भर्खरै :

चुनावमा धाँधलीबारे छानबिन गर्न ट्रम्पले दबाब दिंदा जिम्मेवार अधिकारीले दिए राजीनामा

वासिङ्टन, २५ कार्तिक (एएनआई) । संरा अमेरिकी राष्ट्रपति तथा हालै सम्पन्न निर्वाचनमा पराजित बनेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ‘चुनावमा धाँधली भए नभएको अनुसन्धान गर्न निर्देशन दिएपछि’ अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिएका छन् । महान्यायाधीवक्ता विलियम बारले विभागका केही प्रमुखहरूलाई ‘मेमो’ पठाएर दबाब दिएपछि त्यसको विरोधमा पिल्जरले राजीनामा दिएका हुन् ।
पिल्जरले हाल महान्यायाधीवक्ताको कार्यालयमा चुनावसँग सम्बन्धित अपराधको छानबिन विभाग सम्हाल्दै आएका छन् ।
रिपब्लीकन पार्टी र राष्ट्रपति डोनाल्ड ट्रम्प दुवैले चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई बधाई समेत दिएका छैनन् भने चुनावी परिणामलाई पनि स्वीकार गरेका छैनन् ।
राष्ट्रपति ट्रम्पले हार स्वीकार्न अस्वीकार गरेसँगै उनका महान्यायाधीवक्ता विलियम बारले विभिन्न सङ्घीय निकायहरूलाई पत्र (मेमो) लेखेर तत्काल छानबिन अगाडि बढाउन विवादास्पद निर्देशन दिएका थिए ।
महान्यायाधीवक्ता बारले चुनावको औपचारिक नतिजा सार्वजनिक हुनुअघि राष्ट्रपतिको गुनासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपतिको पक्षका वकीलहरूले अमेरिकाका विभिन्न राज्यका अदालतमा मुद्दा दायर गरिरहेका छन् ।
चुनावमा धाँधली भएको छैन–अन्तर्राष्ट्रिय पर्यवेक्षकअर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् ।
यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए । उनीहरूले अमेरिकी राज्यहरू जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका थिए । कोभिड–१९ का कारण अन्य राज्यमा भने अनुगमन गर्न नसकिएको ओएसले जनाएको छ ।
ओएएसका अनुसार चुनावको दिन शान्तिपूर्ण थियो भने हुलाकबाट प्राप्त मतपत्रहरू निकै सुरक्षित र व्यवस्थित थियो ।
पर्यवेक्षणका क्रममा चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरे पनि चुनावमा सहभागी पक्षले अदालतमा उजूरी दिनसक्ने पनि ओएएसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *