूर्त कार्ययोजना बनाउन जरुरी छ । अपुग स्वास्थ्य पूर्वाधार बिस्तार गर्न सबै तहका राज्यलाई सक्रिय बनाउन जरुरी छ । ढिला भएपछि मात्र हतार गर्ने बानीबाट सरकार मुक्त हुन जरुरी छ । खतरा दैलोमा पुगेपछि मात्र हतार गर्ने गल्ती नगरौँ । सरकार जनताको जीवन र स्वास्थ्य रक्षाको आधारभूत र न्यूनतम दायित्वबाट कतै भाग्न पाउँदैन । कोभिड सङ्क्रमणले थप तीखो रूप लिनुअघि नै आफ्नो जिम्मेवारीप्रति सरकार इमानदार बन्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *