भर्खरै :

कहिले सुधार होला सातदोबाटो गोदावरी सडक

ललितपुर, २० कार्तिक । गोदावरीका राजु विष्ट दैनिक घर कार्यालय आवतजावत गर्नुहुन्छ । उहाँले दैनिक यसरी आवतजावत गर्दा पानी गर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे र खाल्डाखुल्डी सडकको निकै सामना गर्नुपरिरहेको छ । कोरोनाको जोखिम बढ्दो छ । सडकको अवस्थाले उहाँलाई घरबाट बाहिर निस्कन दिक्क लाग्छ ।
यसैगरी गोदावरी वडा नं ४ बडिखेलका पुरुषोतम आचार्य पनि दैनिक घर र कार्यालय गर्नुहुन्छ । यहाँले पनि सोही सडक खण्ड भएर यात्रा गर्नुपर्ने हुन्छ । अर्काे मार्ग अपनाएर हिँड्दा लामो दूरी पार गर्नुपर्ने भएकाले उहाँ सधैँ यसै सडकको प्रयोग गर्न बाध्य हुनुभएको छ । आफ्नै साधन प्रयोग गरेर हिँड्दा सडकमा खाल्डाखुल्डी भएका कारण धैरै पटक आफू चिप्लिएर लडेको उहाँले बताउनुभयो । ‘कति पटक हिलाम्मे सडकमा लडिसके । कुनै दिन यस्तै गरी चिप्लिएर अन्य सवारीसाधनसँग ठोकिएर ठूलो दुर्घटनामा परिएला भन्ने डर लागिरहन्छ ।’
उहाँले सातदोबाटोदेखि बडिखेल आउन लगभग ११ किलोमिटर सडक पार गर्नुपर्छ । सो सडक अस्तव्यस्तताका कारण यति दूरीको यात्रा छिचोलेर हिँड्न पनि उहाँलाई समस्या भइरहेको छ । लामो सयम सडक जाममा परेका बेला सुस्केरा हाल्दै उहाँले प्रश्न गर्नुभयो, ‘खोइ, कहिले बन्ला यो सडक ? ।’
त्यसैगरी वडा नं १४ बाडेगाउँका गोविन्द महर्जन पनि यस सडक पार गरेर दैनिक आफ्नो व्यवसाय सम्हाल्न हिँड्नुहुन्छ । पाका उमेरका उहाँलाई समय – समयमा औषधिउपचारलगायत काममा खटिरहनुपर्ने कारण दुईपाङ्ग्रे सवारी चढ्दा धुलोले श्वास फेर्न गाह«ो हुने त चारपाङ्ग्रे सवारी चढ्दा खाल्डाखुल्डीका कारण सडकमा उफ्रिएर पेटको लाम्टानै चुङ्गेला जस्तो भएर कैयौँ दिन ओछ्यान पर्ने गरेको दुःखेसो गर्नुभयो ।
उहाँहरू त यस सडक खण्ड यात्रा गर्ने एक प्रतिनिधि पात्रमात्रै हुन् । उहाँहरूजस्तै अन्य मानिसले हरेक दिन यस सडक भएर खाल्डाखुल्डी, हिलो र जामको सामना गर्दै हिँड्न बाध्य भइरहेका छन् ।
ती सङ्ख्याका यात्रीमा केहीमा दीर्घ रोग त कोही गर्भवती अनि केही सुत्केरी हुने हुँदा यस्तो अवस्थामा यस्तो सडकमा कसरी उफ्रिएर हिँड्न बाध्य भएका होलान् ? यो कुरा कल्पना पनि गर्न सकिँदैन ।
सातदोबाटोदेखि हात्तिवनसम्मको सडक यात्रा गर्न खासै छैन । हात्तिवन माथि हरिसिद्धिदेखि गोदावरीसम्मकै सडक पार गर्न कठीन रहेको छ । गत असोज १५ गतेदेखि यथावस्थामा सडक कालोपत्र गर्ने भनिएर हरिसिद्धिको मूल सडक निर्माणको काम भइरहेको छ । सो सडकमा ढल निकास र नाली व्यवस्थापनको काम भइरहँदा यसले यात्रीलाई हिलो र धुलोको समस्या बढाइरहेको छ ।
सो क्षेत्रमा ढल खनेर पाइप बिच्छाउने र मंगाल बनाउने कार्य जारी रहँदा यो कहिले सकिन्छ भन्ने यकिन गर्न नसकिरहेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एकतर्फ यी काम अघि बढाइरहेका छाँै भने अर्काेतर्फ दिनभरि यात्रा गर्ने सवारी साधनले आउने र जाने क्रम काम ढिलाइ भइरहेको छ ।”
सडकमा ढल खनेर पाइप राख्ने र मंगाल हाल्ने काम भइरहँदा हिलोको कारण कैयौँ यात्री लड्नुका साथै सवारीसाधन पनि हिलोमा फसेर निकाल्नु परिरहेको उहाँको भनाइ छ । मंगाल बनाउन खनिएको प्वालमा आज बिहानमात्रै एक सवारीसाधन फसेर झिकेको बताइएको छ । हाल निर्माणाधीन सो सडकको काम समाप्त गर्न अझै एक महिना समय लाग्ने अनुमान गरिएको छ । निर्माणाधीन सडकमा रोडा हाल्दा हिलो माथि माथि आएर साना गाडीको तुलनामा ठूलालाई यात्रा गर्न कठिन भइरहेको छ । ढल निकासको काम बेलुका गर्न नमिल्ने र उज्यालोमा नै गर्नुपर्ने सम्बन्धित व्यक्तिको भनाइ छ ।
यसका साथै ठैव, बाडेगाउँ, टौखेल हुँदै गोदावरीसम्म पुग्न चार वर्ष अघिदेखि यहाँका यात्रीलाई कठिनाइ भइरहेको छ । सातदोवाटो गोदावरी क्षेत्र चल्ने सावरीसाधनका साथै यस भेगमा रहेका घरहरू पनि आजभोेलि सडकका कारण हिलो र धुलोले हेर्न नहुने भइरहेका देखिन्छन् । सो क्षेत्रको सडक कहिले मर्मत, सुधार र कालोपत्र हुन्छ भन्ने कुराको जानकारी कसैलाई पनि छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *