भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
जनताको साहित्यिक दबु – तःमुंज्या
चालिस वर्षदेखि अकण्टक चलिरहेको बृहत् साहित्य तथा सांस्कृतिक सम्मेलनको नाउँ हो, तःमुंज्या । प्रतिक्रियावादी वर्ग र प्रतिक्रियावादी साहित्यविरुद्ध फहराइएको रातो साहित्यिक झन्डा हो, तःमुंज्या । राजनीतिक भाषामा भन्नुपर्दा तःमुंज्या वर्गसङ्घर्षको उपज हो । वर्गसङ्घर्षको सिलसिला हो । भाषा, कला-साहित्य, संस्कृति तथा राजनीतिबारे बहस, छलफल एवम् प्रशिक्षण अभियानको नाउँ भन्दा पनि हुन्छ, तःमुंज्या । ॅतः’ को अर्थ बृहत् र ॅमुंज्या’ को अर्थ सम्मेलन ।
विद्वान वक्ताहरू, लेखक, कवि-कलाकार, राजनीतिक नेता-कार्यकर्ता, स्वास्थ्यकर्मी, संस्कृतिकर्मी, प्राध्यापक, शिक्षक, मजदुर-किसान आदि सहभागी हुन्छन् हरेक वर्षको तःमुंज्यामा । दुई दिनसम्म दिउँसो मन्तव्य, साहित्य वाचन, गायन लगभग ७ घण्टा लगातार चल्छ र राति करिब चार घण्टासम्म लगातार नृत्य, नाटक, प्रहसन प्रस्तुत हुन्छन् । हरेक वर्षको कौलाथ्व द्वादशी र त्रयोदशीको दिन अर्थात् विजया दशमीको एक दिनपछि दुई दिन दुई रात चल्ने नेपालकै एउटा फरक शैलीको सम्मेलन हो, तःमुंज्या । यो खालको साहित्यिक-सांस्कृतिक सम्मेलन नेपालमा अरू पनि भएको जानकारी अहिलेसम्म प्रकाशमा आएको छैन ।
धेरैका निम्ति दसैँ पर्वको एउटा अभिन्न अङ्ग बनिसकेको तःमुंज्या आफ्नै लय, ताल, गतिमा निरन्तर अगाडि बढ्दै छ । चाडपर्वको रचनात्मक उपयोगको एउटा ज्वलन्त उदाहरण हो तःमुंज्या । मूलतः नेपालभाषामा सञ्चालन भए तापनि बदलिँदो परिस्थितिअनुसार विभिन्न भाषालाई पनि स्थान दिइँदै आइरहेको प्रस्ट छ । त्यसो त तःमुंज्यालाई ॅनेपाल भाषा’ होइन ॅबहु भाषा’ सम्मेलन भयो भनी आलोचना यदाकदा नसुनिएको होइन । पछिल्ला केही वर्ष त ॅवक्ता सम्मेलन’, ॅराजनीतिक सम्मेलन’ भयो भनी तःमुंज्याप्रति सद्भावपूर्वक गुनासो गर्ने या व्यङ्ग्य गर्नेहरू पनि देखिएका छन् । त्यसैलाई विशिष्ट पक्ष ठान्दै गौरव गर्नेहरू पनि नहुने कुरै भएन । स्तरीय साहित्यलाई दबु टेक्ने अवसरबाट वञ्चित गर्न नहुने या यथोचित स्थान दिनुपर्नेबारे त कसको पो विमति होला र ? विद्वानहरूबाट साहित्य लेखनका निम्ति खुराक, कच्चा पदार्थ, ऊर्जा, मार्गनिर्देशन प्राप्त हुनु त नवस्रष्टा र स्थापित स्रष्टाहरूका लागि पनि सकारात्मक नै हो । अनि, धेरैका लागि लाभप्रद बन्दै आइरहेकोमा शङ्का छैन । बौद्धिक हिसाबले हेर्दा तःमुंज्यालाई विश्वविद्यालयको महत्वपूणर् कक्षा ठान्नेहरूको सङ्ख्या बढ्दै जानु सुखद पक्ष मान्न सकिन्छ ।
तःमुंज्या विविधताको पनि उदाहरण हो भन्दा फरक नपर्ला । फरक भूगोल, फरक संस्कृति र भिन्न भाषाको प्रतिनिधित्व हुनु र यो सौन्दर्य निरन्तर कायम रहनु यसको मौलिक विशेषता हो । तःमुंज्या प्रजातान्त्रिक अभ्यासको दृष्टान्त हो भन्नु अझ उपयुक्त हुनेछ । राजावादी होस् या गणतन्त्रवादी, प्रजातन्त्रवादी होस् या वामपन्थी अथवा स्वतन्त्र बुद्धिजीवी, सबै-सबैले तःमुंज्याको दबुमा आ-आप्mना धारणा खुलस्त राख्दछन् र विविध विषयमा बहस गर्दछन् । स्रोताहरू शान्तपूर्वक, धैर्यपूर्वक र उत्सुकतापूर्वक सुनिरहन्छन् । ॅसैनिक अनुशासन’ मा बसेर सुन्ने स्रोता अन्त विरलै पाइने धेरै पाहुनाहरूको अनुभव छ । साहित्यकारमात्र होइनन् डाक्टर, वकिल, पत्रकार, इन्जिनियर, प्राध्यापक, वैज्ञानिकहरू आ-आप्mना विषयमा मन्तव्य राख्छन् । तःमुंज्याको फराकिलो सोच, प्रजातान्त्रिक अभ्यास, उच्च कोटीको संस्कृति हेर्दा लाग्छ यो प्रजातन्त्र, संस्कार तथा संस्कृतिको पाठशाला या प्रयोगशाला हो ।
संस्कृति संरक्षणमा तःमुंज्याको प्रयास
तःमुंज्याले जनसाहित्यको विकास, संस्कृति संरक्षण तथा जागरणमा उल्लेख्य योगदान पुर्याउँदै आएको छर्लङ्ग छ । भाषासेवी, संस्कृतिकर्मी, साहित्यकार मात्र होइन समाज परिवर्तनमा निःस्वार्थपूर्वक विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मान गर्दै आइरहेको छ । वरिष्ठ वामपन्थी नेता निरञ्जन गोविन्द वैद्य, वामपन्थी राजनीतिज्ञ काइँला बा, शताब्दीपुरुष विद्वान् लेखक सत्यमोहन जोशी, संस्कृतिविद् हरिराम जोशी, वरिष्ठ वामपन्थी लेखक माणिकलाल, वरिष्ठ शिक्षासेवी तथा किसान अगुवा बुद्धिकुमार गोसाई, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ चिकित्सक अशोकानन्द मिश्र, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, कथाकार रामशेखर, सङ्गीतकार नगेन्द्र हाडा, हास्यकलाकार कृष्ण नापित, हास्यकलाकार ध्रुव हाडा आदि दर्जनौँ व्यक्तित्वहरूलाई तःमुंज्याको दबुमा जनस्तरबाट अभिनन्दन भइसकेको छ । राज्यबाट यथोचित सम्मान नपाएकाहरूलाई जनस्तरबाट अभिनन्दित गर्ने कदम अत्यन्त सराहनीय छ । साथै, सांस्कृतिक गुरुहरूलाई पनि हरेक वर्ष सम्मान गरिनु अत्यन्त सकारात्मक पक्ष हो ।
पक्षपाती शासकहरूले मौनतामा मार्न खोजेका कतिपय लब्धप्रतिष्ठित व्यक्तित्वहरूबारे यथार्थ उजागर गर्नु तःमुंज्याको पवित्र कर्म र उच्च संस्कृति हो भन्दा अतियुक्ति नहोला । निःस्वार्थरूपमा समाजका निम्ति योगदान पुर्याएकाहरूको चर्चाले समाज थप उज्यालो बनाउनेछ । समाजले नयाँ जीवन प्राप्त गर्नेछ । सत्ताको जातीय दमनविरुद्ध त्यो एकप्रकारको सङ्घर्ष पनि हो । सत्ताको अन्धभक्त बनेर महिमागान गाउन अस्वीकार गर्ने स्वाभिमानीहरूको सम्मान केवल सम्मान नभई अहङ्कारी, बडाराष्ट्रवादी तथा पक्षपाती शासकविरुद्ध सङघर्षको सिलसिला पनि हो । तःमुंज्याको यति महत्वपूणर् पाइलाको कदर गर्नैपर्छ । पर्दापछाडिका नायकहरू ॅअनसङ्ग हिरोज्’ लाई चिनाउने कार्यले निरन्तरता पाइरहोस्, हार्दिक कामना !
तःमुंज्याको स्पष्टता र दूरदर्शिता
देशमा बारम्बार जातीय नारा घन्कियो । जातीय आन्दोलन बरोबर उठे । तर, तःमुंज्याले स्पष्ट विचार राख्यो, हामी जातीय सङ्कीणर्तामा फस्दैनौँ । तःमुंज्याले जातीय रङ्ग कहिल्यै देखाएन । जातीय आवाज दिएर उपद्रोह मच्चाउनेहरूविरुद्ध सङ्घर्ष गर्यो । तीविरुद्ध सदा विपक्षमा उभियो । त्यस क्रममा केही नेवारले ॅनेवारविरोधी’ र गैरनेवारले ॅनेवार’ या ॅज्यापू’ भनी हेलाहोचो गर्दा समेत तःमुंज्या जातीय होइन वर्गीय अडानबाट विचलित भएन र जनभावनाबमोजिम अगाडि बढ्यो । वर्गीय भावना समाजको तल्लो तहसम्म पुर्याउन सङ्घर्षरत रह्यो । काठमाडौँले जातीय आगो सल्काए देश अन्तहीन द्वन्द्वमा फस्ने र खरानी बन्नेबारे तःमुंज्या गम्भीर थियो र छ । त्यही सुझबुझ एवम् दूरदृष्टि राखेर तःमुंज्याले विगत चालिस वर्षदेखि गतिविधि अगाडि बढायो । तःमुंज्याको परिपक्वता एवम् संवेदनशीलताकै कारण कममात्र दुर्घटना या क्षति भएको स्वयम् पर्यवेक्षकहरू स्वीकार्दछन् ।
वर्गीय पक्षधरता नै तःमुंज्याको विशेषता हो । कामदारवर्गको दबु भनी तःमुंज्या जनप्रिय बनिसकेको छ । यसको जन्म पनि त्यही गर्भबाट भएको हो । त्यही उर्वर आधारभूमिमा तःमुंज्या हुर्किरहेको छ । समाजको तल्लो वर्ग, तिरस्कृत समुदाय तथा शोषित-पीडित जनताको पक्षमा निरन्तर तःमुंज्या निर्भिकतापूर्वक उभियो । चर्को आवाज उठायो । पञ्चायती निरङ्कुशताविरुद्ध लड्यो । दुई दलीय तानाशाहीको विरोध गर्यो । महाकाली सन्धिमा भएको देशघातविरुद्ध सङ्घर्षमा जनतासँगै हिँड्यो । प्रतिगमनविरुद्ध आन्दोलन हुर्कायो । गणतन्त्रभित्र मौलाएको सामन्ती प्रवृत्तिको विरोध गर्दै लुटतन्त्र मच्चाउनेलाई उदाङ्ग्यायो । भारतीय विस्तारवाद र संरा अमेरिकी साम्राज्यवाद नेपाली जनताका शत्रुहरू हुन् भनी जनतालाई स्पष्ट बतायो । जनतालाई शिक्षित, सचेत र परिवर्तनका निम्ति आन्दोलित बनाउन तःमुंज्या अथकरूपमा हिँड्यो । कला र साहित्यमार्पmत तःमुंज्याले निर्वाह गरेको भूमिका तथा आमूल परिवर्तनको पक्षमा चालेका दरिला पाइला अविस्मरणीय रहनेछन् । न्यायप्रेमी जनताको मनमा सदा बाँचिरहनेछ । प्रतिक्रियावादीहरूको नजरमा भने तःमुंज्या ॅज्यापूहरूको दबु’ र ॅसाहित्य भनेकै नबुझेकाहरूको दबु,’ थियो र हुनेछ । यसमा कुनै आश्चर्य छैन । सायद, यो पनि वर्गसङ्घर्षकै परिणाम या सिलसिला हो !
महामारी कालमा पनि निरन्तरता
बढ्दो कोभिड-१९ सङ्क्रमण तथा मृत्युका कारण सिर्जित प्रतिकूल परिस्थितिमा पनि तःमुंज्याले निरन्तरता पायो । निश्चय पनि यो खुसीको कुरा हो । धेरैको खुल्दुली थियो, यसपाली तःमुंज्या हुन्छ या हुन्न ? भौतिक उपस्थितिमा गर्न सम्भव नभएपछि अनलाइन जूम प्रविधि प्रयोग गरी कार्यक्रम सञ्चालन भयो । हरेक वर्षभैmँ यो वर्ष उही तिथिमा सम्पन्न भयो । भक्तपुरका फरक-फरक टोलमा हुने तःमुंज्या यो साल भिन्न तरिकामा हुँदा सर्वसाधारणका निम्ति असहज हुनु अस्वाभाविक होइन । जूम, फेसबुक लात्, रेडियो, टीभी गरी आधा दर्जनभन्दा बढी माध्यमबाट चालिसौँ तःमुंज्या अगाडि बढ्दा धेरैले सन्तोष व्यक्त गरे । तर, एउटा स्थापित जनताको दबु, जनस्तरमा क्रियाशील संस्था तथा जनताले जनताबीच हुर्काएको दबु या आन्दोलन प्रविधि या वैज्ञानिक उपकरणमा मात्र सीमित गर्नुपर्दा पीडाबोध हुनु या आत्मसन्तुष्टिमा केही कमी आउनु त्यत्तिकै स्वाभाविक पनि हो ।
सहभागिताको हिसाबले भन्नुपर्दा विगतमा पनि दिउँसोको कार्यक्रममा पुग-नपुग आठ सयदेखि एक हजार जना सहभागी हुने गरेको पाइन्छ । यो वर्ष जुममा करिब ६ सय पचास र अरू माध्यमबाट करिब एक हजार जनाले प्रत्यक्ष प्रसारण सुनेका या हेरेका थिए । प्रत्यक्षबाहेक आजको मितिसम्ममा दशौँ हजारले तःमुंज्या हेरिसकेका/सुनिसकेका छन् । यस अर्थमा पहिलो पटक या भनौँ बिना पूर्वाभ्यास झट्टै आयोजना गर्दा नै यति राम्रो सहभागिता हुनु सफलता मान्नै पर्छ । सूचना या जानकारी नपाएर सहभागिता जनाउन नपाएका शुभचिन्तकहरूको दुखेसोलाई भने हलुका तरिकाले लिनु उपयुक्त हुने छैन । त्यस अर्थमा तीप्रति तःमुंज्याले केही हदसम्म आत्मालोचना गर्नु राम्रै संस्कारको प्रदर्शनी होला !
प्रविधिमा तःमुंज्याले देखाएको तत्परता या तयारी समयअनुसार कमजोर होइन । प्राविधिक दक्षतामा अगाडि बढेर आगामी दिनमा भौतिक उपस्थितिमै सम्मेलन हुने बेला समेत यो पटकभैmँ जिल्ला-जिल्ला र देश-विदेशका मित्रहरूले प्रत्यक्ष हेर्न र सहभागितासमेत जनाउन सम्भव हुने गरी बन्दोवस्त गर्न आवश्यक देखिन्छ । यो वर्ष विभिन्न जिल्लामात्र नभई विदेशबाट समेत सहभागिता सम्भव हुनु थप सकारात्मक पक्ष मान्न सकिन्छ । प्रविधिकै प्रयोग गरेर काभ्रेको डाँडाबाट नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका युवा कलाकारहरूले तामाङ्ग गीत ॅलात्’ गाएको सुन्ने दर्शकहरू कम हर्षित भएनन् !
कठिनाइमा बुद्धि पुर्याएर सामूहिक ढङ्गमा पाइला चाल्दा प्राप्त हुने उपलब्धिको आनन्द झन् बेजोड हुने यसपालिको तःमुंज्याले शिक्षा दियो भन्नु गलत हुने छैन ।
तःमुंज्यामा कोभिड- १९ बारे चर्चा
यसपालिको तःमुंज्याको मूलभूत विषय बन्यो कोभिड-१९ महामारी र त्यसविरुद्ध विश्व मानव जगतले जारी राखेको ॅजनयुद्ध’ । विज्ञ चिकित्सकहरूले भाइरसबाट जोगिन अपनाउनुपर्ने उपाय तथा पूर्वसावधानी र लड्ने तरिकाबारे विस्तृत जानकारी गराए । जनताका नेता तथा निर्वाचित प्रतिनिधिहरूले कोभिड-१९ पैmलिएपश्चात् देखिएको सामाजिक, आर्थिक तथा राजनीतिक प्रभाव या फेरबदल र जनताको हितमा चालिएका कदमबारे चर्चा गरे । शासकहरूको चरित्रको चिरफार गरे । जनताले नयाँ-नयाँ जानकारी पाए ।
कोभिड-१९ महामारीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रचित साहित्यले नै यस वर्ष स्थान पायो । भाइरसले जनताको धमाधम ज्यान लिइरहँदा उदासीन तथा कर्तव्यच्यूत बनेका शासकप्रति लेखकहरूले आक्रोश पोखे ।
सम्बन्धित विषयविज्ञबाट जनस्वास्थ्यबारे सामयिक चर्चाको शृङ्खला चलाएर तःमुंज्याले ठूलो गुण लगाएको जनताले अनुभव गरे । समसामयिक राजनीतिमा गम्भीर बहस चलाएर तःमुंज्याले महत्वपूणर् जिम्मेवारी वहन गर्यो भन्नु समीचीन हुनेछ ।
अन्त्यमा,
यति भव्य कार्यक्रमहरू आयोजना गर्न सक्ने क्षमता भएको तःमुंज्या वर्षमा एक-दुईचोटी या आकलझुकलमात्र किन देखापर्छ ? धेरैद्वारा सोधिने प्रश्न हो यो । यसमा गुनासोमात्र होइन अपेक्षा पनि लुकेको छ । अरू समय पनि साहित्यिक, भाषिक तथा सांस्कृतिक गतिविधि अगाडि बढाउन सके जनताको थप सेवा हुने थियो । तःमुंज्याले जनताका अझ बढी साहित्यकार, लेखक, कवि, कलाकारलाई उत्साहित बनाउन र हुर्काउन आवश्यक छ । सांस्कृतिक हमला चारैतिरबाट भइरहेको यो बेला जनपक्षीय कवि, लेखक, कलाकारहरूको सक्रियता अझ बढाउन तःमुंज्याको अगुवाइ अनिवार्य भइसकेको छ । खतरामा पर्दै गएका भाषा, संस्कृति, सम्पदा लोप नहुँदै तःमुंज्याले तत्परता देखाए कल्याण होला !
चालिस बर्से परिपक्वता हासिल गरिसकेको तःमुंज्या कामदार जनताको साहित्यिक-सांस्कृतिक आन्दोलनका रूपमा निरन्तर अगाडि बढोस्, शुभकामना !
Leave a Reply