‘पार्टी भिन्न भए तापनि शासक पार्टीहरूको नीतिमा तात्विक भिन्नता छैन’
- जेष्ठ १७, २०८३
निर्वाचनमा एमाले र माओवादीको संयुक्त मोर्चा झन्डै दुईतिहाई मत प्राप्त भएपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको संयुक्त सरकार, पार्टी एकतापछि नेकपा गठन स्वाभाविक नभएको त्यतिबेलै चर्चा चलेको थियो । यो यथार्थ अहिले पुष्टि हुँदै छ । एमाले र माओवादीबीचको भागबण्डाका निम्ति यी सबै काम गरिएको अहिले साबित हुँदै छ ।
एमालेका अध्यक्ष र माओवादीका अध्यक्ष पार्टी एकतापछि नेकपाको दुई अध्यक्ष भएका हुन् । एउटै पार्टीको दुई अध्यक्ष नै बेठीक हो । सुरुमा केपी ओलीले पार्टीको कार्यकारी अध्यक्ष र प्रम दुवै चलाए । अर्का अध्यक्ष पुष्पकमल दाहाल दोस्रो अध्यक्ष अर्थात् केपी ओलीको फोन आएमा बालुवाटार धाउनेमा सिमित भए । त्यसपछि दाहालले एक व्यक्ति एक पदको प्रस्ताव राखे । यसमा एमालेका माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले दाहाललाई साथ दिए । नेकपाको कार्यकारी अध्यक्ष दाहाल भएको घोषणा गरियो ।
कणर्ाली प्रदेशको मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता र मुख्य सचेतक परिवर्तनबारे ओली र दाहालले अलग-अलग पत्र लेखे । नेकपाका दुई अध्यक्ष ओली र दाहालको विवाद पुनः सुरु भयो । कार्यकारी अध्यक्ष दाहालले नेकपाको सचिवालय बैठक बोलाउन सकेनन्, उल्टो दाहाल, माधव, खनाल र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पाँच जनाले दुई पृष्ठ लामो पत्र लेखेर ओलीलाई सचिवालय बैठक बोलाउन आग्रह गरे । नौ जनाको सचिवालयमा पाँच जनाले गरेको आग्रहलाई ओलीले बैठक आवश्यकतानुसार बस्ने बताए । यसले नेकपाको कार्यकारी अध्यक्ष दाहाल नभएको अथवा प्राप्त कार्यकारी अध्यक्ष चलाउन नसकेको पुष्टि गर्यो ।
संयुक्त सरकार गठनको बेला ओली र दाहालबीच आधा-आधा समय सरकारको नेतृत्व गर्ने लिखित सहमति गरिएको थियो । ओलीको दोस्रो पटक मिर्गौला फेरिएको र लामो आयु नहुने अनुमान गरी दाहालले आफू पार्टीको कार्यकारी अध्यक्षमात्र हुने आधा – आधा समयको सट्टा पूरै पाँच वर्ष ओलीलाई सरकारको नेतृत्व गराउने वचन दिए । नेकपामा दाहालको ४० प्रतिशत मात्र भएको हुँदा कार्यकारी अध्यक्ष चलाउने सम्भावना भएन ।
देशको आन्तरिक राजनीतिमा गडबडी भए विस्तारवादी र साम्राज्यवादीहरूको हस्तक्षेप बढ्छ । भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल नेपाल आएर प्रम ओलीको सरकारी निवास बालुवाटारमा घण्टौँ भेटघाट गर्नु यसैको परिणाम हो । गोयलको नेपाल भ्रमणबारे केही राजनीतिक विश्लेषकहरूले प्रम ओलीलाई नै समर्थन गर्न आएको बताउँछन् भने केहीले सरकारको नेतृत्व दाहाललाई छाड्न भन्न आएको पनि बताउँछन् । गोयल-ओली भेटघाटपछि दाहालले ओलीलाई प्रम पदबाट राजीनामा गर्न दबाब दिएको घटनाको विश्लेषण गर्दा गोयलले ओलीलाई सरकारको नेतृत्व दाहाललाई दिन दबाब दिएको नै अनुमान गर्न सकिन्छ । यसबारे ओली र दाहालकै मुखबाट सार्वजनिक हुने नै छ ।
ओली र दाहालको विवाद बढेपछि माधव प्रधानमन्त्री हुने चर्चा चल्छ । यसमा माधव पनि चङ्गुलमा फसेको भेटिन्छ । तर, ओलीले प्रम पदबाट राजीनामा नगर्ने स्पष्टसँग सार्वजनिक गरे भने दाहाल र माधव, खनाल, वामदेवलाई गुटगत बैठक राखेको आरोप लगाए । ओलीको स्पष्ट अडान हो, “अहिले सरकारको नेतृत्व परिवर्तन हुँदैन ।” ओलीको यो अडानपछि नेकपा सचिवालयका पाँच जना – दाहाल, माधव, खनाल, वामदेव र श्रेष्ठ घरको न घाटको अवस्थामा छन् ।
ओली र दाहालबीच एक-अर्कोलाई नेकपा फुटाउन लागेको आरोप प्रत्यारोप लगाइँदै छ । ओलीले दाहाललाई भने, “तपाईँ एकदम जालीझेली हुनुहुँदो रहेछ, फट्याइँ कुरा गर्र्दै हिँड्नुहुँदो रहेछ, गुटका कुरा सुन्ने र त्यही लिएर मसँग बाझ्न आउने गर्नुहुन्छ । यसरी त कतिन्जेलसम्म चल्छ ?” दाहालले ओलीलाई जवाफ दिए, “म जाली हो भने तपार्इँ महाजाली, महाझेली र महाफटाहा हो, जुम मिटिङ गर्दै तपाईँ हिँड्ने, स्थायी कमिटी बैठक तपार्इँले नमान्ने, आफूखुशी निणर्य गर्दै हिँड्ने अनि म गुटवादी हुने ?”
ओली र दाहालका यी आरोप-प्रत्यारोपअनुसार यी दुवैका नेताहरू तथा यिनका एमाले र माओवादी पार्टी अनि यी दुवै पार्टी मिलेर बनेको नेकपा कम्युनिस्ट हुँदै नभएको थप पुष्टि हुन्छ । नेपालको राजनीतिमा तीस वर्ष अगाडि नै एमाले भाइकाङ्ग्रेस साबित भएको थियो भने १५ वर्षयता माओवादी अर्को भाइकाङ्ग्रेस साबित भयो ।
नेकपा सचिवालयका पाँच जनाले ओलीलाई बैठक बोलाउन सोमबारसम्म अल्टिमेटम दिएका थिए । ओलीले बैठक बोलाएनन् । यतिबेला सचिवालयका पाँच जनासँग ओलीविरूद्ध कारबाही गर्ने कुनै उपाय छैन । ओलीको राज्यसत्ता अगाडि निरीह छन् । किनभने, यी पाँच जनामध्ये तीन जना प्रम भएर सिन्को भाँच्न नसकेका हुन् भने दुई उपप्रम भएर सिन्को भाँच्न नसकेका हुन् । यसकारण, ओलीले सार्वजनिक सञ्चारमार्फत जवाफ दिए, “अब ६० वर्ष हाराहारीका नयाँ पुस्तालाई पार्टी र सरकारको जिम्मेवारी देऔँ !”
निर्वाचनको बेला मजदुर, किसान, युवा, विद्यार्थी, बुद्धिजीवी सबैले एमाले र माओवादीको मोर्चालाई कम्युनिस्ट भनी मत दिए । सरकारनजिक पुगेका र बसेका केहीले स्वार्थ पूरा गरे । व्यापक जनता अहिले कोभिड-१९ सङ्क्रमण, महँगी, बेरोजगार, भ्रष्टाचारबाट पीडित छन् ।
Leave a Reply