वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
एकलकाँटे कमान्ड
अक्टोबर १६ मा डिभिजन प्रमुख प्रसादले साङधरबाट डाल्भीलाई फोन गरे । डाल्भीले आशाको सन्देश पर्खिरहेका थिए । तर, कौलले ॅउच्च तह’ लाई चिनियाँहरूलाई खेद्न नसकिने कुरामा मनाउन नसकेको बताए । साथै मन्त्रिमण्डलले रक्षामन्त्रीले दिएको अन्तिम म्याद नोभेम्बर १ लाई सदर गरेको बताए । रक्षामन्त्रीले डाल्भीलाई केके चाहिने भनी सोधेको प्रसादको भनाइ थियो । सुरूमा डाल्भी रन्थनिए । कसैले सुद्धिबुद्धि गुमाएको डाल्भी महसुस गरे । चिनियाँहरूलाई खेद्न उनलाई सबैथोक चाहिन्थ्यो । उनीसँग रासन, लुगा र हातहतियारको अभाव थियो । केही तीतोपिरो कुराकानीपछि डाल्भीले हतियार डिभिजन र २०० मध्यम तोप मागे । अरूको मुढाग्रहको लागि आफ्नो फौजले बलि दिनुपर्ने डाल्भीले बुझिसकेका थिए । हिमालयको जटिल भूगोलका कारण जनरल प्रसाद रक्षामन्त्रीको प्रस्ताव व्यर्थ रहेकोमा डाल्भीसँग ॅसहमत’ भए । त्यसबेला सैन्य सन्तुलन ब्रिगेड ७ को पक्षमा ल्याउनसक्ने संसारमा कोही थिएन ।
जनरल प्रसादले आफू ॅदुवै’ को विचार माथि बताउने वाचा गरे । कुनै जनरलले माथि कुरा राख्ने बताएको यो चौथो पटक थियो । डाल्भी यस्ता वाचाले दिक्दार भइसकेका थिए । यसपालि सैन्य दुरवस्था अझै टड्कारो भइसकेको थियो । डाल्भीसँग सल्लाह लिन आवश्यक थिएन । शक्तिशाली चिनियाँहरूको नाकै अगाडि खुलेआम बसेका सैनिकहरू खतरनाक, चिसो र जमेको स्थानबाट उच्च कमान्डरहरूले कहिले उद्धार गर्ने हुन् भनी उदास पर्खिरहेका थिए । तर, सन्देश माथि पठाउने नैतिक साहस देखाउनेहरूलाई हच्काइएको थियो । डाल्भीले चिनियाँहरू खेद्ने अपरेसनको कमान्ड सम्हाल्ने जिम्मेवारी दिँदा प्रसादको कुराकानीसँगै राजीनामा नदिएकोमा पछुतो व्यक्त गरेका छन् र यसको लागि आफ्नो हिस्साको दोष लिएका छन् ।
जनरल प्रसाद १० सेप्टेम्बरमा तवाङ आएर माथि कुरा राख्ने भनी गएका थिए । २५ सेप्टेम्बरमा लुम्पु आएर उमराव सिंहले चिनियाँहरूलाई खेद्न नसकिने विषयमा लखनउमा कमान्ड प्रमुख सेनसँग कुरा राख्ने भनी गएका थिए । १० अक्टोबरमा जनरल कौलले सोही विषयमा माथिकालाई मनाउने भनी दिल्ली लागेका थिए । अब जनरल प्रसादले पनि त्यही भन्दै थिए । आखिर माथि को थियो ? सैन्य निणर्यहरू कसले लिइरहेको थियो ? कसले तलको सल्लाह लत्याइरहेको थियो ? सैन्य कमान्ड कहाँ थियो ? के उनीहरू सबै सन्देशवाहक बनिरहेका थिए ? वर्षौँसम्म अभ्यास गरिएको कर्मचारीतन्त्र र जनप्रतिनिधिहरूको हालिमुहालीको मूल्य सैनिकहरूले नाम्का चूमा चुकाउँदै थिए । सैन्य नेतृत्वले अव्यवहारिक राजनैतिक आदेशको प्रतिवाद गर्ने क्षमता गुमाइसकेको थियो । डाल्भीका विचारहरू सुनिएका थिए र सोहीअनुसार आदेश नआउँदा उनीलगायत अफिसरहरू निराश भएका थिए । चिनियाँहरूलाई नाम्का चूबाट हटाउने आशा थिएन तर त्यो भ्रमको बेहोस खोजी जारी थियो ।

डाल्भीलाई त्यसबेला राजीनामा दिनुपर्ने थियो भन्नेहरू थिए । तर, डाल्भीले त्यो आधार नै पाएनन् किनभने उनलाई भेट्ने सबै वरिष्ठ जनरलले उनले दिएका विवरणहरू स्वीकार्थे । कसलै पनि उनको कुरामा विमति जनाएनन् । अक्षम राजनीतिक नेतृत्व राजीनामाको कारण बन्ने गर्दैन । अर्कोतिर माथिल्ला जनरलले उपयुक्त आदेश जारी गर्नुपर्ने थियो तर उनीहरू त आदेश ल्याउने र लाने सन्देशवाहक बनिरहेका थिए जुन आदेशमा उनीहरू आफैलाई विश्वास थिएन ।
अक्टोबर १७ मा डाल्भीले राजनीतिक करकाप जेजस्तो भए पनि आफ्नो ब्रिगेडसहित आफू नाम्का चूबाट निस्कने कुरा जनरल प्रसादलाई भने । उनको ब्रिगेडको बन्दोबस्ती मिलाउन हम्मेहम्मे भइरहेको थियो । फेरि पनि कोर ४ को हेडक्वाटरसँग सल्लाह गर्ने खबर आयो । प्रसादका एक स्टाफले डाल्भीलाई साङलेनजिकैको तालबारे आँकडाको रिपोर्ट पठाउन भने । हेडक्वाटरले तालमा जमेको बरफको चौडाइबारे जान्न चाहेको थियो । उच्च तहले हिउँदभरि त्यहाँ एक कम्पनी सेना तैनाथ गर्ने निणर्य गरेको थियो र साङले बरफ जमेको तालमा हेलिकप्टर ओराल्न मिल्छ, मिल्दैन भनी जान्न चाहेको थियो । डाल्भीले सेप्टेम्बरअगाडि त्यस स्थानको बारेमा कसैलाई थाहा नहुनाले त्यस्तो आँकडा कसैसँग नभएको बताए । लगत्तै उनलाई ती आँकडा बटुल्न प्रशासनसँग समन्वय गर्न भनियो । डाल्भीले नाम्का चूमा कुनै प्रशासनिक निकाय नरहेको बताएर कड्किँदै फोन राखे । बरु, डिभिजन हेडक्वाटरभन्दा केही पाइलानजिक प्रशासनिक एकाइ हुन्थ्यो । उठेर उनीहरूलाई सोध्न गएको भए जनरल प्रसादका स्टाफले सत्यतथ्य थाहा पाउने थिए । चिनियाँहरू थागलामा जम्मा हुँदै गर्दा भारतीयहरू नेतृत्व यस्ता सोचमा भुलिरहेको थियो । चिनियाँ तयारीबारे नाम्का चूबाट पठाइएका रिपोर्टहरूलाई कुनै जिम्मेवार व्यक्तिले पढिरहेको थिएन ।
अक्टोबर १८ मा चिनियाँहरू अन्तिम तयारी गरिरहेका थिए । उनीहरूका चिनो राख्ने टोली र गाइडहरू यताउति गरिरहेका थिए । हतारिँदै डाल्भीले त्यसको सूचना डिभिजन ४ को हेडक्वाटर पठाए । तर, कुनै प्रतिक्रिया आएन । सबै जना बहिरा, अन्धा र एकालकाँटे बनेका थिए । त्यही रात ग्रेनाडियर ४ का अफिसरले चिनियाँहरू पुल १ नजिक आफू र पञ्जाबीहरूको बीचमा घुसपैठ गरी बसेको बताए । डाल्भी र उनका अफिसरहरूले अघिल्लो टोलीजस्तै टोली हुनुपर्छ भनी लख काटे । त्यस टोलीलाई समात्न सकेको खण्डमा उनीहरूसँग केरकार गर्नलाई चिनियाँ भाषा जान्ने एकजना पनि भारतीय त्यहाँ थिएन । त्यसको लागि दिल्लीको मुख ताक्नुपथ्र्यो । डाल्भीले कर्नेल मिश्रालाई उक्त चिनियाँ टोलीको बाटो छेक्न भने । बाक्लो जङ्गल, धुमिल वातावरण र प्रकाशको कमीका कारण चिनियाँ टोली निस्कियो । डाल्भीले कर्नेल मिश्रासँग भोलि सखारै ॅप्रहार’ हुने बाजी लगाए । नभन्दै भोलिपल्ट साढे ६ बजे डाल्भीलाई फोन गरियो र भारतीय भूमिमा किन ॅघुसपैठीहरूलाई’ पस्न दिएको भनी खप्की ख्वाइयो । डाल्भी चकित हुन छोडिसकेका थिए । चिनियाँ तयारीहरूबारे माथिका अफिसरहरूले बुझिरहेका थिएनन् । त्यो उनीहरूको कल्पनामा पर्न सकेको थिएन । आक्रमणको तयारीको अन्तिम क्षणमा भ्रामक हावा व्याप्त थियो ।
अक्टोबर १८ को साँझ डिभिजन ४ का सञ्चार विभागका कमान्डर कर्नेल तिवारी डाल्भीकहाँ आए । उनी ब्रिगेडको नयाँ जोडिएको सञ्चार प्रणालीको जाँचका लागि आएका थिए । उनले डिभिजनमा भइरहेका कामकारबाहीबारे डाल्भीलाई जानकारी गराए । खासमा डाल्भीलाई कुनै अपरेसन आदेश वा जासुसी सूचना दिइँदैनथ्यो । कर्नेल तिवारीले ब्रिगेड ७ लाई छिट्टै बाहिर बोलाइने, एक बटालियन सेना नाम्का चूमा राखिने र बाँकीलाई लुम्पुमा राखिने सुनाए । साथै राजनीतिक कारणले साङलेमा एक कम्पनी सेना राखिने तयारी चलेको तिवारीले बताए । यसको आदेश छिट्टै आउने डाल्भीले थाहा पाए । विडम्बना ¤ त्यस्तो आदेश कहिल्यै आएन ।
कर्नेल तिवारी भद्र व्यक्ति थिए । उनले परम्परागत उपकरणको माध्यमबाट सञ्चार सञ्जाललाई सुचारु राखिरहेका थिए । तैपनि, सञ्चार प्रणालीले काम नगरेको भनेर उनलाई बेलाबेला अवगाल आइरहन्थ्यो । एकचोटि डाल्भीलाई तिवारीका एक अफिसरलाई कामबाट निकाल्न भनियो । त्यसबेला डाल्भीले ती अफिसरलाई उनको क्षमताले नभ्याउने जिम्मेवारी दिइएको भनी उसको बचाउ गरेका थिए । एक निर्दोष अफिसरको पक्षमा उभिदिएकोले कर्नेल तिवारीले डाल्भीलाई धन्यवाद दिएका थिए । तिवारीको जीवनमा यो चोटिको नाम्का चू आगमन दुखदायी भयो । उनले डाल्भीसँग गोर्खालीहरूलाई भेट्ने अनुमति मागे । चिनियाँहरूले गोर्खालीहरूमाथि आक्रमण गर्ने बेला तिवारी उनीहरूबीच नै थिए । उनी चिनियाँ युद्धबन्दी बने । लडाइँको आशङ्का हुँदाहुँदै कसले सञ्चार विभागका कमान्डरलाई आक्रमणको अघिल्लो रात रणमैदानमा पठाउँछ ? तिवारीले डिभिजन हेडक्वाटरमा सूचना आदानप्रदान गरिरहेको हुनुपथ्र्यो ।
निणर्यको लागि टाउको-ठोकाइ
१९६२ सेप्टेम्बर-अक्टोबरको नाटकको अन्तिम क्षण आइपुगेको थियो । अक्टोबर १९ भारतीय सेनाको अवस्था सबैभन्दा दरिद्र बिन्दुमा पुगेको थियो । अक्टोबर २० राष्ट्रिय पुनः जन्मको दिन बन्न पुग्यो । थागला विनाशजस्तो घटनाले मात्र वर्षौँँदेखि जमेको गलत चिन्तनलाई पखाल्न सक्थ्यो । वर्षौँदेखिको सहज विश्वास, बेवास्ता, गलत बुझिएको जननिर्वाचितहरूको सर्वोच्चता र आज्ञाकारी सैन्य नेतृत्वको मूल्य रगत र अपमानले चुकाइयो ।
अक्टोबर १९ मा ब्रिगेड ७ चिनियाँ जालोमा परिसकेको थियो र त्यो फुट्न केही घण्टा बाँकी थियो । ३ दिनदेखि अध्ययन गरिरहेको रणमैदानलाई चिनियाँहरूले १९ तारिखको दिनभरि जाँचिरहे । विशेष रिपोर्टमा यी सबै चिनियाँ गतिविधिबारे डिभिजन ४ हेडक्वाटरलाई जानकारी गराइएको थियो र चिनियाँ मनसाय पत्ता लगाउन अक्षमता देखाइयो । त्यसकारण त्यसको प्रतिकारमा कुनै आदेश पनि दिइएन । एक अफिसरले चिनियाँ केन्द्रीकरणबारे नक्सा बनाउने आदेश दिए । डाल्भीले आफूले नियमितरूपमा पठाएका रिपोर्टहरूको आधारमा आफै नक्सा बनाउन भने ।
अक्टोबर १९ को साँझ जनरल प्रसादले डाल्भीलाई फोन गरेर नाम्का चूमा बाँचेका गोर्खालीहरूलाई भोलिपल्ट झिसमिसेमै साङले पठाउन आदेश दिए । अर्थ न बर्थको आदेश दिएकोमा डाल्भीले विरोध जनाए । उनले गएका दुई दिनको चिनियाँ तयारीबारे रिपोर्ट पढे नपढेको प्रसादलाई सोधे । एउटा चिनियाँ बटालियन साङलेनजिकै दमदमला पुगेको थियो । झन्डै २ हजार चिनियाँ सैनिकहरू थागलाबाट साङलेतिर लाग्दै थिए । ठूलो हमला हुने स्पष्ट थियो । अक्टोबर १८ मा उनीहरूले साङलेमा जाँचबुझ गरेका थिए । त्यसमा उनीहरूमध्ये केही घाइते भएका थिए । डाल्भीले साङलेको पल्टन नष्ट हुने बताए किनभने साङले नाम्का चूपारि वा खोलाको उत्तरमा थियो । चिनियाँहरूले त्यो सहने थिएनन् । उनले सैन्य कोणबाट अर्थहीन स्थलका लागि किन आफ्नो फौजलाई बलि चढाइँदै छ भनी जनरल प्रसादलाई सोधे । गोर्खालीहरूलाई बाटैमा चिनियाँहरूले देख्न सक्ने र उनीहरूलाई नष्ट गर्न सक्ने डाल्भीले जिरह गरे । उनले प्रसादलाई बिना कुनै तयारी सेङजोङ कब्जा गर्न जाँदाको हविगत स्मरण गराए । चिनियाँहरूले गोर्खालीहरूलाई आक्रमण नगरे पनि उनीहरू र पञ्जाबीहरूलाई साङलेमा धानिरहनु आफ्नो बलबुत्ताबाहिरको काम भएको बताए । डाल्भीको रसद आदिको भन्डार रित्तिँदै थियो । जनरलले उही प्रसिद्ध नारा दोहोर्याए, ॅन्यूनतम रसद र बोक्न मिल्ने हतियारमा अघि बढ्नू ।’ डाल्भीले गोर्खालीहरू लडाइँमा परे भने नियन्त्रण गर्न नसकिने र त्यसको जिम्मेवारी कसले लिन्छ भनी सोधे । साङलेमा हुने लडाइँमा आफूले सघाउन नसक्ने र आफूलाई अरूको बलिको बोको बन्न मञ्जुर नभएको बताए किनभने उनले पछिल्लो (सेङजोङको) लडाइँमा पञ्जाबीहरू मरिरहेको टुलुटुलु हेरिरहनुपरेको थियो । यसपालि चिनियाँहरू झन् शक्तिशाली बनेका थिए र उनीहरूको नियत ठम्याइएको थिएन ।
डाल्भीले गोर्खालीहरूलाई पठाउन लिखित आदेश दिनुपर्ने बताए । डाल्भी दोषीहरू समात्नका लागि दसी राख्न चाहन्थे । मौखिक आदेश सुन्दासुन्दा उनी वाक्क भइसकेका थिए । उनको ब्रिगेडलाई सबैजनाको पापमोचन गर्न बलिको बोका बनाइँदै थियो । उनले जनरल प्रसादलाई एउटा सग्लो आदेश नपाएको गुनासो गरे । सबैथोक आदेश नारा, शब्द र सूचनाका रूपमा आएका थिए । प्रसादले साँझ छिप्पिएपछि औपचारिक आदेश पठाउने वाचा गरे । अबको कुराकानी ब्रिगेड ७ तिर मोडियो । डाल्भीले एकएक इन्च भूमिको रक्षा गर्ने कुरा छोड्नुपर्ने किनभने छिट्टै यस भेगको भूभाग गुमाइने सम्भावना भएको बताए । सबै मूल्य चुकाएर फगत काठका पुलको सुरक्षा गर्नुको कुनै तुक थिएन । मौसम फेरिएकोले नाम्का चू जहाँबाट तर्न सकिने बनेको थियो । त्यसै पनि डाल्भीको ब्रिगेडलाई सबै सैन्य सिद्धान्त मिचेर तैनाथ गरिएको थियो । अस्थायी पुल र फड्केबीच झन्डै १२०० मिटरको दुरी थियो । फड्के र पुल ४ बीच झन्डै १ हजार ५ सय मिटर र पुल ४ र ३ बीच झन्डै १५०० मिटरको दुरी थियो । अस्थायी पुल र पुल ५ को पश्चिमी हाँगा खाली थियो । कम्पनी र पल्टनहरूबीचमा आपसी सरसहयोग थिएन । साङले गएर सेना छर्नुभन्दा लुम्पु फर्किन उपयुक्त हुन्थ्यो । साङधर एकदम असुरक्षित स्थितिमा हुनाले डाल्भीले फड्के र अस्थायी पुलबाट दुवै राजपुत कम्पनीहरूलाई बोलाएर बलियो स्थल बनाउन चाहन्थे । नत्र चिनियाँहरू उनीहरूबीचको चरमा पस्नसक्थे । बन्दुकको सुरक्षाका लागि खटिएको कम्पनीलाई अक्टोबर १७ मा साङले पठाइएको थियो । गोर्खालीहरूलाई भोलिपल्ट त्यस स्थानबाट साङले पठाएमा त्यो ठाउँ अझ असुरक्षित हुने थियो । साङधरमा राखिएका बन्दुकहरू र आपूर्ति मैदानको सुरक्षा गर्ने कोही हुने थिएन ।
जनरल प्रसादले एउटा कहालीलाग्दो खबर सुनाए । कोर कमान्डर जनरल कौल बिरामी भएर तेजपुरबाट दिल्ली गएका थिए । त्यसैले कौलको आदेश उल्टाएर कुनै आदेश दिन नमिल्ने प्रसादले बताए । १७, १८ र १९ अक्टोबरको निष्क्रियता र थागलामा सङ्कट थपिँदा पनि साङलेमाथि नै जोड दिनुको कारण कौलको अनुपस्थिति थियो भन्ने डाल्भीले बुझे । त्यसपछि उनले आफ्ना बुझाइहरू निम्नरूपमा राखे ः
१. अक्टोबर २० मा चिनियाँहरूले साङलेलाई पूणर्रूपमा नष्ट गर्नेछन् ।
२. अरू दुई दिनमा चिनियाँहरूले राजपुतहरूबीच चर बनाई पस्नेछन् र साङधर कब्जा गर्नेछन् । त्यसपछि पूरै बिग्रेड उनीहरूको मुठीमा पर्नेछ ।
३. सैनिकहरू छरिएको र धेरै सैनिक नहुनाले चिनियाँहरूले आरामले खेल खतम गर्नेछन् । किनभने नाम्का चूमा रहेका कम्पनीहरूलाई तोपको आड थिएन ।
त्यसपछि डाल्भीले भने, “म अब उभिएर आफ्ना मान्छे मारिएको हेर्न चाहन्न । कुनै वरिष्ठ अफिसरले अडान लिने बेला आएको छ । चिनियाँहरूको नाकमै बसेर उनीहरूलाई अब झुक्याउन सकिन्न । तपाईँ मलाई बलिको बोको बनाउन चाहनुहुन्छ भने म परिणाम भोग्न तयार छु र राजीनामा दिन्छु । मलाई अहिलेसम्म वरिष्ठ अफिसरहरूले मेरो ब्रिगेडको पक्षमा लड्ने झूटो वचन दिएर भ्रममा राखियो र अन्तमा राजनीतिक दबाबका कारण आफूले केही गर्न नसक्ने भनियो । म ॅउच्च तह’ र यहाँ के भइरहेको छ भन्ने थाहा नपाएका अज्ञात व्यक्तिहरू भनेको सुन्दासुन्दा दिक्दार भइसकेको छु ।” डाल्भीलाई भयग्रस्त तुल्याउँदै जनरल प्रसादले जिम्मेवारी लिन मानेनन् र विद्यमान स्थिति कायम राख्ने आदेशमा आफूले कुनै छुट दिन नसक्ने बताए ।
प्रसादले डाल्भीका सबै कुरा कोर हेडक्वाटरमा राख्ने वाचा गरे र उनीहरूलाई सकेसम्म मनाउने बताए । यसबीच हडबडीमा कुनै पाइला नचाल्न भने । प्रसादले फोनमा कुरा गरेको सुन्ने व्यक्तिले उनको भनाइ यसरी बताएका थिए, “तिमीले रोजेको स्थानमा फर्किन म अनुमति दिन सक्दिनँ । जहाँ छौ त्यहीँ बस । मैले कोरसामु कुरा राखेको छु र जवाफ आएको छैन ।” डाल्भीभन्दा ठीक माथि रहेका कमान्डर जनरल प्रसाद डाल्भीसँग ॅसहमत’ मात्र हुनसक्थे, अरू केही गर्न सक्दैनथे ।
जनरल प्रसादले अलिबेरपछि डाल्भीलाई फोन गरे । प्रसादले कोर ४ का अफिसरले ब्रिगेड ७ लाई फर्काउन नसकेको बताए । खासमा कोर हेडक्वाटरका अफिसर केके सिंहले दिल्लीमा रहेका जनरल कौलको आदेश लिन उनलाई सम्पर्क गर्ने प्रयास गरिरहेका थिए । त्यसपछि कोर र डिभिजनबाट केही आएन । ब्रिगेडियर सिँहले पनि चिनियाँहरूले केही गर्ने छैनन् भने । यति सुनेपछि डाल्भीले प्रसादलाई भोलिपल्ट नै आफ्नो लागि हेलिकप्टर पठाउन र आफूलाई त्यहाँबाट निकाल्न भने किनभने उनी यस्तो अवस्थामा ब्रिगेड ७ को कमान्ड सम्हाल्न तयार थिएनन् । त्यसपछि उनले जानाजान आफूलाई कौल बिरामी भएको कुरा नबताएको आरोप लगाए । त्यसपछि उनले प्रसादको नेतृत्वमाथि विश्वास नभएको र थागला काण्डमा हात हालेका कसैमा पनि विश्वास नरहेको बताए । डाल्भीले आफ्नै विवेकका खिलाफमा गएर माथिल्ला अफिसरहरूको भर परेका थिए । तर उनलाई अपुरा वचन दिइयो । अन्तमा डाल्भीले हिम्मत भए अक्टोबर १० पछि हराएका सबै अफिसरहरूलाई तमासा हेर्न निम्तो दिए । उनीहरू सबैसँग दिल्ली र तेजपुरका बैठकमा बस्ने समय थियो तर लडाइँको मैदान हेर्ने समय थिएन । त्यो मैदान अब चिनियाँ चपेटामा परेको थियो । जनरल प्रसादले पग्लिँदै भोलि बिहान आफू नाम्का चू आउने बताए । अब सहनै नसकिने भयो भन्दै उनले ब्रिगेडसग उसको भाग्य भोग्न आउने बताए । आवश्यक परे उनी ब्रिगेडसँगै मर्न तयार रहेको सुनाए । प्रसादको रामभरोसे र सोझो व्यवहारको कुनै अर्थ थिएन । डाल्भीले उनलाई नाम्का चूमा स्वागत हुने तर आफू फर्किने र भारतमा जोसुकैसँग यस विषयमा विवाद गर्न तयार रहेको सुनाए । उनले प्रसादलाई २० अक्टोबरको बिहान साङधरको हेलिप्याडमा भेट्ने बताए ।
Leave a Reply