भर्खरै :

संसद् बैठक बस

कोभिड–१९ महामारीको कारण बितेका केही महिनायता देशका दुवै संसद्का बैठक बसेको छैन । सरकारले कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न विभिन्न क्षेत्रमाथि लगाएका बन्देजहरू लगभग खुला गरिसकेको छ । तर, सरकारका गतिविधिलाई उत्तरदायी बनाउने राज्यको अङ्ग संसदको बैठक भने कोभिड–१९ महामारीकै कारण देखाइ बसेको छैन । विधिको शासन र शक्ति सन्तुलनको सिद्धान्तअनुसार कार्यपालिकालाई जिम्मेवारी बनाउने राज्यको एउटा निकाय व्यवस्थापिका हो । व्यवस्थापिकाप्रति कार्यपालिका सधैँ जिम्मेवार बन्नुपर्छ । साथै सरकारको आँखा नपुगेका जनताका समस्या र अन्तर्राष्ट्रिय महत्वका विषय व्यवस्थापिकामा सांसदहरूबाट ध्यानाकर्षण गराइन्छ । सरकारका गलत कामको विरोध र आलोचना गर्ने वैधानिक थलो संसद पनि हो ।
नेपाली जनता आज अनेक समस्याबाट पीडित छन् । कोभिड–१९ सङ्क्रमणसँगै जनताका दैनिक जीवनमा समस्याको रास थपिएको छ । बेरोजगारी बढेको छ । खुलामञ्चमा खाना खाने मानिसको लाम दैनिक बढिरहेको छ । अर्थतन्त्र धरासयी बन्दै छ । स्वास्थ्य क्षेत्रमा सरकार कर्तव्यच्युत बनेको छ । शैक्षिक संस्थाका ढोका कहिले खुल्ने हुन्, अनिश्चित छ । जनताका यस्ता समस्याबारे सरकारलाई जिम्मेवार बनाउने निकाय संसद हो । तर, संसदको बैठक नै नहुँदा कार्यपालिका विपक्षी दलको आलोचनाको भारीबाट मुक्त देखिएको छ । जनताका समस्या समाधान गर्न कार्यपालिकालाई जिम्मेवार बनाउने प्रतिपक्षको भूमिका शिथिल प्रायः छ ।
पछिल्लो समय देशमा केही महत्वपूर्ण राजनीतिक घटनाक्रम भए । भारतका प्रधानसेनापतिको नेपाल भ्रमण, भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख गोयलसँग प्रधानमन्त्रीको भेट, प्रधानमन्त्रीको शुभकामना कार्डमा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा नसमेटिएको जस्ता विषय चर्चामा छन् । यी विषयमा सरकारले प्रस्ट जवाफ दिइरहेको छैन । गोयलसँग प्रधानमन्त्रीको भेटमा के कस्ता कुराकानी भयो भन्ने नेपाली जनताको जिज्ञासा अझै मेटिएको छैन । सरकारले जनताका चासोलाई बेवास्ता गरिरहेको छ । संसदको बैठक हुँदो हो त यी विषयमा सांसदहरूले प्रश्न उठाउने थिए र ती प्रश्नको जवाफ प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीले दिनुपर्ने हुन्थ्यो । विडम्बना ¤ संसद बैठक नहुँदा सरकार यस्ता बोझबाट मुक्त छ ।
कोभिड–१९ प्रतिरोधका आधारभूत नियम पालना गरेर संसद बैठक सुरु गर्न जरुरी छ । सबै क्षेत्र खुला हुने तर सरकारलाई जिम्मेवार बनाउने निकाय बन्द हुँदा सरकार स्वेच्छाचारी र जनताका समस्याप्रति निरपेक्ष बन्दै छ । जनताको समस्या सरकारले देखे–नदेखेझैँ गरिरहेको छ । सङ्क्रमण दर बढ्दै छ । तर, कोभिड परीक्षण, उपचार र रोकथामबाट सरकारले हात झिकेको छ । कोरोना सङ्क्रमणको जालो अन्त्यहीन बनेको छ । ती समस्याबारे सरकारलाई उत्तरदायी बनाउने संसद आज बन्द छ ।
अन्तर्राष्ट्रिय राजनीतिमा पनि केही महत्वपूर्ण घटना भएका छन् । हालै अमेरिकी र भारतीय सरकारबीच बेका सम्झौता भएको छ । त्यो सम्झौताले नेपालमा र क्षेत्रीयरूपमा पार्नसक्ने प्रभावबारे वैचारिक मन्थन गर्ने ठाउँ संसद आज बन्द छ । दक्षिण एसियाली देशमा अमेरिकाले आफ्नो उपस्थिति बलियो बनाउन खोजिरहेको छ । संरा अमेरिका र दक्षिण एसियाली देश, विशेषतः भारतसँगको सम्बन्धले फरक दिशा लिइरहेको छ । अर्को शब्दमा भन्दा दक्षिण एसियाको क्षेत्रीय राजनीतिमा केही भिन्नता देखापर्दै छ । ती विषयमा नेपालको संसदमा छलफल हुन जरुरी थियो । अफसोच ¤ यतिबेला संसदको ढोका बन्द छ । सभामुख लाटाले केरा हेरेजस्तै बसेका छन् ।
जनताको सेवा गर्न जनताबाट निर्वाचित प्रतिनिधि र देश विपद्मा पर्दा चुपचाप निस्क्रिय बस्न मिल्दैन । त्यसकारण सांसदहरूलाई आफ्नो जिम्मेवारी पूरा गराउन संसद बैठक तत्काल बोलाइनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *