संसारमा दुवै प्रवृत्ति बराबरजस्तै देखिन्छन् जानेको पक्षमा, आउनेको विपक्षमा लेख्ने वा जानेको विपक्षमा आउनेको पक्षमा लेख्ने । तर, मेरो प्रस्तुति माथिका उल्लिखित दुवै प्रवृत्तिबाट निर्देशित छैनन् । विश्वको हिजोको प्रथम शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको ४६ सौँ राष्ट्रपतिको निर्वाचन थियो जो सकियो । एक जना देख्दै हुल्याहाजस्ता लाग्ने विद्यमान राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका पनि उम्मेदवार थिए भने अर्का उम्मेदवार थिए ओबामा राष्ट्रपति कालका उपराष्ट्रपति जो बाइडेन । उनको नाम भने जोसेफ रोविनेट बाइडेन जुनियर हो । कोभिड– १९ महामारीका कारण यसपाला अमेरिकी मतदाता धेरैले हुलाकमार्फत मतदानको प्रक्रिया रोजे, जसका कारण मतगणना ढिलो भयो । नोभेम्बर ३ तारेखमा भएको मतदानले अनौपचारिक परिणाम आउन पनि पाँच दिन लाग्यो ।

बाइडेन
मेसिनबाट मतगणना हुने युगमा पनि यति ढिलो निर्वाचन परिणाम प्रकाशित हुनु अनौठो मानिएको छ । अझ औपचारिक नतिजा त कति दिनमा सार्वजनिक हुने हो । हुलाकमार्फत गरिएको मतदानको गणना हातबाटै गरिनुपर्ने पर्दोरहेछ । मेसिनबाट हुँदोरहेनछ वा त्यो प्रविधिको विकास भइसकेको छैन । यसरी हुलाकमार्फत मत दिने पद्धति कायमै रहेमा अर्को निर्वाचनसम्म अमेरिकाले मतगणना गर्ने संयन्त्रको विकास गर्छ होला । जे होस् संरा अमेरिकाका ४६ औँ राष्ट्रपतिको निर्वाचन सम्पन्न भयो । अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुन लागेको सन् १७८८ देखि हो र पहिलो राष्ट्रपति जर्ज वासिङटन हुन् । त्यो समय निकै असजिलो थियो ।
अमेरिकामा अझै काला गोरा
संरा अमेरिकाको राष्ट्रपतिको राज्य काल चार वर्षको हुन्छ । दोस्रो पल्टसम्म राष्ट्रपति दोहो¥याउन पाउँछ । जतिसुकै लोकप्रिय भए पनि तेस्रो कार्यकालका निम्ति तेहे¥याउन निषेध छ । अन्यथा अमेरिकामा पनि आजीवन राष्ट्रपति बन्ने चलन चल्थ्यो होला । तर, त्यो भएको भए २३२ वर्षदेखि राष्ट्रपतितन्त्र चल्थ्यो चल्दैनथ्यो भन्न सजिलो छैन । संरा अमेरिकामा जर्ज वाशिङटन, अब्राहम लिङ्कनजस्ता पनि राष्ट्रपति भए भने दोस्रो विश्व युद्धताका फ्राङ्कलिन रूजबेल्ट सन् १९३३ देखि १९४५ सम्म १२ वर्ष राष्ट्रपति भए । कति अमेरिकी राष्ट्रपतिलाई गोली प्रहार गरी निर्मम हत्या पनि गरिएको छ । राजनीतिक पार्टीको जासुसी गरेको भनी महाभियोग लगाएर बर्खास्त पनि गरिएको छ । अमेरिकाका हेनरी किसिन्जरजस्ता कुशल कूटनीतिज्ञ पनि विदेशमन्त्री भएका छन् जसले त्यसअघि राष्ट्र भनी गणना नै नगरिएको जनवादी गणतन्त्र चीनको साहसिक भ्रमण गरी विशाल चीनसँग दौत्य सम्बन्ध स्थापित गराए । राष्ट्रपति भ्रमण पनि गराए । उनी सय वर्ष लगभगको उमेरसम्म जीवितै छन् । अमेरिकी महाद्वीप पत्ता नलागेसम्म यो पृथ्वी यति ठूलो थिएन । त्यत्रो महाद्वीपलाई युरोपियनहरूले अन्ततः बिर्ता नै बनाए । लामो समयसम्म जातीय युद्ध नै चल्यो । रङभेद काला र गोराबीच अझै बेला बेला दङ्गा हुन्छ । गोरा प्रहरी र कालाविरूद्ध दङ्गाफसाद गरिन्छ । रङभेद अझै छ ।
शक्तिको मात लाग्यो भने ?
त्यो अमेरिकामा अघिल्लो राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्पले उम्मेदवारी पाए र निर्वाचित भए । चार वर्ष करीब राज्य सञ्चालन गरे । ट्रम्प तुलनात्मक रूपमा सानो चित्तका रहेछन् । बुद्धि भने जीउजस्तै मोटो रहेछ । संरा अमेरिका विश्व स्वास्थ्य सङ्गठनसँग तीव्र मतभेद राखी अलग्गियो । सो सङ्गठनलाई दिनुपर्ने थुप्रो रकम पनि दिइएन । कोभिड–१९ को महामारीलाई राजनीतिक र कूटनीतिसँग मिसाएर गर्नै नहुने काम गरे ट्रम्पले । आज वातावरण बिग्रिएर तातेको छ । हिउँ पग्लिएर सङ्कटको खतराको घण्टी बजिसकेको छ । संरा अमेरिका आज पनि कोइलाबाट बिजुली निकाल्दै छ जो वातावरणको दृष्टिले नितान्त बेठीक हो । अझ वातावरण अनुकूल बनाउने सन्दर्भमा सहयोग गर्ने अमेरिकी बोलकबूल पूरा गर्नुपर्नेमा वातावरण संरक्षणको पूर्वप्रतिबद्धताबाट विमुखमात्र भएको छैन । सो आन्दोलनबाटै बाहिर निस्केर एउटा श्वेत आतङ्क नै मच्चायो ट्रम्पको अमेरिकाले । मलाई शङ्का लागेको थियो, असाधारण क्रियाकलापप्रति अभिरूचि राख्ने ट्रम्पको आँखा कतै परमाणु शस्त्रास्त्रतिर त पर्दैन ? भन्ने । परमाणु यस्तो तत्व हो जानी नजानी त्यता हात प¥यो भने यो आजको सुन्दर विश्व केही पलमै खरानी हुन्छ । तैपनि, ट्रम्पको कुदृष्टि त्यता परेन, विश्व जोगियो र ट्रम्पको भूत पञ्छियो । आखिर संरा अमेरिका न प¥यो नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई पनि शक्तिको मात लाग्यो भने ?
ध्यान यता जानुपर्ला
संरा अमेरिकामा वास्तवमा प्रजातन्त्र छ त भन्ने प्रश्न उठिरहन्छ । यो प्रश्नको चित्तबुझ्दो उत्तर आउँदैन । संरा अमेरिकी सरकार घमण्डी देखिँदै आएको छ । दुईदलीय अधिनायकवाद अमेरिकाको विशेषता रहँदै आएको छ । यही अमेरिका विश्वको पहिलो शक्तिबाट दोस्रो शक्तिमा झरिरहेको छ । नयाँ राष्ट्रपतिका सामुन्ने ठूलठूला चुनौती छन् । यी चुनौती भनेरमात्र सम्बोधित हुँदैनन्, गरेरै सम्बोधन हुन्छन् । भन्न सजिलो हुन्छ गर्न असजिलो । नवनिर्वाचित राष्ट्रपति अब गरेर देखाउने पक्षमा परेका छन् । उनका सामुन्ने नयाँ बनाउनेभन्दा पनि ट्रम्पले बिगारेका काम सपार्नु नै गम्भीर चुनौती छन् । संरा अमेरिकाभित्रै नसपारी नहुने धेरै काम छन् । त्योभन्दा पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा ट्रम्पले ज्यादती गरेका मुद्दा समाधान गर्नेतर्फ प्राथमिकता दिनु जरूरी देख्छु । वातावरण संरक्षण र संवद्र्धनको क्षेत्रमा ट्रम्पको अमेरिकाले जुन इज्जत र प्रतिष्ठा गुमाएको छ त्यो फिर्ता ल्याउनु छ एउटा भने अर्को हो विश्व स्वास्थ्य सङ्गठनभित्र पुनः प्रवेश गरिहाल्नु । अन्यथा संरा अमेरिकाको स्वतन्त्रता र मानव अधिकारको नाराको कुनै औचित्य देखापर्दैन । पेट्रोल भण्डार सुरक्षित राखेर बिजुलीका लागि कोइला प्रयोग गर्नु मूर्खताको पराकाष्टा हो । बाइडेनको सर्वप्रथम र सर्वोपरि ध्यान यता जानुपर्ला ।
Leave a Reply