अक्टोबर क्रान्तिको ज्वालामा
सन् १९१७ को समय थियो । रुसमा जारतन्त्रको गद्दी हल्लिरहेको थियो । जोन ‘मेसेज’ (समाचार) पत्रिकाको संवाददाता भएर रुस पुगे । क्रान्ति पहिले कहिल्यै नभएको जस्तो अगाडि बढिरहेको थियो । अन्तमा जारतन्त्रको गद्दी उल्ट्यो । पुँजीपति वर्ग र दक्षिणपन्थी कम्युनिस्ट मेन्सेविकहरूको सरकार बन्यो । रुसमा समाजवादी प्रजातान्त्रिक अथवा सामाजिक–जनवादी मजदुर पार्टी भनेर मजदुर वर्गको अलग पार्टी थियो । त्यस पार्टीको अल्पमत गुटलाई ‘मेन्सेविक’ र क्रान्तिकारी कम्युनिस्टहरूमै बहुमत गुटलाई ‘बोल्सेविक’ भनिन्थ्यो । मेन्सेविक शोषक वर्गसँग मेलमिलाप राख्थ्यो । त्यस सरकारले पनि साम्राज्यवादी लडाइँलाई चालू नै राख्यो । रुसी मजदुर वर्गका महान् नेता लेनिन रुस फर्कनुभयो । उहाँले ‘रोटी’ र ‘शान्ति’ को नारा दिनुभयो । पुँजीपति वर्गले मजदुर वर्गलाई दबाउन थाल्यो । मजदुर वर्गलाई दबाउने जार सरकारको काम पुँजीपति वर्गले गर्न थालेको थियो । पुँजीपति वर्गको विरोधमा मजदुर वर्गको क्रान्ति सुरू भयो । त्यसको नेतृत्व बोल्सेविक पार्टीले गर्दै थियो । बोल्सेविक पार्टीका नेता लेनिन हुनुहुन्थ्यो ।

जोन रीड
पेट्रोग्राड, मस्को र अन्य रसियाली सहरहरूमा गोली हानाहान भइरहेको थियो । सभाभवन र बाटोघाटोमा चर्का–चर्की प्रश्नोत्तर हुँदै थियो । गृह–युद्धको आगो दन्किरहेको थियो । जोन रीड गोली हानाहानबाट बच्दै दक्षिणपन्थी र वामपन्थी नेताहरूसँग अन्तर्वार्ता गर्नुहुन्थ्यो । गोलीको वर्षाबाट बच्दै समाचारहरू बटुल्नुहुन्थ्यो । यसबाहेक उनले ‘इजवेष्टिया’ (समाचार), ‘प्राब्दा’ (सत्य) जस्ता पत्रपत्रिका र पर्चाहरू जम्मा गर्थे । प्रतिक्रियावादीहरू उनलाई आफ्नो पक्षको सम्झन्थे । उनीसँग गुप्त कुराहरू खोल्थे र आफ्ना आगामी पाइलाहरू बताउँथे । जोन रीड त्यसलाई उदाङ्ग्याइदिन्थे ।
उनी आगोसँग खेल्न सक्ने एक बहादुर थिए । बोल्सेविक क्रान्तिजस्तो वर्ग–युद्धमा पनि उनले एक विदेशी पत्रकार भएर राम्रोसँग काम गर्न सके । त्यसको निम्ति ठूलो धैर्य र साहसको खाँचो हुन्थ्यो । यी दुवै कुरा उनमा थियो ।
क्रान्ति गाउँ–गाउँसम्म फैलियो । गाउँको क्रान्ति हेर्न उनी एक ट्रकमा बसेर गए । सर्वहारा वर्गको सिपाहीको रूपमा लालरक्षकहरू ठाउँ–ठाउँमा पहरा दिइरहेका थिए । अचानक लालरक्षकहरूले ट्रकलाई रोके । जोन रीड एक अमेरिकी थिए । अमेरिकी साम्राज्यवादलाई रुसी क्रान्तिकारी जनता मन पराउँदैनथे । लालरक्षकहरूले जोन रीडलाई अमेरिकी जासुस सम्झे । उनलाई ट्रकबाट ओराले । लालरक्षकहरू जोन रीडलाई गोली हानेर मार्न चाहन्थे । जोनले आफ्नो धैर्यलाई गुमाएनन् । गाउँका लालरक्षकहरूले गोली हानेर मार्न खोज्दा बल्ल उनले आफ्नो पास देखाए । लालरक्षकहरूमध्ये कसैलाई पनि त्यो पास पढ्न आउँदैनथ्यो । जोन रीड र पासलाई लिएर लालरक्षकहरू पढ्न जान्ने मानिस भएको ठाउँमा पुगे । गाउँ–गाउँमा वर्ग युद्ध चर्किरहेको हुँदा धनीहरू तर्सिरहेका थिए । धनी मानिसहरू पास हेर्न त के लालरक्षकहरू देख्दैमा तिनीहरूको सातो–पुत्लो उड्थ्यो । लालरक्षकहरूले जोन रीडलाई आफूभन्दा माथिल्लो तहमा बुझाइदिए । त्यहाँ उनले आफ्नो पास देखाए । त्यो पास ‘सैनिक क्रान्तिकारी समिति’ ले दिएको थियो । त्यसमा लेनिनको हस्ताक्षरले लेखिएको थियो, “यस पासवाहक जोन रीड अमेरिकी समाजवादी प्रजातन्त्रका एक प्रतिनिधि हुनुहुन्छ । उहाँ एक अन्तर्राष्ट्रवादी हुनुहुन्छ …. ।”
त्यो पास देखिसकेपछि लालरक्षक र क्रान्तिकारी जनता खुसी भएर उनको स्वागत गरे । एकैचोटि धेरै हातहरू उनीसँग मिलाउन आइपुगे । त्यो दिन जोन रीडको निम्ति आपद् र खुसीको दिन थियो ।
‘संसारलाई हल्लाउने दश दिन’
सन् १९१७ पछि जोन रीड अमेरिका फर्के । बाटोमा अनेक जुक्ति लगाएर आफ्नो सामान बचाउँदै लगे । उनी अमेरिकाको न्युयोर्क बन्दरगाहमा ओर्ले । उनले आफूसँग अक्टोबर क्रान्ति ताकाका थुप्रै पत्रपत्रिका र पर्चाहरू लगेका थिए । बाटोमा ती सामान झन्डै झन्डै जफत भएका थिए ।
पेट्रोग्राडबाट फर्किसकेपछि जोन रीडले आफ्ना पाठकहरूलाई एक सन्देश दिए । ‘लिवरेटर’ (मुक्तिदाता) पत्रिकामा उनले लेखे, “मैले नयाँ संसारलाई जन्म देखेँ ।” उनले रुसको क्रान्तिबारे पुँजीवादी अखबारहरूमा छापेका गलत कुराहरू झूठा भएको बताए । उनले भने, “रुसमा फरक मत राख्नाले कुनै पनि व्यक्ति जेलमा छैनन् भन्ने कुरा अमेरिकीहरूले सिक्नुपर्छ ।”
रुसी क्रान्तिबाट उनले तीन कुरा सिकेको आफ्ना पाठकहरूलाई बताए । पहिलो कुरा हो– सम्पत्तिवाल वर्ग खालि सम्पत्तिकै समर्थन गर्छ । दोस्रो– सम्पत्तिवाल वर्ग कहिले पनि मजदुर वर्गसँग सम्झौता गर्न तयार हुँदैन । तेस्रो– मजदुर वर्ग खालि ठूलठूला सपना देख्ने होइन, बरु सपनालाई सत्य सावित गर्ने शक्ति पनि राख्छ ।

“दस दिन जब संसार हलियो”
न्युयोर्क एक ठूलो र हल्ला भइरहने सहर हो । उनी त्यहीँ एउटा कोठा डेरा लिई बसे । उनले त्यहीँ बसेर रुसी बोल्सेविक क्रान्तिको आँखाले देखेका हालहरूको बयान लेख्न थाले । केही दिनभित्रै त्यो एक किताब बन्यो । त्यसको नाम ‘संसारलाई हल्लाउने दश दिन’ राखियो ।
‘संसारलाई हल्लाउने दश दिन’ लाई छाप्न नदिन अमेरिकी पुँजीपति र अत्याचारीहरूले धेरै धेरै कोसिस गरे । ६ पटकसम्म त्यो किताबको हातले लेखिएको पाण्डुलिपि (गुरुकापी) चोर्ने प्रयास भयो । तर, तिनीहरू असफल भए । त्यो किताबमा जोनले सा¥है जिउँदो किसिमले रुसी सर्वहारा क्रान्तिको बयान गरेका थिए । त्यो क्रान्तिको सञ्चालक लेनिन हुनुहुन्थ्यो । उनले त्यसमा लेनिनको काम गर्ने तागत, तर्कशक्ति र साहसको धेरै राम्रो बयान गरे । त्यस्तै उनले त्यस किताबमा रुसी सर्वहारा वर्गको क्रान्तिकारी साहसको तस्वीर लेखे । त्यो किताब आफ्नै किसिमको र नौलो कुरो थियो । पहिले पहिले महाकाव्य र यात्रा वर्णनहरू खुब लोकप्रिय थियो । पाठकहरू किताबका पात्रहरूमार्फत राम्रा र नयाँ–नयाँ कुराहरू गरेको हेर्न चाहन्थे । जोन रीडले आफ्नै ऐतिहासिक पात्रहरूमार्फत क्रान्तिकारी कार्यहरू गरेको वर्णन, छलफल, बैठक, प्रदर्शन र लडाइँहरूलाई देखाए । त्यो अनौठो पुस्तकले पाठकहरूको हृदयलाई पनि आन्दोलित ग¥यो ।
२४ जनवरी १९१८ मा पिटसवर्गको एक दरबारमा राष्ट्रिय जनप्रतिनिधिसभा (सोभियतहरू) को तेस्रो महासम्मेलन भयो । त्यस बैठकमा लेनिनले सोभियत सत्ता अस्तित्वमा आएको दुई महिना १५ दिन भएको जानकारी दिनुभयो ।
पेरिस कम्युन ७० दिनमात्र चलेको थियो । सोभियतहरू पेरिस कम्युनभन्दा ५ दिनमात्र बढी भएको थियो । बैठकमा उद्घोषकले जोन रीडको नाउँ लियो । जोन रीड हडबडिँदै मञ्चमा देखापरे । धेरैबेरसम्म ताली बज्यो । ताली रोक्न दिन उनी एकछिन रोकिए । उनले सम्बोधन गरे, “ताबारीस्य” । त्यसको अर्थ हो कामरेड । उनले रुसी भाषामा भन्दै गए, “म महान् रुसी क्रान्तिलाई समर्थन जनाउन आएको हुँ ।”
उनले भाषणको अन्त रुसी भाषामा गरे, “अब म आफ्नो प्रतिक्रियावादी र पुँजीवाद भएको देशमा फर्कँदै छु । म तपार्इँहरूलाई क्रान्तिकारी रुसमा के भइरहेको छ भन्ने कुरा अमेरिकी सर्वहारा वर्गलाई बताउने प्रतिज्ञा गर्छु ।”
जोन रीड रुसी सर्वहारा क्रान्तिका एक दर्शकमात्र थिएनन् । उनी त्यसका समर्थक पनि थिए । यस कुरालाई उनले त्यस किताबमा यसरी लेखेका छन्, “सङ्घर्षमा मेरो समर्थन कुनै पक्षमा छैन भन्ने कुरो होइन । तर, मैले ती जगमगाउँदा गौरवका दिनहरूको कथालाई बयान गर्दा घटनाहरूलाई एक इमानदार रिपोर्टरको आँखाले हेर्ने कोसिस गरेको छु ।”
संसारलाई हल्लाउने दश दिन’ को प्रकाशनले संसारमा खैलाबैला मच्चियो । त्यसलाई पेरिसका मजदुरहरूले पढे, सिलेसियाका किसानहरूले पढे, नेदरल्यान्डका माझी र लोद्जीका जुलाहाहरूले पढे, बर्लिनका विद्यार्थीहरूले पढे र टोकियोका रिक्सावालाहरूले पढे । रुसी क्रान्तिकारी जनसमुदायहरूको वर्णन गरिएको त्यस किताबले लाखौँलाख पाठकहरूलाई बिउँझायो ।
प्राचीन समयदेखि बीसौँ शताब्दीको सुरूसम्म विभिन्न महाकाव्यदेखि यात्रा वर्णन सा¥है लोकप्रिय थियो । ती साहित्यका पात्रहरू संसारलाई जान्न खोज्थे । त्यसको रहस्य पत्ता लगाउन खोज्थे । टाढा–टाढाका देश र जनताको बारेमा वर्णन गर्न खोज्थे । त्यसबेला होमरको ‘ओडेसी’ र यात्रासम्बन्धी पुस्तकहरू पाठकहरूले खुब मनपराउँथे । तर, जोन रीडको ‘संसारलाई हल्लाउने दश दिन’ ले पाठकहरूको मन र चाखलाई फेरिदियो । त्यो किताब निस्कनुभन्दा पहिले यात्रा वर्णन सबभन्दा बढी पढ्ने विषय थियो । त्यस किताबले यात्रा वर्णनलाई दोस्रो दर्जामा झारिदियो । समाचारपत्रहरूमा टीकाटिप्पणी र वर्णनका नयाँ स्तम्भ राखिन थालियो । मिखायल कल्टोसोप भन्ने एक रुसी विद्वानको भनाइअनुसार ‘नयाँ–नयाँ किसिमको स्तम्भ देखापर्न थाल्यो । साहित्यले सक्रियरूपमा राजनैतिक भूमिका निर्वाह गर्न थाल्यो । कलाकारहरूमा सामाजिक गतिविधिमा वृद्धि हुन थाल्यो । त्यसले साहित्यमा एउटा नयाँ विधाको विकास भयो ।”
त्यस किताबको विषयमा रुसी क्रान्तिका सञ्चालक रुसी सर्वहारा वर्गका महान् नेता लेनिन लेख्नुहुन्छ, “मैले जोन रीडको किताब ‘संसारलाई हल्लाउने दश दिन’ लाई धेरै चाख र एक मनले पढेँ । म संसारका सबै मजदुरहरूलाई नहिच्किचाइकन यो किताब पढ्ने सल्लाह दिन्छु । म यस किताबको लाखौँ करोडौँ प्रति प्रकाशित होस् भन्ने चाहन्छु र सबै भाषामा उल्था होस् भन्ने चाहन्छु । साँच्चै भन्ने हो भने सर्वहारा क्रान्ति र सर्वहारा हुकुम के हो भन्ने बुझ्न त्यसबेलाका घटनाहरू सा¥है महत्वपूर्ण छन् । यस किताबमा ती घटनाहरूको साँचो र जिउँदो तस्वीर दिइएका छन् ।”
जोन रीडले रुसी क्रान्तिबारे भने, “मलाई बुझ्न खोज्ने र निर्णय लिन खोज्ने मानिसहरू भेट्ने मौका प्राप्त भएको थिएन । रुसीहरू अलिकति पनि नहल्लिएर उभिएका थिए । वक्ताहरू अति नै ध्यान दिएर सुनिरहेका थिए । तिनीहरूको मुखमा चिट–चिट पसिना बगिरहेको थियो ।” क्रान्तिको अर्थ बुझ्नु, निर्णय लिनु र एउटा पक्षमा लाग्नु थियो । वास्तवमा त्यो जीवन र मरणको सङ्घर्ष थियो ।
त्यो किताब अमेरिकी चुसाहा राक्षसहरूलाई मनपर्ने कुरै थिएन । बोल्सेविक क्रान्तिलाई अमेरिकामा राजनैतिक मञ्च, सिनेमा, पत्रपत्रिका, चर्च आदि सबै प्रचार यन्त्रले जथाभावी गाली गथ्र्यो र सा¥है सराप्थ्यो । त्यस प्रतिक्रियावादी प्रचारलाई फटाहा सावित गर्न जोन रीड आफैँले पनि वामपन्थी पत्रिकाहरू निकाले । उनी अरू साथीहरूसँग मिलेर दैनिक ‘क्रान्तिकारी युग’ निकाल्न लागे र पछि आफ्नै सम्पादनमा ‘कम्युनिस्ट’ भन्ने पत्रिका निकाले । ती पत्रिकाहरूले अमेरिकामा क्रान्तिको बीउ छरेजस्तै काम गरे । त्यसपछि उनी पुँजीवादको गढ अमेरिकामै ‘कम्युनिस्ट मजदुर पार्टी’ को स्थापना गर्ने काममा लागे ।
बीसौँ पटक जेल
जोन रीडको क्रान्तिकारी गतिविधिहरूले अमेरिकी पुँजीवाद बहुलायो । तर, त्यसले क्रान्तिकारी विचारलाई रोक्न र छेक्न सक्दैनथ्यो । बहुला भएर जोनलाई जेल र नेल दिन्थ्यो । जेल र नेलले उनको विचारमा हेरफेर आउने कुरै थिएन । उनको क्रान्तिकारी विचारलाई निमोठ्न एक दुईचोटि होइन, बीसौँचोटि उनी झ्यालखानामा थुनिए । यसले उनको विचार फेरिनुको सट्टा झन् खारियो । पुँजीवादीहरू आगोलाई पेट्रोलले निभाउन चाहन्थे । तर, के हुन्थ्यो ? जोन रीडले आफ्नो क्रान्तिकारी कामलाई झन् चनाखो र मन लगाएर गरे ।
फिलाडेल्फिया अमेरिकाको मुख्य सहरहमध्येको एक सहर हो । यो पेनसेल्भानिया राज्यमा पर्दछ । त्यस राज्यको त्यो पुरानो र नाउँ चलेको सहर हो । त्यहीँ अमेरिकाको स्वतन्त्रता आन्दोलनको बेला बैठकहरू हुन्थ्यो । त्यहीँ ‘स्वतन्त्रताको घोषणा’ को मतदान भएको थियो अथवा त्यहीँबाट बेलायती उपनिवेशवादबाट स्वतन्त्रताको घोषणा भएको थियो । सन् १७९० देखि १८०० ईस्वीसम्म यो सहर संरा अमेरिकाको राजधानी थियो । त्यसबेला त्यहाँ लगभग २० लाख जनता बसोबास गर्थे । त्यहाँ ऐतिहासिक र नयाँ ढङ्गका धेरै ठूला घरहरू थिए । महत्वपूर्ण सरकारी अड्डा र शैक्षिक संस्थाहरू थिए । हजारौँ साना र ठूला कारखाना र पार्कहरू थिए । यस हिसाबले त्यो अमेरिकाको चौथो सहर थियो ।
एकचोटि त्यस सहरमा जोन रीडको भाषणको कार्यक्रम बनेको थियो । पुलिसले उनलाई भाषण गर्न नदिन सभाभवन बन्द गरिदियो । तर, जोन रीडले महत्वपूर्ण प्रचारको केन्द्रलाई त्यसै किन छोड्थे ¤ उनी एक उँचो ठाउँमा उभिए र भाषण दिन थाले । उनको भाषण सुन्न धेरै–धेरै मानिसहरू भेला भएका थिए । श्रोताहरू उनको भाषणले सा¥है प्रभावित भए । त्यसबाट उनका थुप्रै समर्थकहरू बढे । उनी ‘शान्ति भङ्ग गर्ने’ अभियोगमा गिरफ्तार भए । न्यायालयमा उभ्याइए तर न्यायालयले उनलाई सजाय गर्न सकेन । उनी पुँजीवादी जेल र न्यायालयको अगाडि टाउको झुकाउने खालका क्रान्तिकारी थिएनन् । पुँजीवादी जेल र न्यायालय उनको निमित्त वर्गसङ्घर्षको मैदान थियो । उनी अमेरिकाको सबैजसो सहरमा पक्राउ परे । के उनी ऐन–कानुनअनुसार धरौटी र तारिखमा छुट्थे ? होइन, उनी क्रान्तिलाई अझ अगाडि बढाउन छुट्थे । जेलबाट निस्कनासाथै उनी शत्रुमाथि हमला गरिहाल्थे । उनको क्रान्तिकारी भावनालाई छोडाउन अमेरिकी सरकार र पुँजीवादी व्यवस्थाले सयौँचोटि कोसिस ग¥यो । उनी भने झन् फूर्तिला र जोशिला भएर क्रान्तिकारी प्रचार कार्यमा लाग्थे ।
विश्व औद्योगिक मजदुर सङ्घ (Industrial Workers of the World) को कार्यको सिलसिलामा उनी पक्रिए । उनी र अन्य सय जना समाजवादीहरू सिकागोको अदालतमा उभ्याइए । त्यसबेला अमेरिकी समाजवादी क्रान्तिकारीहरूमध्ये धेरैजसो लुगा सिउने कपडा कारखानाका मजदुरहरू र छापाखानामा काम गर्नेजस्ता बसी बसी काम गर्ने मजदुरहरू थिए । त्यस्तै अमेरिकी श्रमिक सङ्घ (American Federation of Labour) मा खानी, फलाम र इस्पात, भवन, रेल्वे आदि गा¥हो काम गर्ने मजदुरहरू थिए ।
तर, अदालतमा उभ्याइएका एक सय जनामध्ये धेरै ढुङ्गा फोड्ने, रुख ढाल्ने, गहुँ चुट्ने, बन्दरगाहको जहाजमा काम गर्ने ज्यामीहरू थिए । तिनीहरू समाजका घात–प्रतिघातबाट इस्पात बनिसकेका थिए । तिनीहरू सबै संसारको सम्पत्ति नै मजदुरहरूको हो भन्ने कुरामा विश्वास गर्थे । तिनीहरू अमेरिकामा समाजवादी क्रान्ति ल्याउन चाहन्थे । अदालतमा उभ्याइए तापनि तिनीहरूमा पश्चात्तापको भावना थिएन ।
जोन रीडलाई त्यो अदालतजस्तै लागेन, बरु त्यो मजदुर प्रतिनिधिहरूको एक बैठकजस्तै लाग्यो । सिकागोको त्यो अदालतको कोठालाई उनी मनमनै पेट्रोग्राडको राष्ट्रिय रुसी मजदुर प्रतिनिधिहरूको सोभियको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्झन्थे ।
स्रोत ः चार अन्तर्राष्ट्रवादी पत्रकार
Leave a Reply