भर्खरै :

“नेपालको इतिहासमा जङ्गबहादुर” एक चर्चा

नेपालको इतिहासमा जङ्गबहादुर राणा एक नबिर्सिने र नमेटिने नाम हो । नेपालमा १०४ वर्षे जहाँनिया शासन व्यवस्था सुरू गर्ने जङ्गबहादुरको उत्थान र कर्म दुवै विवादको घेराबाट मुक्त छैन । कोतपर्वको रगतको आहालबाट उदय भएका जङ्गबहादुर नेपालको आन्तरिक खिचातानीको मात्र परिणति हो कि बेलायती साम्राज्यवादको उत्पादन हो भन्ने विषयमा मतैक्यता पाइँदैन । भिन्नभिन्न विचारबाट प्रभावित इतिहासकारहरूका जङ्गबहादुरबारे फरक फरक दृष्टिकोण छन् । ती मतभिन्नताहरूको अध्ययनबाट इतिहासको आलोचनात्मक विश्लेषण गर्न मद्दत पुर्‍याउला । तथ्यगत खोजीको लागि उत्साहित बनाउला ।
जङ्गबहादुरबारे अघिल्ला इतिहासकारहरूको दाबी र मान्यताहरूको खण्डन गर्दै फरक धारणा अगाडि सार्ने इतिहासकार त्रिरत्न मानन्धरले विसं २०३१ देखि २०४२ सम्म लेखेका जङ्गबहादुरसम्बन्धी लेखहरू सङ्कलन गरी ॅनेपालको इतिहासमा जङ्गबहादुर’ पुस्तक प्रकाशित छ । विसं २०४८ मा प्रथम पटक प्रकाशित ॅनेपालको इतिहासमा जङ्गबहादुर’ पुस्तकलाई गएको असोज २०७७ मा मञ्जरी पब्लिकेसनले पुनः प्रकाशन गरेको छ । लेखक मानन्धरले पुस्तकका लागि सबैजसो स्वदेशी दस्तावेजहरू परराष्ट्र मन्त्रालय, काठमाडाँै र विदेशी दस्तावेजहरू भारतीय राष्ट्रिय अभिलेखालय, नयाँदिल्लीबाट लिएको खुलाएका छन् । पुस्तकलाई जङ्गबहादुरको उदय, परराष्ट्र सम्बन्ध, प्रशासनिक व्यवस्था र षड्यन्त्रात्मक राजनीति गरी चार भागमा विभाजित गरिएको छ ।
ॅनेपालको इतिहासमा जङ्गबहादुर’ को पहिलो भागको ६ वटामध्ये ४ वटा रचनामा लेखक मानन्धरले पटक-पटक ॅकोतपर्वको हत्याकाण्ड जङ्गबहादुरले ब्रिटिश रेजिडेन्टको सहयोगद्वारा गरेका थिए’ भन्ने मान्यताको खण्डन गरेका छन् । कोतपर्वको हत्याकाण्ड हुनुअघि ब्रिटिश साम्राज्यवादलाई कुनै जानकारी थिएन वा ब्रिटिश भारतीय शासकहरूको योजनाअनुसार जङ्गबहादुरको उदय भएको होइन भन्ने जिकिर गर्नमै लेखक मानन्धरले ती ४ वटा रचनामा बढी मिहिनेत गरेको देखिन्छ । ब्रिटिश रेजिडेन्टको सहयोगमा कोतपर्वको हत्याकाण्ड मच्चाएको धारणा मान्नलाई पहिला जङ्गबहादुरलाई गगनसिंहको हत्यारा साबित गर्नुपर्ने दाबी गर्दै लेखक मानन्धरले पहिलो रचनामै त्यतिबेलाको परिस्थिति र घटनाक्रमलाई विचार गरी हेर्दा गगनसिंहको हत्यामा फत्तेजङ्गको प्रमुख भूमिका रहेको देखिन्छ भन्दै चौथो रचनाको फुटनोटमा भए पनि ॅगगनसिंहको हत्यामा मुख्तियार फत्तेजङ्गले प्रमुख भूमिका लेखेका थिए भन्ने मेरो धारणा छ’ भनी आफ्नो दृष्टिकोण स्पष्ट पारेका छन् ।
विसं १९०३ असोज ९ गते सोमबार राति १० बजे घरकै पूजाकोठामा अकस्मात् जनरल गगनसिंहको हत्या भयो । आफ्नो विश्वासपात्र गगनसिंहको हत्या भएको खबरबाट महारानी लक्ष्मीदेवी पागलजस्तै भइन् । गगनसिंहलाई गोली हानी मार्ने हत्यारा पत्ता लगाउन र सोबारे छलफल गर्न महारानी लक्ष्मीदेवीले तत्कालै समस्त उच्च जङ्गी तथा निजामती पदाधिकारीहरूलाई कोतमा भेला गराउनको निम्ति धरहराबाट विगुल बजाउन अभिमानसिंहलाई आदेश दिइन् । केही घण्टाभित्रै कोतमा ती उच्च पदाधिकारीहरू जम्मा भए । कोतमा हतियार र दलबलसहित पहिला जङ्गबहादुर पुगिसकेका थिए । राजा राजेन्द्र र महारानी लक्ष्मीदेवी आइपुग्दासमेत मुख्तियार फत्तेजङ्ग आइपुगेका थिएनन् । छलफलको नेतृत्व गर्नुभन्दा आफ्नो विश्वासपात्र मुख्तियार फत्तेजङ्ग आइनपुगेको भन्दै राजा राजेन्द्र आफैँ मुख्तियार फत्तेजङ्ग बोलाउन कोतबाट निस्के । फत्तेजङ्गलाई कोतमा पठाएर राजा राजेन्द्र ब्रिटिश रेजिडेन्टलाई भेट्न गए । ब्रिटिस रेजिडेन्टले भेट नदिएपछि राजा राजेन्द्र फेरि कोतमा आए तर जङ्गबहादुरको आदेशमा कोतको मुख्य ढोकामा बसेका विजयराजले राजा राजेन्द्रलाई कोतभित्र जान रोके । यसबीचमा जङ्गबहादुरको पक्षका बाहेक मुख्तियार फत्तेजङ्गलगायत उच्च पदाधिकारीहरूको हत्या भइसकेको थियो ।
कोतपर्वको हत्याकाण्डको सुरूवात गगनसिंहको हत्याबाट भयो । गगनसिंहको हत्या हुनुअघि गगनसिंहकै निर्देशनमा जङ्गबहादुरले प्रधानमन्त्री माथवरसिंह थापाको हत्या गरेका थिए । ६० वर्षीय जनरल गगनसिंह र ३० वर्षीय महारानी लक्ष्मीदेवीबीचको घनिष्ठतालाई अनैतिक सम्बन्ध रहेकोसम्म आरोप लाग्ने गरेको थियो । जङ्गबहादुर जनरल गगनसिंह र महारानी लक्ष्मीदेवीकै गुटको मानिस भएको हुँदा गगनसिंहको हत्या जङ्गबहादुरले गर्नसक्दैनन् भन्ने इतिहासकार मानन्धरको तर्क छ । ॅगगनसिंहको हत्या कसले गर्‍यो ?’ भन्ने पहिलो लेखमै मानन्धरले स्पष्ट लेखेका छन्, “भाग्यले साथ दिएरमात्रै जङ्गबहादुर कोतपर्वपछि शक्तिमा आएका थिए नत्र भने गगनसिंहको हत्या गरेर जङ्गबहादुरलाई खास कुनै फाइदा हुने थिएन यसबाट राजाको गुटमात्र शक्तिशाली हुन्थ्यो ।” गगनसिंहको हत्याराबारे मूलतः दुई दृष्टिकोण अगाडि सारिएको छ, १) राजा राजेन्द्रको गुटले कुख्यात हत्यारा लाल झामार्फत मारेको र २) ब्रिटिस साम्राज्यवादको आडमा जङ्गबहादुरको योजनानुसार मारेको ।
ढुण्डीराज भण्डारीको ॅनेपालको ऐतिहासिक विवेचना’, ललितबहादुर बमको ॅश्री ५ महाराजाधिराज राजेन्द्र र तत्कालीन नेपाल’, बालचन्द्र शर्माको ॅनेपालको ऐतिहासिक रूपरेखा’ अनि गोकुलचन्द्र शास्त्रीको ॅहिस्टोरिकल ग्लिम्पसेस् अफ मार्डन नेपाल’ लगायतको तर्क-प्रमाणहरू सन्दर्भ सामग्री उल्लेख गरी ती सबैलाई मानन्धरले अस्वीकार गरेका छन् । प्राध्यापक गोकुलचन्द्र शास्त्रीको नेतृत्वमा लेखकहरूको समूहले कोतको हत्याकाण्डका लागि जङ्गबहादुरलाई जिम्मेवार ठहर्‍याएका छन् । उनीहरूको भनाइअनुसार सर्वप्रथम जङ्गबहादुरले गगनसिंहको हत्या गरे, अनि हत्यारा पत्ता लगाउन उच्चपदाधिकारीहरूको बैठक तुरून्त बोलाउन महारानी लक्ष्मीदेवीलाई सल्लाह दिए र त्यसपछि कोतभित्रको स्थिति आफ्नो अनुकूल पारी सबैजसो उच्च पदाधिकारीहरूको हत्या गरे । बालचन्द्र शर्माले एक जना वृद्धा
(विसं १९३८ मा मारिने सङ्ग्रामशुर विष्टकी बहिनी) को भनाइलाई उद्धृत गर्दै स्वयम् जङ्गबहादुरले आइमाईको भेष धारण गरी गगनसिंहको हत्या गरेको उल्लेख गरेका छन् । बाबुराम आचार्यले गगनसिंहको हत्या जङ्गबहादुरको निर्देशनमा भएको बताएका छन् ।
जङ्गबहादुरका छोरा पद्मजङ्गको टिप्पणीलाई उद्धृत गर्दै मानन्धरले फत्तेजङ्ग र उनका सहयोगीहरूले कुख्यात हत्यारा लाल झाद्वारा गगनसिंहको हत्या गराएको चर्चा गरेका छन् । लाल झाले मर्नुभन्दा अगाडि आफूले गगनसिंहको हत्या गरेको कुरा स्वीकारेका थिए । मृत्युशैयामा परेको व्यक्तिको ओठमा सत्यको बास हुन्छ भन्दै मानन्धरले गगनसिंहको हत्यामा फत्तेजङ्गलगायत राजाको गुट नै जिम्मेवार भएको जिकिर अघि सारेका हुन् । त्यसो त अभिमानसिंहले पनि मर्नुभन्दा अघि ॅगगनसिंहलाई मार्ने जङ्गे हो’ भनेका थिए ।
कोतको हत्याकाण्ड हुँदा नेपालस्थित ब्रिटिस रेजिडेन्ट हेनरी लरेन्स आफ्नो कार्यकाल सकी काठमाडौँबाट फर्किसकेको र नवनियुक्त रेजिडेन्ट सी. थोरस्वे काठमाडौँ आइनपुगेकोले सहायक रेजिडेन्ट क्याप्टेन ओटलेले कायममुकाम रेजिडेन्ट भई काम गरिरहेका थिए । त्यस रात राजा राजेन्द्र ओटलेसँग भेट गर्न ब्रिटिश रेजिडेन्सीमा गएका थिए तर कार्यवाहक रेजिडेन्टले राजासँग भेट गरेनन् । यो भेट नगर्नुले पनि कोतको हत्याकाण्डबारे ब्रिटिश रेजिडेन्टको हात रहेको धेरै इतिहासकारहरूको अनुमान छ । तर, मानन्धरले ओटलेको यस्तो भूमिकालाई तटस्थपूणर् मानेका छन् । कोतको हत्याकाण्ड भएको १० दिनपछि अर्थात् सन् २४ सेप्टेम्बर १८४६ का दिन ब्रिटिश कार्यवाहक रेजिडेन्ट ओटलेले लेखेको पत्रका आधार मानन्धरले आफ्नो मान्यता अगाडि सारेका हुन् । उक्त पत्रमा ओटलेले आफू नेपालको आन्तरिक मामिलामा कुनै प्रकारले संलग्न नभएको र नेपालको राजनीतिबाट आफू पूणर्रूपले अलग्ग रहेको कुरा स्पष्टरूपमा उल्लेख गरेको जिकिर गरेका छन् । मानन्धर स्पष्ट दाबी गर्छन्, “क्याप्टेन ओटले कोतको हत्याकाण्डमा कुनै प्रकारबाट पनि संलग्न थिएनन् न त उनले उक्त हत्याकाण्ड गर्न जङ्गबहादुरलाई कुनै प्रकारले मद्दत गरेका थिए । ओटलेको तटस्थपूणर् नीतिलाई बङ्ग्याएर केही लेखकहरूले कोतपर्व गर्न जङ्गबहादुरलाई ब्रिटिश रेजिडेन्टले मद्दत गरेको मिथ्या दोषारोपण गरेका छन् ।” नेपालको त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्नुअघि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर उपाधि पाएका लेखक मानन्धरले लिखित दस्तावेजमा उल्लेखित शब्दको आधारमा कोतपर्व र जङ्गबहादुरको उत्थानमा ब्रिटिश साम्राज्यवादलाई पानीमाथिको ओभानो बनाउन खोजे पनि ॅनेपालको इतिहासमा जङ्गबहादुर’ मै दिइएका केही तथ्य तथ्याङ्कले नेपाली इतिहासमा ब्रिटिश साम्राज्यवादको चलखेल छताछुल पारेको देखिन्छ ।

जङ्गबहादुर बेलायतबाट फर्केपछि आफ्नो हत्या गर्न खोजेको आरोपमा आफ्नै साहिला भाइ बद्रीनरसिंह र राजा सुरेन्द्रका माहिला भाइ उपेन्द्रविक्रम शाहलगायतलाई अपराधी ठहर्‍याई दण्ड दिइएको थियो । तिनीहरूलाई सजाय दिन जन्मभर भारतको अलाहवाद जेलमा राख्नको निम्ति जङ्गबहादुरले ब्रिटिश भारत सरकारसँग माग गरे । तर, ५ वर्षमात्र अलहवादमा कैद राख्न ब्रिटिश भारत सरकार राजी भयो । विसं १९१० मा जयबहादुरको जेलमै मृत्यु भएपछि जङ्गबहादुरकी आमाको अनुरोधमा जङ्गबहादुरले ती तथाकथित अपराधीहरूलाई नेपाल झिकाए । बद्रीनरसिंहले आत्महत्या गर्ला भनी छुट्टै कोठामा हातमा नेल ठोकी कैद गरिएको थियो । डा. एम. एस. जैनका अनुसार बद्रीनरसिंह सुरूदेखि नै जङ्गबहादुरको ब्रिटिश समर्थक नीतिको कट्टरविरोधी थिए 

कोतपर्व हुनुभन्दा ६ महिनाअघि ब्रिटिश रेजिडेन्टले पठाएको रिपोर्टमा गगनसिंह निकै शक्तिशाली भएको उल्लेख गर्दै छिट्टै उनको पतन हुने वा हत्या गरिने आशङ्का व्यक्त गरेका थिए । त्यस्तै कोतपर्वमा को जिम्मेवार छ ? भन्ने विषयमा एकले अर्कोलाई दोषारोपण गरिरहेको बेला निर्वासित राजा राजेन्द्रले निर्वासनमै रहेकी महारानी लक्ष्मीदेवीसित स्पष्टीकरण मागेका थिए । महारानी लक्ष्मीदेवीले जवाफी पत्रमा जसले गगनसिंहको हत्या गर्‍यो वा गरायो उसैले कोतभित्र हत्याकाण्ड पनि मच्चायो भनी स्पष्टरूपमा आफ्नो विचार राख्दै विसं १८९४ देखिको षड्यन्त्रात्मक राजनीतिले उग्ररूप लिएको दाबी गरेकी थिइन् । मानन्धरले दिएका यी तथ्य तथ्याङ्कहरूबाट नै पनि कोतपर्वकालीन नेपाली राजनीति ब्रिटिश शासकहरूको प्रभाव र चलखेलबाट मुक्त छ भनी स्वीकार गर्न अप्ठ्यारो हुन्छ ।
ॅनेपालको इतिहासमा जङ्गबहादुर’ भित्र जङ्गबहादुरका अनेक चाखलाग्दा घटनाहरू पनि दिइएका छन् । आफू शक्तिमा आउन राजा राजेन्द्रमात्र होइन, राजा सुरेन्द्रलाई पनि घुर्की लाउने गरेको पत्रहरूको आदानप्रदान पनि मानन्धरले उदाहरण दिएका छन् । आफ्नो दलबलसहित बेलायत भ्रमणमा जाँदा जङ्गबहादुरले बेलायती महारानी, प्रधानमन्त्री र भारतका गभर्नर जनरलसमेतलाई अनेकन सुनका असर्फीलगायत बहुमूल्य उपहार चढाएका थिए । तर, ती उपहार चित्त नबुझाएपछि बेलायती शासकहरूको इच्छालाई ध्यानमा राखी जङ्गबहादुरले नेपाल र नेपाली संस्कृति एवम् जनजीवन प्रतिबिम्बित हुने खालका सामानहरू नेपालबाट तुरून्तै पठाउन आदेश दिए । नेपाली मुद्रा, मसला, देवीदेवताको मुकुण्डो, मूर्ति, सुनचाँदीका गहना, विभिन्न प्रकारको माटो, भाँडावर्तन, पूजा गर्ने सामग्री, चाँदीका चाँद, बाजाहरू, चित्रहरू, कपडा, कपडा बुन्ने सामानहरू, लुगाहरू, सिकर्मी र डकर्मीका ज्यावल, ढक तराजु, हतियार, खाद्यपदार्थ, जडीबुटी, फलपूmलका बिरुवाहरूलगायत बेलायत पठाएका सामानहरूको नामावली विवरणमात्रै २९ पृष्ठ लामो थियो । ती सामानहरूबाट स्वाभाविकरूपमा नेपाल र नेपाली जनताको संस्कृति र क्षमता बुझ्न बेलायती शासकहरूलाई मद्दत गर्‍यो होला ।
जङ्गबहादुर बेलायतबाट फर्केपछि आफ्नो हत्या गर्न खोजेको आरोपमा आफ्नै साहिला भाइ बद्रीनरसिंह र राजा सुरेन्द्रका माहिला भाइ उपेन्द्रविक्रम शाहलगायतलाई अपराधी ठहर्‍याई दण्ड दिइएको थियो । तिनीहरूलाई सजाय दिन जन्मभर भारतको अलाहवाद जेलमा राख्नको निम्ति जङ्गबहादुरले ब्रिटिश भारत सरकारसँग माग गरे । तर, ५ वर्षमात्र अलहवादमा कैद राख्न ब्रिटिश भारत सरकार राजी भयो । विसं १९१० मा जयबहादुरको जेलमै मृत्यु भएपछि जङ्गबहादुरकी आमाको अनुरोधमा जङ्गबहादुरले ती तथाकथित अपराधीहरूलाई नेपाल झिकाए । बद्रीनरसिंहले आत्महत्या गर्ला भनी छुट्टै कोठामा हातमा नेल ठोकी कैद गरिएको थियो । डा. एम. एस. जैनका अनुसार बद्रीनरसिंह सुरूदेखि नै जङ्गबहादुरको ब्रिटिश समर्थक नीतिको कट्टरविरोधी थिए । बद्रीनरसिंहले सेनाको विश्वास प्राप्त गरुञ्जेल जङ्गबहादुरको प्रभुत्व नजम्ने देखी उनले बद्रीनरसिंहको चरित्रहत्या गरी सेनाको विश्वास नष्ट गरे । यद्यपि मानन्धरका अनुसार बद्रीनरसिंहले जङ्गबहादुरको अङ्ग्रेज समर्थक नीतिको घोर विरोध गरेका थिए भन्ने प्रमाण छैन । बेलायती साम्राज्यवादका बफादार कुकुरको उपाधि पाएका जङ्गबहादुरलाई ब्रिटिश साम्राज्यवादको उत्पादन होइन भनी जोडबल गरे पनि नेपालको परराष्ट्र मन्त्रालयमा मानन्धरले नै भेटाएका पत्रहरूमध्ये छैठौँ पत्र भनी दिइएको विसं १९१४ साउन महिनामा कमान्डर इन चिफले भारतीय विद्रोह (सन् १८५७) दबाउन अङ्ग्रेजहरूलाई मद्दत गर्न गएको नेपाली फौजको नेतृत्व गर्ने ले.क. पहलमानसिंहलाई लेखेको पत्रमा भारततर्फ जाने नेपाली फौजमा सामेल हुन कडा निर्देशन दिंदादिंदै पनि सो फौजसँग नगएको अपराधमा देवीदत्त पल्टनका सिपाही चन्द्रवीर कुँवरलाई फाँसी दिइएको र भविष्यमा सैनिकहरूबाट यस्तो अपराध नहोस् भन्ना खातिर यो कुरा पल्टनका सबै जवानहरूलाई सुनाइदिन पहलमानसिंहलाई अर्‍हाएको उल्लेख छ । भारतीय स्वतन्त्रता आन्दोलन दबाउन जानुभन्दा जङ्गबहादुरको फाँसी सामना गर्न तयार नेपाली सिपाहीले एकसाथ तत्कालीन नेपाली जनताको साम्राज्यवादविरोधी भावना र जङ्गबहादुरको ब्रिटिश साम्राज्यवादप्रतिको बफादारीता उजागर पारेको छ ।
उपलब्ध लिखित दस्तावेजका शब्दको अविधा अर्थमा मात्र इतिहासको अध्ययन गर्ने त्रिरत्न मानन्धरको दृष्टिकोणले समकालीन नेपाली जनताको भावनालाई कदर गर्न सक्षम होला जस्तो देखिँदैन । औपचारिकरूपमा कहिल्यै पनि उपनिवेश नबनेको नेपाल आज पनि साम्राज्यवाद, विस्तारवाद र भारतीय एकाधिकार पुँजीको मुठ्ठीबाट उम्किन सकेको अवस्था छैन । आजको सर्वाधिक विवाद र चासोको विषय संरा अमेरिकाको एमसीसी र नेपाल सरकारबीचको एमसीसी सम्झौताका शब्दमात्रै केलाउने बेलामा पनि सो सम्झौता पूणर्तः नेपालको याचनाअनुसार संरा अमेरिकाले सदासयतापूर्वक अनुदान सहयोगको रूपमा आएको बुझ्नुपर्ने हुन्छ । जबकि यथार्थतः एमसीसी सम्झौता नेपाली जनताको भावनाविपरीत नेपालको सार्वभौमसत्ता साम्राज्यवादी संरा अमेरिकाको मुट्ठीमा कैद गर्न संरा अमेरिकाले लादेको सम्झौता हो भन्ने प्रस्ट छ । त्रिरत्न मानन्धरको ॅनेपालको इतिहासमा जङ्गबहादुर’ ले भोलि पनि नेपालको इतिहास आजका नेपाली जनताको भावनाविपरीत लेखिने हो कि भन्ने चिन्ता जगाउन लगाउँछ । इतिहासका विद्यार्थीहरूलाई सतर्क बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *