संरा अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक दलका नेता जो बाइडेनको विजय निश्चित भएको छ । रिपब्लिकन दलका उम्मेदवार तथा राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी प्रतिस्पर्धामा पछाडि परेका छन् । पहिलो कार्यकालमा ट्रम्पले संरा अमेरिकी जनता र संसारकै अहितमा गरेका गल्ती–कमजोरी र अपराधबापत जनताले उनलाई सजाय दिएका छन् । साथै ट्रम्पको पुनःनिर्वाचनले संरा अमेरिका र संसारभर फैलिनसक्ने दक्षिणपन्थको लहरलाई यो मतपरिणामले रोक्न सफल भएको छ । ट्रम्प फासीवादी नेता हुन् । संरा अमेरिकामा ट्रम्पजस्तो राजनीतिक नेतृत्वको दबदबा बढेको कारण संसारभर दक्षिणपन्थ, अनुदार र फासीवादी राजनीतिले टाउको उठाउन खोजिरहेको थियो ।

ट्रम्प
ट्रम्पकै ढाडस पाएर ब्राजिलमा बोल्सोनारो र भारतमा मोदीजस्ता फासीवादी शासकहरूले आफ्नो ताण्डव नाच देखाउँदै थिए । यसले संसारभरका संवदेनशील जनतालाई फेरि पनि विश्व फासीवादको दलदलमा फस्ने पो हो कि भन्ने चिन्ताले छोपेको थियो । तर, अमेरिकी चुनावको मतपरिणामले ट्रम्पको फासीवादी नीति आफ्नै जनताबाट बहिष्कृत भएको देखाएको छ । ट्रम्पको गोरा अहङ्कारवादी चिन्तनको कारण मारिएका जोर्ज फ्लोडजस्ता उत्पीडित जनताको हत्याको बदला जनताले मताधिकारबाट लिएका छन् । सबै अन्तर्राष्ट्रिय निकायबाट हात झिकेर आफ्नै स्वार्थमात्र सिद्ध गर्ने ट्रम्पको गलत दृष्टिकोण पराजित बनेको छ । कोभिड–१९ महामारीलाई लगातार न्यूनाङ्कन गर्दै जनताको जीवनमाथि खेलबाड गर्ने गैरजिम्मेवार व्यवहारको ट्रम्पले सजाय पाएका छन् । जनविरोधी र अतिवादीहरू कुनै न कुनै रूपमा जनताबाट बहिष्कृत हुने वास्तविकता संरा अमेरिकामा फेरि पुष्टि भएको छ । अमेरिकी स्वतन्त्रता आन्दोलनको गौरव बोकेको अमेरिकाले फासीवादी शासकलाई पराजित गरेर आफ्नो इतिहासको गौरव जोगाएको छ । जनताले मूर्ख शासकलाई चुनेर एकपल्ट गल्ती गर्नसक्छन् । तर, जनताले मूर्ख शासकहरूलाई सजाय गर्न पनि जानेका हुन्छन् ।

बाइडेन
यसो भन्दै गर्दा एउटा अर्को भ्रममा हामी नपरौँ । जो बाइडेनले अमेरिकी जनतालाई सुख–शान्ति र संसारलाई साम्राज्यवादी युद्धबाट मुक्त गर्नसक्नेछैनन् । खासमा संरा अमेरिकामा पालैपालो शासन गर्ने दुई दल त्यहाँका पुँजीपति वर्गभित्रका दुई गुटका दुई खेमामात्र हुन् । उनीहरूबीच केही विषयमा राजनीतिक मतान्तर भए पनि श्रमिक जनतामाथि शोषण नै नाफाको मुख्य स्रोत भएकोले श्रमिकमाथि शोषणको नीतिमा उनीहरूबीच कुनै अन्तर छैन । उनीहरू दुवै सिक्काका दुई पाटामात्र हुन् । संसारमा आफ्नो साम्राज्य फैलाउने विषयमा ट्रम्प जति लालसी थिए, जो बाइडेन उनीभन्दा कम पक्कै होइनन् । संसारलाई संरा अमेरिकाको तखतमा राख्नुपर्ने सोचाइमा ट्रम्प जति जण्ड थिए, बाइडेन पनि त्यत्ति नै जब्बर छन् । इराकमाथि भएको हमलाका कट्टर समर्थक थिए–बाइडेन । त्यसकारण बाइडेनको विजयमा खुसी हुुनुपर्ने कुनै कारण छैन । अमेरिकी श्रमिक जनता र संसारका विकासशील देशमाथि शोषण गर्ने अमेरिकी राज्य यन्त्रका फरक चालकमात्र हुन्–बाइडेन । शोषणमा आधारित अमेरिकी शासक व्यवस्थामा नयाँ नेतृत्वले पनि कुनै परिवर्तन गर्न सक्नेछैन । तथापि, जलवायु परिवर्तन, कोरोना भाइरस, अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँगको सहकार्य, आप्रवासी समस्या, अल्पसङ्ख्यकमाथिको दमनजस्ता विषयमा बाइडेनले आफ्नो प्रतिबद्धता पूरा गरे केही स–साना सुधारको भने अपेक्षा गर्न सकिन्छ ।
विडम्बना अमेरिकी सरकार भनेको अमेरिकी शासक र पुँजीपति वर्गको सञ्चालक समिति हो । यो सञ्चालक समितिले जस्तोसुकै परिवर्तनको उत्कटता देखाए पनि त्यो त्यहाँका पुँजीपति वर्गको हितमा हुनेछ । अमेरिकी कामदार जनताले शोषणबाट मुक्त समाजको निम्ति अझ लामो सङ्घर्षको यात्रा गर्नुपर्नेछ । अमेरिकी श्रमिक जनता अझ राजनीतिकरूपमा सचेत र साङ्गठनिकरूपमा एकगठ बन्ने अवस्थामा क्रमशः व्यापक श्रमिक जनताको हित हुने शासन व्यवस्था स्थापना सम्भव हुनेछ ।
Leave a Reply