भर्खरै :

जिल्ला – जिल्लामा १०३ औँ अक्टोबर समाजवादी क्रान्ति दिवस

भक्तपुर, २२ कार्तिक । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा १०३ औँ अक्टोबर क्रान्तिको अवसरमा शनिबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले पार्टीले लिएको नीति तथा कार्यक्रमलाई सफल पार्न पार्टीको जनवर्गीय सङ्गठनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीको सङ्गठन विस्तारमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “पार्टी प्रकाशनहरू नियमितरूपमा अध्ययन गरी पार्टीले अघि सारेका विचार र सङ्घर्षलाई मजदुर र किसानबीच पु¥याउने काम शिक्षकहरूले गर्नु आवश्यक छ ।”
राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूबारे शिक्षकहरू जानकार हुनुपर्ने आवश्यकता औँल्याउँदैै उहाँले बदलिँदो विश्वमा भइरहेको चुनौतीलाई सामना गर्नसक्ने विद्यार्थी तयार गर्न शिक्षकहरूले मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।
“विद्यार्थीलाई राजनीतिकरूपमा शिक्षित गर्नु अहिलेको प्रमुख आवश्यकता हो”, उहाँले भन्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले ‘अक्टोबर क्रान्ति र अक्टोबर क्रान्तिको महत्व’बारे जानकारी गराउँदै माक्र्सवादलाई व्यवहारमा लागू गरी अक्टोबर क्रान्तिपछि सोभियत सङ्घमा समाजवादी राज्यव्यवस्था स्थापना भएको बताउनुभयो ।
राज्य सत्तामा सर्वहारा वर्गको हुकुम नै माक्र्सवादको सार भएको उल्लेख गर्दै उहाँले अक्टोबर क्रान्तिले संसारका कामदार जनतालाई नयाँ शिक्षा दिएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको कार्यक्रममा जगन्नाथ सुजखू, दीपक माक, राकेश सुकुपायो, राजेश भ्वयद्यो, शिवराम बोहजू, सुशीला दुवाल, अम्बिका न्याइच्याईलगायतले बोल्नुभएको थियो ।
सूर्यविनायकमा प्रवचन
अक्टोबर क्रान्ति दिवसकै अवसरमा शनिबार नेमकिपा सूनपा वडा नं. ८ एकाइ समितिले सूर्यविनायकमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले शासन सत्तामा रहेका शोषक वर्गलाई फालेर श्रमिक वर्गको सत्ता स्थापना गर्नु नै नेमकिपाको उद्देश्य भएको बताउनुभयो । उहाँले अक्टोबर क्रान्तिले शिक्षा र स्वास्थ्य निःशुल्कजस्ता कार्यक्रम अगाडि सारेको भन्दै नेपालमा कम्युनिस्ट नामको सरकार भएर जनताले आधारभूत स्वास्थ्य उपचार पनि नपाएको बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले पार्टीलाई धोका दिने र निहीत स्वार्थपूर्तिको निम्ति वर्गशत्रुसँग हातेमालो गर्ने प्रवृत्तिविरूद्ध सङ्घर्षका गतिविधि अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपा, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले अक्टोबर क्रान्तिले विश्वका कामदार जनतालाई शोषणविरूद्ध लड्न उत्साहित गरेको धारणा राख्नुभयो ।
नेमकिपा, सूर्यविनायक नगर समितिका सदस्य महेन्द्र बखुञ्छेले नेकपाले कम्युनिस्टको नाममा जनता ठगिरहेको बताउनुभयो ।
आयोजक समितिका सदस्य रोशन मचामसीले निःस्वार्थ भावनाले काम गर्ने मानिसमात्र नेमकिपामा रहने बताउनुभयो ।
नेमकिपा सूनपा वडा नं ८ का अध्यक्ष श्यामसुन्दर सुवालको सभापतित्वमा भएको कार्यक्रमपछि बसेको बैठकले उहाँकै अध्यक्षतामा नयाँ कार्यसमिति पुनःगठन गरेको छ ।
काठमाडौंमा अक्टोबर क्रान्ति दिवस
अक्टोबर क्रािन्त दिवसकै अवसरमा नेमकिपा काठमाडौं जिल्ला समितिको आयोजनामा जुममार्फत शुक्रबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले अक्टोबर समाजवादी क्रान्तिलाई नेपालको परिवेशमा अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो ।
मजदुर किसान एकगठ भएर अगाडि बढेमा क्रान्ति सफल हुन्छ भन्ने शिक्षा रूसको समाजवादी क्रान्तिले सिकाएको उहाँले उल्लेख गर्नुभयो ।
नेपालका सत्ताधारी कम्युनिस्ट पार्टीले समाजवादको ‘स’ पनि कार्यान्वयन गर्न सकेका छैनन्, नेकपा संशोधनवादी र अवसरवादी पार्टी हो, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले समाजवादी क्रान्तिको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवाल, विश्वक डंगोल, सुनिल महर्जन, प्राध्यापक सङ्घका सुजन माक, सानुकाजी महर्जन, नरेश महर्जन, राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।
कैलालीमा प्रशिक्षण
अक्टोबर समाजवादी क्रान्ति दिवसकै अवसरमा शनिबार कैलालीमा प्रशिक्षण कार्यक्रम भयो ।
नेमकिपा कैलालीको आयोजनामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले अक्टोबर क्रान्तिको महत्व र नेमकिपा स्थापनाको उद्देश्यबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य गुप्तबहादुर शाही, नेक्राविसङ्घका केन्द्रीय सदस्य ईश्वर शाही, हिक्मत भण्डारी, भीमबहादुर बडुवाल र तिर्सना पुनले पनि बोल्नुभएको थियो ।
सुर्खेतमा अक्टोबर क्रान्ति दिवस
नेमकिपा वीरेन्द्रनगर नगर समितिको आयोजनामा पनि अक्टोबर क्रान्तिको अवसरमा अन्तरक्रिया कार्यक्रम भयो ।
आयोजक समितिका अध्यक्ष शेरबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिले औद्योगीकरणमा पछाडि परेको सोभियत सङ्घमा समाजवादी क्रान्ति सम्भव छ भनी विश्वलाई देखाइदिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापाले वस्तु र परिस्थितिलाई सही मूल्याङ्कन गरी क्रान्ति अघि बढे सफल हुने बताउनुभयो ।
कार्यक्रममा धनेन्द्र बिक, अकलबहादुर राना, गणेश खड्का, गोविन्दनाथ योगी, अङ्गबहादुर शाही, खेमराज कँडेललगायतले बोल्नुभएको थियो ।
बागेश्वरीमा भेला
अक्टोबर क्रान्तिकै अवसरमा चाँगुनारायण नगरपालिका वडा नं ७, मझुवामा सामाजिक दुरी कायम गर्दै स्थानीय किसान तथा युवाहरूबीच भेला तथा छलफल कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले विश्व सर्वहारा वर्गका महान् गुरू लेनिनको नेतृत्वमा सोभियत रूसमा सम्पन्न ‘अक्टोबर क्रान्ति’ ले शोषित पीडित जनताको परिवर्तनको लागि सङ्घर्ष गर्नु जरूरी रहेको सन्देश दिएको बताउनुभयो । उहाँले पुँजीवादी व्यवस्थाले आर्थिक असमानता बढाएको हुँदा वर्ग र शोषणविहीन समाज स्थापनाको लागि नेमकिपा सङ्घर्षरत छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले नेपाली जनताले कामदार वर्गको पक्षमा काम गर्ने नेमकिपा र भ्रष्टाचारी, शोषक, स्वदेशी तथा विदेशी पुँजीपति वर्गको पक्षमा काम गर्ने शासक दलबीच भेद छुट्याउन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ मझुवा टोल समितिका जी. लामाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *