भर्खरै :

बाइडेन जितेकोमा भन्दा ट्रम्प हारेकोमा खुसियाली

काठमाडौँ, २३ कार्तिक । संरा अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक दलका उम्मेदवार जो बाइडेन विजयी भएका छन् । उनीसँगै उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन् । सामान्यतः पहिलो कार्यकाल चलाएका राष्ट्रपति नै दोस्रो कार्यकालको लागि पनि उम्मेदवार बन्ने र निर्वाचित हुने परम्परा तोड्दै रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचनमा पराजित भएका छन् । निर्वाचन परिणाम बाहिरिएसँगै संरा अमेरिकाका अधिकांश सहरमा अमेरिकी जनताले खुसियाली मनाएका छन् । जो बाइडेन जितेरभन्दा डोनाल्ड ट्रम्प पराजित भएकोमा मानिसहरू बढी खुसी थिए ।
सडकमा जनताको उल्लासभाव देखेर एक जना टेलिभिजन पत्रकारले भने, “मानिसहरू सरकार परिवर्तन हुने भएर होइन, सत्ता परिवर्तन भएजस्तो गरी खुसियाली मनाइरहेका छन् ।” सन् २०१६ को निर्वाचनमा राष्ट्रपति निर्वाचित बनेका डोनाल्ड ट्रम्पको अनुदार र प्रतिक्रियावादी निर्णय तथा गतिविधिका कारण अमेरिकी जनता उनीप्रति वाक्क थिए । अधिकांश अमेरिकी जनता ट्रम्पले अमेरिकी राष्ट्रपतिले पालना गर्नुपर्ने मर्यादा र राख्नुपर्ने इज्जतको समेत धज्जी उडाएको भन्दै यो निर्वाचनमा विकल्पको खोजी गरेको देखिन्छ । यो वर्षको निर्वाचनमा संरा अमेरिकी इतिहासमै सबभन्दा बढी मतदाताले सहभागिता जनाएका छन् । निर्वाचनमा अभूतपूर्व मतदाताहरूको सहभागितालाई विश्लेषकहरूले अघिल्लो सरकारका एकपछि अर्को मूर्ख नीतिप्रतिको आक्रोशको रूपमा लिएका छन् ।
ट्रम्पको पराजयमा खुसी व्यक्त गर्दै पत्रकार प्रतीक प्रधानले ट्वीट गरेका छन्, “अन्तर्राष्ट्रिय बदमास र प्रजातान्त्रिक तानाशाहका उदाहरणलाई पराजित गरेकोमा संरा अमेरिकालाई धन्यवाद ।”
त्यस्तै लेखक बुद्धिसागरले पनि ट्रम्प सरकारको समाप्तिमा सन्तोष पोख्दै लेखेका छन्,“… मानवताहीन चर्का नारा र होहल्लाको अध्याय यहाँनेर सकिएको छ ।”
निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल लेख्छन्,“निर्वाचित तानाशाहको अन्त्य ! सबैलाई चेतना भया !”
पत्रकार गुणराज लुइटेल ट्वीट गर्छन्, “अब सबैतिरका तानाशाहहरूको पराजयको दिन आउनुपर्छ र लोकरिझ्याईका नाममा लोकतन्त्रको हुर्मत लिनेहरूको शर्मनाक पराजय हुनुपर्छ । जनता जिन्दावाद !”
त्यस्तै प्रकाश पन्तले ट्वीटरमा लेखेका छन्,“उग्र अतिवाद, घमण्ड र अहङ्कारको अन्त्यको सुरूवात !”
नेपाल तथा एसियाका विभिन्न व्यक्तिहरूले विशेषतः अमेरिकी निर्वाचनमा भारतीय आमाकी छोरी कमला ह्यारिस उपराष्ट्रपति पदमा निर्वाचित भएकोमा खुसी व्यक्त गरेका छन् । पत्रकार सुजित महत (अजात शत्रु) ले कमला काठमाडौँतिर बढी पुरानो नाम भइसके पनि अब छोरीको नाम कमला राख्ने ‘मोर्डन’ होला कि भनी ट्वीट गर्छन् ।
लेखक ऋचा भट्टराईले अमेरिकामा पहिलो महिला, पहिलो काला र पहिलो दक्षिण एसियाली (भारतीय) उपराष्ट्रपति भएकोले करोडौँ करोड हृदयमा फुलिरहेका सम्भावना र आशाबारे साहित्यिक ट्वीट गरेकी छिन् ।
तर, टेलिभिजन पत्रकार तथा कवि रुपेश श्रेष्ठको भनाइ अलि फरक छ । कवि विक्रम सुब्बाको बहुचर्चित कवितांश उद्धृत गर्दै उनले ट्वीट गरे, “जो बाइडेनले जिते । अब लोकतन्त्र जोगियो” भन्ने जस्तो कथनका बीच एउटा कविता सम्झेँ–
परेवा र चील
जुनसुकै देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
खुला आकाशमा दिउँसै
चीलले परेवाको शिकार गर्छ
र त्यो चील ?
… अमेरिकाको राष्ट्रिय पक्षी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *